तीब्र गतिका उत्कृष्ट बलर एन्डरसन



एजेन्सी ।

इंग्ल्यान्डका तीब्र गतिका बलर जेम्स एन्डरसनले टेस्ट क्रिकेट करियरमा ७ सय विकेटसंख्या पुर्‍याएर यो विधामा सबैभन्दा उत्कृष्ट रहेको साबित गरेका छन्। टेस्ट क्रिकेटमा ७ सय विकेट लिने उनी पहिलो तीब्र गतिका बलर समेत हुन्। साथै ६ सय विकेट लिनेमा पनि उनी पहिलो तीब्र गतिका बलर हुन्।

भारतको धर्मशालामा भएको पाँचौं टेस्ट तेस्रो दिनमै इंग्ल्यान्डले हारे पनि एन्डरसनले भने इतिहास रचे। उनले कुलदीप यादवलाई ७ सयौं शिकार बनाएका थिए । इंग्ल्यान्ड भारतविरुद्धको यो टेस्ट शृंखलामा ४–१ ले पराजित भएको थियो।

४१ वर्षीय एन्डरसन टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने सूचीमा तेस्रो स्थानमा रहेका छन् । मे २००३ मा जिम्बावेविरुद्ध डेब्यु गरेका उनी स्पिन बलरद्वय श्रीलंकाका मुथिया मुरलीधरण र अस्टे«लियाका शेन वार्नसँग पछि छन् । तर, टेस्टमा तीब्र गतिका बलरले सर्वाधिक विकेट लिने सूचीमा भने उनी शीर्ष स्थानमा छन् ।

टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने सूचीको शीर्ष ५ मा एन्डरसनसँगै उनकै राष्ट्रका स्टुआर्ट ब्रोड पनि अटिएका छन्। ब्रोडले ६ सय ४ विकेट लिएका छन् र उनी पाँचौं स्थानमा छन् । चौथो स्थानमा भारतका अनिल कुम्बले छन्। कुम्बले स्पिन बलर हुन् भने ब्रोड तीब्र गतिका बलर हुन्।

एन्डरसनले ७ सय विकेटमा ४ सय ३४ विकेट घरेलु भुमिमा लिएका हुन्। बाँकी २ सय ६६ विकेट देशबाहिरको भुमिमा लिएका छन्। उनले अस्ट्रेलियाविरुद्धको एशेज टेस्टमा १ सय १७ विकेट हासिल गरेका छन्।

एन्डरसनले सर्वाधिक विकेट भारतविरुद्ध नै प्राप्त गरेका छन्। उनले भारतविरुद्ध १ सय ४९ विकेट लिँदा सबैभन्दा कम बंगलादेशविरुद्ध ९ विकेट लिएका छन् । यस्तै उनले दक्षिण अफ्रिकाविरुद्ध १ सय ३, वेस्ट इन्डिजविरुद्ध ८७, न्युजिल्यान्डविरुद्ध ८४, पाकिस्तानविरुद्ध ८२, श्रीलंकाविरुद्ध ५८ र जिम्बावेविरुद्ध ११ विकेट लिएका छन् ।

२२ वर्षको करियरमा एन्डरसनको २०१० निकै सफलतम वर्ष थियो । उनले यस वर्ष ५७ विकेट लिएका थिए। ५० विकेट पार गरेको उनको अरु दुई वर्ष २०१३ र २०१७ थियो । डेब्यु वर्ष २००३ मा उनले २६ विकेट लिएका थिए । तर, अर्को चार वर्ष उनले केवल ३६ विकेट मात्रै लिन सके।

२०२२ मार्चमा टोलीमा नपरेपछि दायाँ हाते बलर एन्डरसनको करियर सकिने अड्कल लगाइएको थियो। वेस्टइन्डिज यात्रामा उनलाई टोलीबाट हटाइएको थियो। यसमा उनी मात्रै थिएनन्, ब्रोडलाई पनि टोलीबाट हटाइएको थियो।

यसपछि उनको भविष्य अन्योलमा परेको थियो। तर, बेन स्टोक्स र ब्रेन्डन म्याककुलुम क्रमशः कप्तान र प्रमुख प्रशिक्षक भएपछि त्यही वर्ष उनलाई टोलीमा सामेल गराइएका थिए । यसपछि उनी ७ सयौं विकेटको कोसेढुंगामा पुग्न सफल भए।

एन्डरसनले इंग्ल्यान्डका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १ सय ९४ खेल खेलेर २ सय ६९ विकेट लिएका छन्। यस्तै टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा उनले १८ खेलमा १९ विकेट हासिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्