मासिक व्यापार घाटा एक खर्ब



काठमाडौं ।

चालू आर्थिक वर्षको सात महिनामा व्यापार घाटा १ दशमलव ८ प्रतिशतले घटेर ८११ अर्ब ११ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १८.७ प्रतिशतले घटेको थियो।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.२ प्रतिशत रहेको थियो। नेपाल राष्ट्र बैंकका अनुसार मासिक व्यापार घाटा एक खर्ब रुपियाँभन्दा बढीले हुँदै आएको छ।

सो अवधिमा वस्तु निर्यात ७ दशमलव १ प्रतिशतले घट्दा ८६ अर्ब ८३ करोड रुपियाँ कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २९ प्रतिशतले कमी आएको थियो। गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ११.३ प्रतिशत र २ प्रतिशतले कमी आएको छ भने चीनतर्फको निर्यात ३३८.८ प्रतिशतले वृद्धि भएको छ।

वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, अदुवालगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, अलैंची, चिया, ऊनी गलैचा लगायतका वस्तुको निर्यात घटेको छ।

आर्थिक वर्षको सात महिनामा कुल वस्तु आयात २.३ प्रतिशतले कमी आई ८९७ अर्ब ९४ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १९.९ प्रतिशतले कमी आएको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः २.८ प्रतिशत र २३.८ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३८.४ प्रतिशतले बढेको छ।

वस्तुगत आधारमा तयारी पोशाक, सवारी साधान तथा स्पेयर पार्टपुर्जा, हवाइजहाज स्पेयर पार्टपुर्जा, विद्युत्तीय उपकरण, एम.एस. तार, छड, बार तथा क्वाइललगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, धान तथा चामल, पेट्रोलियम पदार्थ, कच्चा पाम तेललगायतका वस्तुको आयात घटेको छ।

निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा, तथा तातोपानीबाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्पm भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.८८ अर्ब १८ करोड बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.७१ अर्ब ७८ करोड बराबरको भएको थियो। कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५६.४ प्रतिशत र ४३.४ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात् ०.२ प्रतिशत रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५३.९ प्रतिशत, ०.५३ प्रतिशत र ४५.५ प्रतिशत रहेको थियो।

कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ४९.२ प्रतिशत, पुँजीगत वस्तुको ८.९ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ४१.८ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५३.१ प्रतिशत, ८.६ प्रतिशत र ३८.३ प्रतिशत रहेका थिए।

प्रतिक्रिया दिनुहोस्