एक्लै भिड्ने उद्घोष

अर्को चुनावमा गठबन्धन नगर्ने नीति कति सम्भव ?



काठमाडौं ।

विगतमा भएका दुई वटा निर्वाचनमा फरक फरक गठबन्धन गरेर चुनाव लडेका दलहरूले आगामी चुनावमा एक्लै भिड्ने हैसियत निर्माणमा लाग्ने उद्घोष गरेका छन्।

आम निर्वाचनअघिको सरकार गठनदेखि गठबन्धन गर्दै निर्वाचनमा सिट बाँडफाँट गरेर चुनाव लडेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूले पछिल्लो समय एक्ला एक्लै भिड्ने बताउँदै आएका हुन्।

दलहरू एक्लाएक्लै भिड्न डराएरभन्दा पनि कुनै न कुनै दलबीच गठबन्धन हुने त्रासका कारण नेताहरूले कोसँग पहिला गठबन्धन गर्न सकिन्छ भन्ने जोडघटाउमा व्यापक लाग्ने गरेको अघिल्ला निर्वाचनले देखाइसकेका छन्। तर, आगामी निर्वाचनमा एक्लै चुनाव लड्नुपर्ने नेपाली कांग्रेसका सभापतिबाहेक सबैजसो नेताले बताएका छन्।

यद्यपि, सभापति यही गठबन्धनलाई आफ्नो राजनीतिक जीवनसम्म लैजाने मनस्थितिमा छन्। सरकारको मुख्य घटकसमेत रहेको कांग्रेसका महामन्त्रीद्वय गगन थापा–विश्वप्रकाश शर्मा, वरिष्ठ नेता डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङसहितका नेताहरूले चुनावी गठबन्धनको विरोध गर्दै आएका थिए।

अहिले पनि उनीहरूले सो मुद्दा छाडेका छैनन्। महामन्त्री थापाले आगामी निर्वाचनमा कांग्रेसले एक्लै चुनाव लड्ने शक्ति निर्माण गर्नुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो– ‘यो गठबन्धन सधैंका लागि होइन। हामीले अर्को निर्वाचन एक्लै लड्नुपर्छ। बहुदलीय संसदीय व्यवस्थाको मर्मअनुसार पनि चुनावअघि दलहरूबीच गठबन्धन गर्न मिल्दैन । यसलाई अरू दलका साथीहरूले पनि बुझेर एक्लै चुनाव लड्ने हिम्मत गर्न सक्नुहोस् । अरू दलहरू जो जो मिले पनि अर्को चुनावमा कांग्रेस एक्लै चुनाव भिड्छ।’

त्यस्तै, नेकपा एकीकृत समाजवादी पार्टीले समेत यो एजेन्डालाई पछिल्लो समय उठाउँदै आएको छ । सो पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललले आगामी निर्वाचनमा राजनीतिक दलहरूले एक्लाएक्लै निर्वाचन लड्ने शक्ति निर्माणका लागि संगठन बनाउन कार्यकर्तालाई निर्देशन दिनुभएको छ।

‘बहुदलीय लोकतन्त्रमा दलहरूबीच एक्लाएक्लै चुनाव लड्ने हो’, उहाँले भन्नुभयो– ‘आगामी निर्वाचनहरूमा एक्लै लड्न सक्ने एउटा क्रान्तिकारी पार्टी संगठनको निर्माणको आवश्यकताबारे हामीले धेरैपटक चर्चा गरेका छौं । त्यसका लागि सबै पालिका, वडा र टोलसम्म कमिटी निर्माण गर्नु र बढीभन्दा बढी सदस्यता विस्तार गर्नु आवश्यक छ। यस अभियानले त्यस आवश्यकतालाई सम्बोधन गर्नेछ।’

निर्वाचन एक्लै लड्न सक्ने पार्टी निर्माण गर्न संगठन निर्माण गर्न पार्टी पंक्तिलाई नेकपा एसले सर्कुलर पठाइसकेको नेपालले बताउनुभयो। २०७४ को निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन गरेर चुनावमा गएका थिए।

त्यसको तीन वर्षसम्म गठबन्धनलाई पार्टी एकतामा रूपान्तरण गर्दै पुनः फुटको संघारमा पुगेका एमाले–माकेबीच शत्रुता मात्रै कमिएन एमालेबाट माधव नेपाल समूह चोइटिएर एमालेको शक्ति क्षीणसमेत भयो।

उता, नेकपा माओवादी केन्द्रका दर्जन बढी नेताहरू एमालेमै बसेपछि माओवादीले समेत ठूलै धक्का बेहोर्नुपरेको थियो।

पछिल्लो निर्वाचन २०७९ मा कांग्रेस, माओवादी, नेकपा एस, जसपासहित एक ठाउँमा उभिएर निर्वाचन लडे भने अर्को गठबन्धनमा एमालेर राप्रपा, जनमत पार्टीबीच भागबण्डा भएको थियो।

तर, २०८४ को चुनावमा एक्लाएक्लै चुनावी मैदानमा जाने विषयमा दलहरूले आफ्नो संगठनलाई कत्तिको सुदृढीकरणका गरेर लान सक्छन् भन्नेका पनि निर्भर रहने नेताहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्