ऊर्जा प्रभावकारिता भवन संहिता जारी गर्ने धुलिखेल दोस्रो पालिका 



काठमाडौँ। 

नेपालका ७ सय ५३ वटा स्थानीय सरकार मध्ये धुलिखेल नगरपालिका ऊर्जा प्रभावकारिता भवन संहिता २०८० जारी गर्ने दोस्रो पालिका घोषणा भएको छ । यस अघि पोखरा महानगरपालिकाले भवनमा ऊर्जा प्रभावकारिता कायम गर्ने सम्बन्धी मापदण्ड जारी गरेको थियो ।

युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालन भइरहेको विन परियोजनाले राजधानीमा आयोजना गरेको कार्यक्रममा धुलिखेल नगरपालिकाको भवनमा ऊर्जा प्रभावकारिता कायम गर्ने सम्बन्धी मापदण्ड २०८० जारी गरिएको घोषणा गरिएको थियो । उक्त मापदण्ड धुलिखेल नगरपालिकाको नगर सभाले पास गरिसकेको छ । संघीय मामिला मन्त्रालयका निमित्त सचिव कमलप्रसाद भट्टराईले भवनहरुमा परिचालन ऊर्जा खपतको आधारभूत अध्ययन प्रतिवेदन सार्वजनिक गरेका थिए ।

 कार्यक्रममा भवनहरुमा परिचालन ऊर्जा खपतको आधारभूत प्रतिवेदनमा भएका विषय र त्यसका सारवस्तुका बारेमा परियोजनाका सुरेश प्रजापतिले प्रस्तुत गरेका थिए ।कार्यक्रममा आर्किटेक्ट र डिजाईजनरहरुको लागि ऊर्जा दक्ष भवन डिजाईनको लागि आवश्यक सामाग्री र धुलिखेल नगरपालिकाको भवन निर्माणमा दक्षताका लागि विनियमावली २०८० सार्वजनिक गरिएको थियो ।

धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, कार्यक्रम संयोजक डा.डेनिल नेयर, प्राविधिक संयोजक सास्वती चेतिया, इन्जिनियर प्रकिमा तुलाधर, धुलिखेल नगरपालिका इन्जिनियर रोजन ताम्राकार लगायतले ऊर्जालाई भवनमा प्राथमिकता राख्दै कार्य गर्नु पर्ने बताएका थिए ।

कार्यक्रममा बोल्दै धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले धुलिखेलले जारी गरेको ऊर्जा प्रभावकारिता कायम गर्ने मापदण्डलाई ब्यवहारमा कार्यान्वयन सुरु भएको बताए । धुलिखेलले दिगो विकास लक्ष्यका सुचकहरु पुरा गर्दै ऊर्जाको प्रयोगमा भवनहरुको निर्माण र धुलिखेल नगरपालिकाका भवनमा ऊर्जाको प्रभावकारिता बढाउन आवश्यक प्रक्रिया सुरु भएको बताए । धुलिखेल नेपालमै पहिलो स्वस्थ शहर सुरु गर्ने पालिकाका रुपमा चिनिएको छ ।

प्रतिक्रिया दिनुहोस्