पार्टीको कार्यविभाजनमा उपमहासचिव शर्माको असहमति



काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेताहरुको कार्यविभाजन टुङ्ग्याएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा आज सम्पन्न स्थायी समिति बैठकले नेताहरुलाई प्रदेशको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकेको हो।

माओवादीले कोशी प्रदेशको इन्चार्जमा हरिबोल गजुरेल र सहइन्चार्जमा साबित्रीकुमारी काफ्ले, मधेसको इन्चार्जमा सचिव लीलामणि पोखरेल र सहइन्चार्जमा स्थायी समिति सदस्य विश्वनाथ साह, बागमतीको इन्चार्जमा उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटालाई तोकेको छ।

गण्डकी प्रदेशको इन्चार्जमा सचिव दीनानाथ शर्मा, सहइन्चार्जमा केन्द्रीय सदस्य हरिराज अधिकारी, लुम्बिनीको इन्चार्जमा चक्रपाणि खनाल र सहइन्चार्जमा स्थायी समिति सदस्य कुलप्रसाद केसी, कर्णालीको इन्चार्जमा कालिबहादुर मल्ल तथा सुदूरपश्चिम प्रदेशको इन्चार्जमा उपमहासचिव गिरिराजमणि पोखरेल र सहइन्चार्जमा केन्द्रीय सदस्य बीना मगरलाई तोकिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

बैठकले प्रवास प्रदेश समिति (मध्यपूर्व) इन्चार्जमा उपाध्यक्ष पम्फा भुसाल, भारत इन्चार्जमा लक्ष्मण पन्त र सहइन्चार्जमा टिबी पाठक, युरोप–अमेरिका इन्चार्जमा सुरेन्द्रकुमार कार्की तथा विशेष प्रदेश समिति इन्चार्जमा हितमान शाक्य र सहइन्चार्जमा यशोदा सुवेदीलाई तोकेको छ। केही प्रदेशको सहइन्चार्ज तोक्न बाँकी रहेको उनले बताए।

बैठकले सङ्घीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई आ–आफ्नो निर्वाचित जिम्मेवारीअनुसार कार्यरत रहने निर्णय गरेको छ।

कार्यविभाजनलाई लिएर माओवादीका उपमहासचिव जनार्दन शर्माले असहमति प्रकट गरेका छन्। उनले प्रदेश इन्चार्जहरू हेरफेर गर्दा आफूप्रति पूर्वाग्रह राखिएको गुनासो गरेका छन्।

उनले विधान अधिवेशनमा प्रत्यक्ष निर्वाचित पदाधिकारी हुनुपर्छ भन्ने मत राख्ने आफू लगायतलाई जिम्मेवारीविहीन बनाइएकोमा असहमति जनाए।

त्यस्तै, सुदूरपश्चिम प्रदेशमा स्थायी कमिटी सदस्य खगराज भट्टको ठाउँमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरलाई सह-इन्चार्ज बनाइएको, सुदूरपश्चिम संसदीय दलको विवादलाई सन्तुलित रूपमा नटुंग्याएकोप्रति पनि आफ्नो असहमति रहेको उनले बताए।

बैठकले आगामी चैत १ गतेदेखि गर्ने भनिएको मधेस तराई राष्ट्रिय जागरण अभियान आगामी चैत १५ गतेदेखि गर्ने निर्णय गरेको छ।

समय अपुग भएकाले तयारीका लागि उक्त अभियान १५ दिनपछि सारिएको प्रवक्ता सापकोटाले जानकारी दिए। उनका अनुसार बैठकले हिमाल, पहाड, मधेस राष्ट्रिय एकता अभियान वैशाख १५ देखि सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।

बैठकमा मिटरब्याजी, लघुवित्त समस्याका बारेमा वार्ता भइरहेकाले त्यसलाई सार्थक निष्कर्षमा पुर्‍याउन सरकारको ध्यानाकर्षण गराइएको छ। साथै दुग्ध किसानलगायत समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेको प्रवक्ता सापकोटाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्