नयाँ अर्थमन्त्रीसँग पुँजीबजारको अपेक्षा उच्च



काठमाडौं ।

नयाँ अर्थमन्त्रीमा को नियुक्त हुने भन्ने चर्चा र वर्षमान पुन अर्थमन्त्री हुने चर्चासँगै अन्योलतामा रहेको पुँजीबजार क्रमशः लयमा फर्किने प्रयासमा छ।

शुरूमा पुँजी बजारप्रति अनुदार मानिएका व्यक्ति अर्थमन्त्री हुने चर्चाले उच्च अंकको गिरावट भएको थियो । तर, अर्थमन्त्री पुनको पुँजीबजारप्रतिको सकारात्मक धारणा आएपछि लगानीकर्तामा आत्मविश्वास बढ्दा बजारमा सुधारको संकेत देखिएको हो ।

विगतमा फरक पार्टीको प्रधानमन्त्री, फरक पार्टीका अर्थमन्त्री र फरक पृष्ठभूमिका गभर्नर हुँदा अर्थनीतिको विषयमा समान धारणा आउन सकेको थिएन। जसका कारण फरक फरक नीति र प्राथमिकताका कारण पुँजीबजारमा असर परेको थियो।

यसपटक प्रधानमन्त्री र अर्थमन्त्री एउटै पार्टीका र गभर्नरको वैचारिक मिलान भएको पार्टी सरकारमा सहभागी हुँदा पुँजीबजार तथा आर्थिक क्षेत्रले अर्थमन्त्री पुनलाई सकारात्मक रूपमा लिनसक्ने अपेक्षा छ ।

कमसेकम तीनवटै व्यक्तिको नीति र प्राथमिकता एउटै भए आर्थिक क्षेत्रले निकास पाउने पुँजीबजारका विश्लेषक निरजलाल श्रेष्ठको भनाइ छ । सधैं अन्योलमा रहेको क्षेत्रमा अब नकारात्मक वा सकारात्मक जे भए पनि निकासमा पुग्नुपर्ने श्रेष्ठले बताउनुभयो ।

नयाँ सरकारको गठन प्रक्रिया हुँदा ११७ अंकसहित तीनपटक सर्किट लागेको बजार अर्को दिन अर्थमन्त्रीको अन्योलताका कारण ७१ अंकले घटेको थियो। त्यस्तै, वर्षमान पुन अर्थमन्त्री नियुक्त भएपछि सामान्य अंकले बढेको बजार बिहीबार दोहोरो अंकले बढेको छ ।

पछिल्ला तीन वर्षमा पुँजीबजारले अर्बौं रुपियाँ गुमाएको उल्लेख गर्दै अब सरकारका जिम्मेवार निकायले गम्भीरतापूवर्क लिनुपर्ने उहाँको धारणा छ। कुनैबेला कुल गार्हस्थ उत्पादनको आँकडाभन्दा माथि पुगेको समग्र बजार पुँजीकरण अहिले आधाभन्दा बढी घटिसकेको छ।

बजारमा सर्वसधारणले २२ खर्ब रुपियाँभन्दा बढी गुमाएको बताउँदै उहाँले नयाँ अर्थमन्त्री पुनबाट पुँजीबजारले धेरै आशा गरेको बताउनुभयो । पुनकै पार्टीका नेताको शैलीमा भन्दा फरक तरिकाले अर्थतन्त्रलाई अगाडि बढाउनुपर्ने श्रेष्ठको भनाइ छ।

वर्षमान पुन १२ वर्ष पुनः अर्थमन्त्री हुनुभएको छ । १२ वर्षमा खोला पनि फर्किन्छ भन्छन् । यसपटक पुनको नीति र कार्यशैली उद्धार हुने अपेक्षा आर्थिक क्षेत्रले गरेको श्रेष्ठले बताउनुभयो ।

यसैबीच बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३ दशमलव ५१ अंकले बढेर २ हजार ३० दशमलव ५५ बिन्दुमा पुगेको छ । कुल ८९ लाख २९ हजार किता सेयर ३ अर्ब १९ करोड ९२ लाख पाँच हजारमा कारोबार भएको छ । नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको ५६ करोड २० लाखबराबरको कारोबार भएको छ ।

त्यस्तै, पिपल्स हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । चिर्खवा हाइड्रोपावर ८ दशमलव ९७, मध्यभोटेकोसी जलविद्युत् कम्पनी ६ दशमलव शून्य ८, बुद्धभूमि नेपाल हाइड्रोपावर ५ दशमलव ९६ र हाथवे इन्भेस्टमेन्टका लगानीकर्ताले पाँच दशमलव ६४ प्रतिशतले कमाएका छन् । कारोबार भएकामध्ये १७६ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । तर, ५९ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

त्यस्तै, एनआईसी एसिया ग्रोथ फन्ड दोस्रो ६ दशमलव २१, सामलिङ पावर कम्पनी ५ दशमलव शून्य २, बोटलर्स नेपाल तराई ४ दशमलव ३५, एनएमबी ५० तीन दशमलव ८८ र हिमालयन बैंकको सामूहिक लगानी कोषका लगानीकर्ताले ३ दशमलव ८५ प्रतिशतले गुमाएका छन् ।

बिहीबार कारोबार भएका १३ उपसमूहमध्ये ३ उपसमूहको सेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको सेयर मूल्य वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्