पत्रकार महासंघको चुनाव र नेतृत्व चयनको बहस



काठमाडौं ।

पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ चुनावको संघारमा पुगेको छ। आगामी चैत्र–वैशाखभित्र चुनाव गर्नुपर्ने वैधानिक व्यवस्थाका कारण पनि महासंघको चुनाव संघारमै आइपुगेको छ भन्दा अब फरक नपर्ला। पत्रकार महासंघको चुनाव नजिकिएसँगै उम्मेदवाका आकांक्षीहरु पनि बिस्तारै खुल्नेछन् । तर, सूचना सम्प्रेषण गर्ने जिम्मेवारी पाएकाहरुले अब कसलाई नेतृत्वमा लैजाने ? पत्रकारको हकहितको काममा लाग्ने व्यक्ति हो होइन ? जस्ता विषयमा सचेततापूर्वक हेर्नुपर्ने स्थिति आइलागेको छ।

सञ्चारमाध्यममा देखिएको रोजगारी संकुचनदेखि कामबाट जबर्जस्ती निकालिने समस्या थप चुलिएको छ। अघिल्लो दिन समाचार तयार पारेको पत्रकार भोलिपल्ट समाचार कक्षको जिम्मेवारीबाट वञ्चित हुँदै जागिर गुमाइसकेको हुन्छ। सञ्चारमाध्यममा विज्ञापनको खडेरी लाग्नेदेखि व्यवस्थापन पक्षका कारण पत्रकारिता नामको पेसा नै संकटमा छ।

गम्भीर संकटबाट गुज्रिएको र संकटमा परेको पेसा अँगालेका पत्रकारहरुले चैत्र–वैशाखमा आफ्ना प्रतिनिधि भने छान्नुपर्नेछ । यस्तोमा पेसालाई सम्मान गर्न सक्ने र श्रमजीवी पत्रकारको पक्षमा काम गर्ने हुटहुटी बोकेको पात्रलाई किन नछान्ने ? बहस आवश्यक छ।

महासंघको चुनावी मैदानमा आउने उम्मेदवार र उनीहरुको दलीय लेपको अनुहारलाई अनुमोदन गर्ने हाम्रोमा परम्पराजस्तै बन्न पुगेको छ । प्रायः चुनावबाट आउने अनुहारहरु अपवादबाहेक आजसम्म दलीय लेपले पोतिएका नै छन् । यसको अर्थ महासंघमा दलीय आबद्धता बोकेकालाई चुन्नै हुन्न भन्ने भने होइन तर, उनीहरुले निर्वाचित भएपछि के गरे र पत्रकारको हकहितका लागि कति काम गरे भन्ने मूल प्रश्न हो ।

यस्तो विषयमा निष्पक्ष बहस अहिलेदेखि नै थाल्नु श्रेयष्कर हुन्छ । स्वतन्त्र, निष्पक्ष र सन्तुलित पत्रकारिता अहिलेको आवश्यकता भए पनि दलीय लेप र विचारधारा बोक्नेहरुले पत्रकारिताको धर्म ननिभाउन पनि सक्छन् । सबै व्यक्ति यही प्रवृत्तिका छन् भन्ने भाष्य स्थापित गर्ने ध्येय त होइन तर विशेषतः सक्रिय पत्रकारितामा संलग्न, मिडिया आबद्धता वा पत्रकारको हकहितका लागि मैदानमा देखिने पात्र नै रोज्नु पत्रकार मतदाताको पहिलो दायित्व र कर्तव्य हो ।

सञ्चारमाध्यम र महासंघ सदस्यताको स्थिति

नेपालमा सञ्चारमाध्यम स्थापनाको बाढी नै चलेको छ भन्दा पनि फरक पर्दैन । अहिले ४ हजार ८ सय ५९ पत्रपत्रिका, १ हजार १ सय ८६ रेडियो, २ सय ४३ टेलिभिजन र ४ हजार ३ सय २४ अनलाइन न्यूज पोर्टल रहेको प्रेस काउन्सिलको पछिल्लो तथ्याङ्कले देखाउँछ।

यसमा केही अनलाइन वा अन्य सञ्चारमाध्यम नचलेका वा बन्द भए पनि अधिकांश चलेकै देखिन्छन् । यसरी हेर्दा अहिले जम्मा १० हजार ६ सय १२ वटा सञ्चारमाध्यम सञ्चालनमा छन् भने, पत्रकार महासंघमा आबद्ध सदस्यको संख्या १३ हजार ७७ जना रहेको पत्रकार महासंघको आधिकारिक तथ्याङ्क अभिलेखीकरण भएको देखिन्छ।

जसमा पुरुष १० हजार ६ सय ६९ र महिला २ हजार ४ सय ८ जना छन्। यो तथ्याङ्क शुद्धीकरण अभियानपछिको हो। यसरी हेर्दा सञ्चारमाध्यमको संख्याको केही बढी मात्रै पत्रकार संख्या रहेको देखिन्छ।

