कांग्रेसभित्र हिन्दु राज्यको एजेन्डा सशक्त बन्दै

पार्टीका २२ केन्द्रीय सदस्य र करिब ७ सय महासमिति सदस्य हिन्दु राष्ट्र घोषणाको पक्षमा खुले



काठमाडौं ।

नेपाली कांग्रेसभित्र महासमिति बैठकको पूर्वसन्ध्यामा हिन्दु राज्यको एजेन्डा सशक्त बन्दै गएको छ।

फागुन ७–१० मा हुने कांग्रेसको विधान अधिवेशन नाम दिइएको (महासमिति बैठक) बाटै हिन्दु राष्ट्र घोषणा गरेर जाने गरी उक्त एजेन्डालाई पार्टी केन्द्रीय नेताहरू नै सशक्त रूपमा उठाएका हुन्।

प्रतिनिधि सभा सदस्यसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा सनातन हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियान समिति निर्माण गरे पार्टी नेतृत्वमाथि दबाब बढाएरहेका छन्।

कांग्रेस केन्द्रीय समिति बैठकमा समेत भण्डारीसहित २२ केन्द्रीय सदस्यले धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दु धर्मको पक्षमा उभिनुपर्ने दाबीसहित विशेष पूरक प्रस्ताव पेस गरेका थिए।

अभियानको उपसंयोजक कांग्रेस केन्द्रीय सदस्य देवेन्द्र कँडेल, नेता लोकेश ढकाल, महासचिवमा पार्टी केन्द्रीय सदस्य तथा सांसद मुक्ताकुमारी यादव र विराटनगरका पूर्वमेयर केन्द्रीय सदस्य भीम पराजुली रहेका छन्। अभियानमा पुष्पा भुसाल, प्रकाश रसाइली ‘स्नेही’, उर्मिला थपलिया, चन्द्र केसी, ज्ञानेन्द्र गिरीलगायत नेताहरू छन्।

सो अभियानलाई कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पदाधिकारी, प्रदेश पदाधिकारीहरू र करिब ७ सय महासमिति सदस्य हिन्दु राष्ट्र घोषणको पक्षमा रहेको संयोजक शंकर भण्डारीले बताउनुभयो।

नेता भण्डारीले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘मुलुकलाई हिन्दु राष्ट्र घोषणा गर्ने अभियानमा छौं। यसका लागि टिम बनाएर महाअभियानमा जोडिन राष्ट्रिय रूपमा आह्वान गर्नुका साथै पार्टीको आगामी महासमिति बैठकमै मूल एजेन्डाका रूपमा आवाज बुलन्द गर्ने तयारी भइरहेको छ।’

नेपाल विश्वको एक मात्र शिर सनातन हिन्दु राज्य भएको दाबी गर्दै नेता भण्डारीले भन्नुभयो– ‘यो पार्टीभन्दा माथि सिंगो देशसँग जोडिएको कुरा हो । हिन्दु राष्ट्रको एजेन्डालाई कांग्रेसजस्तो पार्टीले उठाएन भने मुलुक सखाप हुन्छ।’

हिन्दु राष्ट्र स्थापनाको विषय यसअघिका केन्द्रीय समितिको बैठकमा पनि उठ्दै आएको थियो । पार्टीको १४औं महाधिवेशनमा पनि यो विषयले चर्चा पाएको थियो।

संविधान अपरिवर्तनीय भएकाले संविधान संशोधन गरेर हिन्दु राज्य घोषणा गरी अघि बढ्नुपर्ने अधिकांशले आवाज उठाएका छन्।

पार्टीभित्र र बाहिरका पनि केही स्वार्थ समूहको बन्धनमा परेर ८० प्रतिशत हिन्दुहरूको आस्ता बेचिएको भण्डारीले जिकिर गर्नुभयो।

महासमिति बैठकमा वैदिक सनातन तथा धर्मसापेक्ष हिन्दु राष्ट्रको रूपमा औपचारिक प्रस्ताव लैजाने तयारी छ। उक्त एजेन्डामा पार्टी नेतृत्वले सकारात्मक रूपमा लिएको अभियानमा सहभागी नेताहरूले बताएका छन्।

कांग्रेस नेता नरोत्तम वैद्यले पार्टी नेतृत्वबाट समेत यस विषयमा महासमिति बैठकमा छलफल हुने आश्वासन दिएको बताउनुभयो। संघीय गणतन्त्र घोषण गर्दा शीर्ष नेतृत्वलाई थाहै नदिई तत्कालीन सभामुख सुवास नेम्वाङले धर्म निरपेक्षतासमेत घुसाएर वाचन गरेको उहाँले स्मरण गर्नुभयो।

