एमाले वाम एकता गर्ने कुरामा हतारिने पक्षमा छैनः प्रदीप ज्ञवाली



काठमाडौं ।

नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले वाम एकता गर्ने कुरामा पार्टी हतारिने पक्षमा नरहेको बताएका छन्।

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समीकरणलाई वामपन्थी एकताको सुरुवातको रूपमा चित्रण गरिरहेका बेला ज्ञवालीले त्यसमा हतार गरिहाल्ने अवस्था नरहेको टिप्पणी गरे।

‘हिजो हामीले गरेको एकता बडो सदासयतापूर्वक गरेका थियौँ। अत्यन्त उत्साहित पनि थियौँ। तर टिकेन,’ ज्ञवालीले भने, ‘विगतका पाठहरूलाई हेर्दै तल उपयुक्त वातावरण नबनिकन, कार्यकर्ता तहमै त्यसले भावनात्मक रूपमा एकता नभइकन माथिको जोडघटाउबाट बनेको एकता टिक्दो रहेनछ भन्ने देखिएको छ। त्यसैले अहिले हामी त्यसमा हतारिदैनौँ।’

उपमहासचिव ज्ञवालीले कार्यकर्ता तहमै भावनात्मक एकता नभएसम्म गरिएको एकता नटिक्ने विगतको अनुभव रहेको दृष्टान्त दिए। अहिले वामपन्थी एकता, सहकार्य, पार्टी एकतालगायतका विषयमा कुनै पनि छलफल नभएको उनको भनाइ छ।

‘अहिले हामी त्यो वामपन्थी एकता, सहकार्य, पार्टी एकता त्यसको कुनै पनि विषयमा छलफल गरिरहेका छैनौँ,’ उनले भने, ‘अहिले एउटा वैकल्पिक सरकार बनाउने र सरकारको तहबाट डेलिभरी दिएर अहिले प्रणालीमा आइरहेको संकट र जनतामा बढेको निराशालाई चिर्ने कुरामा हाम्रो सम्पूर्ण फोकस त्यहाँनेर छ।’

उपमहासचिव ज्ञवालीले आफ्नो पार्टी सरकारमार्फत व्यवस्थामाथि परेको संकट र जनतामा बढेको निराशालाई चिर्ने कुरामा केन्द्रित रहेको बताए। सुदूर भविष्यमा वाम एकता पनि हुन सक्ने भन्दै ज्ञवालीले त्यसलाई भने आफूले नकार्न नमिल्ने बताए।

‘बिस्तारै भावनात्मक एकता बनाउँदै लग्यो, भावनात्मक रूपमा निकटता ल्याउँदै गर्‍यो भने सुदूर भविष्यको कुरालाई हामीले इन्कार गर्न सकिँदैन,’ उनले भने, ‘ढिलो चाँडो मुलुक राजनीतिक ध्रुवीकरणतिर जानैपर्ने हुन्छ। र, त्यो धुव्रीकरणको एउटाको नेतृत्वको निःसन्देह एमालेले गर्ने हो। अर्को धुव्रको नेतृत्व कांग्रेसले गर्ने हो।’

प्रतिक्रिया दिनुहोस्