पत्रकार महासंघको नेतृत्व चयन गर्ने जिम्मा पनि यही संख्यालाई छ। यो संख्याले कस्तो नेतृत्व चयन गर्ने र कसरी अघि बढ्ने काम गर्छ भन्ने अबको मुख्य मुद्दा हो। हुन त प्रेस काउन्सिल नेपालले हुबहु समाचार कपी गरेको भन्दै १८३ अनलाइन सञ्चारमाध्यमलाई स्पष्टीकरण, कारबाहीको प्रक्रिया अघि बढाएको जनाएको छ।

यसरी हेर्दा समाचारसमेत बनाउन नसक्ने र हुबहु सार्ने पत्रकारले कस्तो नेतृत्व चयनमा ध्यान देलान् ? प्रश्न यहाँ पनि छ । पत्रकारको परिभाषा नै बदल्ने गरी समाचार हुबहु सार्नेहरुले के आफ्नो संस्थाको नेतृत्व चयनमा विवेकको प्रयोग गर्लान् ? प्रश्न भने छ । तर, प्रश्न छ भन्दैमा नेतृत्व चयनको बहस छलफललाई छाड्नुपर्छ भन्ने त पक्कै होइन । यसर्थ अब जे–जस्ता व्यक्तिहरु पत्रकार महासंघको शुद्धीकरणपछिका सदस्य बने पनि अब नेतृत्व चयनको विषयलाई गम्भीरतापूर्वक लिनै पर्छ । नेतृत्व र व्यक्तित्वले नै आम पत्रकारको हकहितलाई स्थापित गराउने मान्यता स्थापित गर्न पनि अब महासंघ सदस्यले सचेतता अपनाउन आवश्यक छ । यो कर्तव्य पनि हो ।

कस्तो व्यक्तिलाई चुन्ने ?

निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो । यसले सही व्यक्तिलाई सही स्थानमा ल्याउँछ भन्ने मान्यता राख्छ । तर, नेपालको जुनसुकै चुनावले चुनेका पात्रहरुले जनता वा लाभान्वित वर्गको पक्षमा काम गरे भन्ने खासै सुनिदैन । यसको अर्थ हो, दलीय चेतनाबाट गुज्रिएका हामी सही व्यक्ति छान्नेभन्दा पनि राजनीतिक चिन्तनबाटै ग्रसित छौं र त्यस्तै पात्र रोज्छौं । पत्रकार महासंघको इतिहासमा निर्वाचित एकाधबाहेकले पत्रकारको हकहित सुरक्षाका लागि मैदानमै पुगेर आवाज उठाएको विषय विवादित नै होला । यस्तो आखिर किन हुन्छ ? यसको खोजी पनि आवश्यक छ ।

पत्रकार भन्नेबित्तिकै सम्बन्धित विषयको जानकार अर्थात् सूचना प्रवाह गर्ने र सूचनाको भण्डार भएको व्यक्ति हो । यसै त पत्रकारलाई राज्यको चौथो अंग पनि भनिन्छ । यसले पनि पत्रकार जान्ने र सूचनाको भण्डार हो। गलतलाई सही बाटोमा ल्याउन समाचारमार्फत जनतालाई सुसूचित मात्रै गर्दैन, उसले गलत कामको भण्डाफोर गर्छ र सही मार्ग पनि पहिल्याउँछ भन्ने विश्वास गरिन्छ। तर, कहिलेकाहीँ ‘मिडिया विकम म्याडिया’ अर्थात् कहिलेकाहीँ मिडिया बौलाउँछ भनेझैँ सूचनाको हाइज्याकिङ वा ट्रयापमा पर्छ।

यसका पछाडिका विभिन्न कारण र उद्देश्य हुन्छन्, त्यो बेग्लै विषय हो। यसलाई सन्तुलित धारबाट हेर्दा पत्रकारिता जिम्मेवार र दायित्वबोधसहित लोकहितका लागि गरिने कर्म नै हो । तर, पत्रकारको आचरण, काम, कर्तव्य, सीमा र दायराबारे छलफल गर्दागर्दै पनि विभिन्न फन्दामा मुछिएको, सूचनाको व्यापार गरेकोलगायतका विषय पनि बाहिर आउँछन्।

यस्ता विषयलाई अपवाद मान्दै यो पेसालाई मर्यादित बनाउनुको विकल्प छैन । पेसालाई मर्यादित बनाउँदै गर्दा छाता संगठनमा कस्ता व्यक्तिलाई चुन्ने ? कस्ता मान्छे आए पत्रकारको हितको विषयमा काम गर्छन् ? पहिलेका अभ्यासबाट के पाठ सिकियो ? लगायत थुप्रै विषयमा गहन बहस–छलफलको आवश्यकता छ ।

