साफ यू-१६ महिला फुटबल:  आज भारतको सामना गर्दै नेपाल



काठमाडौं  ।

साफ यू-१६ महिला फुटबल प्रतियोगितामा आज नेपालले भारतको सामना गर्दै छ। ललितपुरस्थित च्यासल मैदानमा हुने यो खेल दिउँसो ३ बजेदेखि सुरु हुने छ।

जारी प्रतियोगितामा बङ्गलादेशले खेलेका २ खेल जितेर ६ अङ्कसहित शीर्ष स्थानमा रहेको छ। त्यस्तै भारतले २ खेलमा एक जित र एक हारपछि ३ अङ्कसहित दोस्रो स्थानमा छ भने नेपाल पनि २ खेलमा एक जित र एक हारपछि ३ अङ्कसहित तेस्रो स्थानमा रहेको छ। त्यसै गरी भुटानले भने २ खेलमा दुवै खेलमा हार बेहोरेर अङ्कविहीन रहेको छ।

अब नेपालले फाइनलमा पुग्न भारतविरुद्धको यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ। यस खेलमा जित बाहेक अन्य नतिजाले नेपाल प्रतियोगिताबाट बाहिर हुने छ।

नेपालले आफ्नो पहिलो खेलमा बङ्गलादेशसँग २-० गोलले हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानलाई ३-० ले पराजित गरेको थियो। त्यस्तै भारतले पहिलो खेलमा भुटानलाई ७-० गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ३-१ ले हार बेहोरेको थियो।

प्रतियोगितामा अब शुक्रबार बङ्गलादेश र भुटान खेल्ने छन् भने त्यसपछि शीर्ष स्थानमा रहेका दुई देशले आइतबार फाइनल खेल्ने छन्।

प्रतिक्रिया दिनुहोस्