वैद्यले भन्नुभयो– ‘कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले स्वास्थ्यका कारण वाचन गर्न नसकेको मौका छोपेर सुवास नेम्वाङले ‘धर्म निरपेक्ष’ थपेर पढेपछि कांंग्रेस नेता सुशील कोइरालालसहितका नेताहरूले त्यस बेला उक्त शब्दको विरोध गर्नुभएको थियो । त्यस बेला धर्म निरपेक्ष कांग्रेसको एजेन्डा थिएन्।’

माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनका लागि समेत उक्त शब्दका विषयमा कांग्रेसले राजनीतिक मुद्दा नबनाएको उहाँको दाबी छ। तर अहिले आएर हिन्दु राज्यको एजेन्डामा कांग्रेस बलियो उभिनुपर्ने वैद्यको सुझाव छ।

नेपालमा विभेद र विकृति मौलाएको भन्दै उहाँले जनतामा रहेको भ्रम चिर्न सनातन धर्ममा विभेद नरहेको कुरा जनतासामु राख्नुपर्ने कांग्रेस नेता पुष्पा भुसालले बताउनुभयो।

सनातन हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणासभामा उहाँले नेपालको संविधान २०७२ जारी गर्दा गल्ती भएकाले त्यसलाई सच्याएर जान सकिने बताउनुभयो।

उहाँले भन्नुभयो– ‘कांग्रेस पार्टीको विधानमा हिन्दु राज्यका विषयलाई स्थान दिइएको छ।अब संविधान नै सच्याएर जनभावनाअनुसार जानुपर्छ। हिन्दु राष्ट्रलाई राजसँग जोडेर अतिरञ्जित गरिएकोप्रति उहाँले असन्तुष्टि जनाउनुभयो ।

८० प्रतिशत नागरिकले हिन्दु राष्ट्रको माग गरेको भए पनि त्यसका विरुद्धमा संविधानमा धर्म निरपेक्ष राष्ट्र लेखिनुमा कांग्रेसले पहिलादेखि नै विरोध जनाए पनि बाहिर निस्कन सकेको थिए।

उक्त एजेन्डालाई यो महासमिति बैठकबाट पारित गरेर लैजानका लागि महासमिति सदस्यहरूलाई अभियन्ताहरूले जोडबल गरिरहेका छन्।

यद्यपि, पार्टीले हिन्दु राष्ट्रको एजेन्डा उठाउँदा संविधानप्रतिकूल हुने कांग्रेसका एकाथरी नेताहरूले बताएका छन्। नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले संविधान बाहिर गएर पार्टीले निर्णय गर्ने अवस्था नरहेको बताउनुभयो।

उहाँले भन्नुभयो– ‘पार्टीभित्र सबैले आफ्नो धारणा राख्न पाउनुहुन्छ। तर, संविधानले नचिनेको विषयमा पार्टीले केही निर्णय लिन सक्दैन।’

हिन्दु राष्ट्र राष्ट्रिय राजनीतिमा उठान भइरहेको मुद्दा भएकाले कांग्रेसको बैठकमा पनि बहसको विषय बनेको नेताहरूले स्वीकार गरेका छन् ।

कांग्रेसका युवा नेता अरबिन्द महतोले नेपाललाई सनातन हिन्दु राष्ट्र बनाएर जाने कुरामा ढिला गर्नु नहुने बताउनुभयो। उहाँले सार्वजनिक अपिल नै जारी गर्दै पार्टीले आगामी उठाउनुपर्ने एजेन्डामा हिन्दु राष्ट्रलाई प्राथमिकताका साथ प्रस्तुत गर्नुभएको छ।

मुलुकको समसामयिक मुद्दा पार्टीको बैठकमा छलफल र बहसको विषय बन्नु सकारात्मक भएको सांसद मुक्ताकुमारी यादवले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘आम मान्छेहरू स्वस्फूर्त रूपमा हिन्दु राष्ट्रका पक्षमा लागेका छन्। तर कानुनी मान्यताअनुसार संविधानमा धर्म निरपेक्षता राखिएको छ। यसलाई संशोधन गरेर मुलुकलाई हिन्दु राष्ट्र बनाउनुपर्छ। हामी पार्टीको विधान अधिवेशनमा यो विषयलाई जोडतोडका साथ उठाउछौं।’

कांग्रेसभित्र हिन्दु हिन्दु राष्ट्रको पक्षमा ठूलो मत रहेको तर नेताहरू खुल्न नसकेको अधिकांश नेताले बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्