यति धेरै भूमिका बाँध्नुमा यहाँ भन्न खोजिएको विषय के हो भने, दलीय चिन्तन र झन्डाको कसमबाट केही पर पुगेरै भए पनि सही व्यक्तिलाई छनोट गर्नुपर्छ भन्ने हो। यस्तोमा व्यापक बहस, छलफल र उम्मेदवारहरुले सार्वजनिक सुनुवाइजस्ता विषयको आयोजना नै गर्नुपर्छ भन्ने हो । पत्रकार महासंघको काम, कर्तव्य र अधिकारको बारेमा ज्ञान नै नभएका, मौखिक पत्रकार (कुनै पनि मिडियामा आबद्धता नभएका र भए पनि नामको मात्रै देखिने), बार्गेनिङ पत्रकारदेखि ठेकेदार पत्रकारहरुको बिगबिगी चलेको बेला आजको युग सुहाउँदो पत्रकारिताका लागि योग्य, सक्षम र निष्कलंक पात्रलाई चयन गर्नतर्फ ध्यान केन्द्रित गर्नुपर्नेछ।

उम्मेदवारबारे छलफल किन ?

पत्रकार महासंघको निर्वाचनको पूर्वसन्ध्यामा दलबाट टिकट लिने र उम्मेदवार बनेपछि मतदान गर्ने परम्पराकै कारण पत्रकार महासंघ कोमामा छ भन्दा पनि फरक पर्दैन । पत्रकार महासंघ पत्रकारको पीडामा ढिला गरी सानो आवाजमा बोल्छ । सानो आवाजमा बोल्दै गर्दा दलीय टेको पायो भने थप चर्किन्छ । नभए दलीय निर्देशनमै बोली फिर्ता लिन्छ । यस्तो महासंघ अब चाहिएको छैन, काम पनि छैन ।

सञ्चारमाध्यममा देखिएको संकट, पेसाबाट जबरजस्ती निकालिने त्रास, न्यूनतम सेवा–सुविधा पनि नदिई काम लगाउने, साहुको पक्षमा काम नगरे हतोत्साहित गर्ने, सूचनामा व्यापार गर्ने, मालिकको पैरवी गरिरहनुपर्ने, मिडिया कन्टेन्टमा समेत साहुको दबदबा रहने स्थिति अन्त्य गर्दै पत्रकारितालाई जिम्मेवार बनाउन अब पात्र छनोटमा ध्यान दिनै पर्नेछ ।

अबको पत्रकार महासंघ श्रमजीविका मुद्दालाई प्राथमिकता दिने योजनासहितको हुनुपर्छ । सम्भवतः आगामी चुनावमा पनि दल निकटका भ्रातृ संगठनहरु चुनावी तालमेल गरेर आउनेछन्। उनीहरुले चर्कोरुपमा लोकतन्त्र, पत्रकारिताको मर्यादा र राज्यशक्तिसँगको पहुँचलाई गौरवपूर्ण ढंगले पेस गर्नेछन् ।

यस्ता प्रवृत्तिलाई परास्त गर्न पनि अब महिनौंसम्म तलब नपाउँदा पनि पेसाप्रतिको इमानदारिता कायम राख्दै एक छाक खाएर बचाएको इमानलाई अब श्रमजीवीको पक्षमा लड्ने यात्रा खोज्नमा ध्यान केन्द्रित गरौं । उम्मेदवार पनि योजनासहित आउने प्रयत्न गरुन् । यसको खुला छलफल र बहस आजैदेखि नथाले श्रमजीवी मर्नेछन्। श्रमजीवी मरे पत्रकारिताको मर्यादा मर्नेछ। पत्रकारिताको मर्यादा मरेमा लोकतन्त्र थप मूच्र्छित बन्नेछ । लोकतन्त्र नरहे, केही रहनेछैन ।

सधैँ जनतालाई जागा राख्न सूचना सम्प्रेषण गर्ने पत्रकारलाई कसले भन्दिने कि सही पात्र छानिएन भने बिहान उठ्दा जागिर चेट परेको हुन्छ तर, अन्यायको पैरवी गर्ने महासंघ कोमामा छ भनेर । मालिकको ज्यादती अनेक बहानामा भोग्नुपर्छ भनेर ? यसर्थ अब खुला बहस गरौं।

महासंघको नेतृत्व कस्ता पात्रलाई सुम्पिदा पत्रकारहरु पेसामा निर्भिक काम गर्दै पत्रकारिताको मर्यादा कायम राख्न सक्छन् भन्ने । समय घर्किएपछि टोकेको जिब्रो दुख्नेबाहेक केही हुन्न । सूचना दिनेले आफैँ सुसूचित हुने प्रयत्न पनि गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्