सुरक्षा लापरबाहीको आरोपपछि डीआईजी चन्दको राजीनामा



काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अर्जुन चन्दले पदबाट राजीनामा दिनुभएको छ।

उहाँले व्यक्तिगत कारणले आफूले राजीनामा दिएको नेपाल समाचारपत्रसँगको कुराकानीमा बताउनुभएको छ। उहाँले शुक्रबार नै प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा आफ्नै घरायसी कारणले राजीनामा बुझाउनुभएको थियो।

चन्दमाथि विमानस्थलको सुरक्षामा खटिँदा लापरबाही गरेको र आफ्ना मातहतका कर्मचारीलाई परिचालन गर्न नसकेको आरोप लाग्दै आएको थियो।

प्रहरी महानिरीक्षक वसन्तबहादुर क्षत्रीको ब्याजी रहेका डीआईजी चन्दले राजीनामा नदिएको भए २०८१ को चैतसम्म जागिर रहथ्यो । उहाँमाथि विभिन्न प्रकारका आरोप लाग्दै आएपछि राजीनामा दिएको उहाँका निकटवर्ती स्रोतले जानकारी दिएको छ।

विमानस्थल सुरक्षा प्रमुखका रूपमा कार्यरत रहेका चन्दले गत दशैंमा आफ्ना परिवारलाई घुमाउन बैंकक लैजानुपर्ने भएकाले ४ वटा टिकट सित्तैमा मिलाइदिन नेपाल वायु सेवा निगमलाई आग्रह गरेको, विमानस्थलबाट पटकपटक गरेर खैनी गुट्खालगायतमा वस्तुहरू तस्करी हुँदा पनि त्यसको नियन्त्रण गर्न नसकेको आरोप लाग्दै आएको थियो।

पछिल्लोपटक अध्यागमनका अधिकारी र प्रहरीबीच लफडा हुँदा पनि डीआईजी चन्दले नेतृत्वदायी भूमिका खेल्न नसकेको आरोप लाग्दै आएको थियो। अध्यागमन अधिकृत र प्रहरीबीच कुटाकुट भएपछि गृह मन्त्रालयले छानबिन समिति नै बनाएको थियो।

समितिले प्रहरी प्रमुखले कमान्ड सम्हाल्न नसकेको र डिउटीमा खटिएका प्रहरी अधिकृत तथा जवानले अनुशासनहीन काम गरेकाले उनीहरूलाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो।

अध्यागमन कार्यालयका अधिकृत छायालाल मोक्तानले समेत डिउटीमा बसेका प्रहरीलाई अपशब्द प्रयोग गरेको र उनले पनि आफ्नो मर्यादा कायम गर्न नसकेकाले उनलाई समेत सचेत गराउन समितिले मन्त्रालयलाई सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस्