बालविवाह : छुट्याउन खोज्यो, भागेर गइहाल्छन्

376
Shares

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका वडा १० का अध्यक्ष सूर्यबहादुर ब्लोनले समुदायस्तरमा बेथिति बढ्दो रहेकाले बालविवाह न्यूनीकरणमा समस्या रहेको बताउनुभएको छ ।

टोल र समाजमा बालविवाह भए पनि आफूहरु मुकदर्शक भएर बस्नुपर्ने बाध्यता रहेको वडाध्यक्ष ब्लोनले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘कति पटक छुट्याउन खोजियो, भागेर गइहाल्छन्, रोकेर रोक्नै सकिन्न ।’ घरबाट संस्कार राम्रो हुनुपर्नेमा त्यसको उल्टो बालविवाह भइरहेको उहाँको कथन छ ।

कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बालविवाहविरुद्ध समुदाय परिचालन कार्यक्रमअन्तर्गत हालै सरकारी, गैरसरकारी तथा सरोकारवालाहरुको सहभागितामा भएको सचेतना कार्यक्रममा बालविवाह अन्त्यका लागि मुख्यतः अभिभावकलाई नै सचेत गराउनु जरुरी रहेको बताउनुभयो ।

कैलाशमा चेपाङ र तामाङ समुदायको बसोबास रहेकाले उक्त समुदायलाई अझ बढी सचेतना दिनु जरुरी रहेको मुक्तानले बताउनुभयो । उक्त समुदायमा बढी मात्रामा बालविवाह देखिन्छ । बालविवाह कानुनी अपराध भए पनि त्यहाँ बालविवाह गर्नुहुन्न भन्ने चेत अझै आएको छैन । गाउँपालिकाले कक्षा १२ पास गरी २० वर्ष पूरा भई विवाह गर्नेलाई गाउँसभाको दिन नगदसहित सम्मान गर्ने गरेको अध्यक्ष मुक्तानले बताउनुभयो । बालविवाह न्यूनीकरणमा चेली प्रोत्साहन कार्यक्रमले थप टेवा दिँदै आएको छ ।

कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सीताकुमारी खत्रीले बालविवाहले बालबालिकाको वर्तमानमात्र नभई भविष्यलाई पनि नराम्रो असर पुग्ने बताउनुभयो । शिक्षक, सुरक्षित र समृद्ध समाज बनाउनु छ भने बालविवाह अन्त्य अपरिहार्य रहने उहाँको कथन छ । भन्नुभयो, बालविवाह अन्त्यका लागि सबै सरोकारवालाको सक्रिय सहभागिता र प्रतिबद्धता आवश्यक रहन्छ ।

विशेष गरी अभिभावक, शिक्षक, जनप्रतिनिधिहरुले साझा प्रतिबद्धता गरी बालविवाह कानुनीरुपमा दण्डनीय सामाजिक अपराध हो भन्ने भावलाई आत्मसात् गरेर बालबालिकाको हित र संरक्षणलाई प्राथमिकतामा राखी अघि बढ्न उहाँले जोड दिनुभयो । कार्यक्रमलाई बालअधिकारकर्मीहरु संगीता उप्रेती र भवानी अधिकारीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिकाका सदस्य, विद्यालयका प्रधानाध्यापक, विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।