माओवादी सुदूरपश्चिम समितिको निर्देशन : भट्टलाईलाई दलको नेताबाट हटाउने निर्णय तत्काल सच्याऊ



काठमाडौं ।

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिले प्रदेश संसदीय दलको नेता फेर्ने निर्णय तत्काल सच्याउन निर्देशन दिएको छ।

प्रदेश अध्यक्ष हरिराम चौधरी(उत्सव) को अध्यक्षतामा शनिबार बसेको पदाधिकारी बैठकले दलको नेता परिवर्तन गर्ने निर्णय सच्याउन संसदीय दललाई निर्देशन दिएको हो।

यही माघ १२ गते भट्टको अनुपस्थितिमा बसेको माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले उनलाई दलको नेताबाट हटाई उनको स्थानमा मानबहादुर धामीलाई दलको नेता बनाउने निर्णय गरेको थियो।

पदाधिकारीको बैठकले प्रदेश संसदीय दललाई भट्टलाई नै दलको नेतामा पुनःस्थापित गर्न निर्देशन दिने निर्णय समेत गरेको छ।

‘यहि माघ १२ गते माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक दल नेता खगराज भट्टको जानकारीबिना उपनेता कमरेड अक्कलबहादुर रावलको अध्यक्षता बसी दलनेता परिर्वतन र सरकार परिर्वतन गर्ने भन्ने कुराप्रति पदाधिकारीहरुको गम्भीर ध्यानाकर्षण भएको छ,’ परिपत्रमा भनिएको छ, ‘हाम्रो पार्टी परम्परा, विधिविपरीत केन्द्रीय निर्देशनको समेत अवज्ञा गरी गरिएको निर्णयले पार्टीमा अराजकता र स्वेच्छाचारीताले संस्थागत मान्यता पाउने खतरा हुने भएकोले संसदीय दलको यो निर्णय पार्टीका हजारौं कार्यकर्ताको मनोभावना विपरीतको भएकोले अविलम्ब सच्याउन संसदीय दललाई निर्देशन दिने निर्णय गरियो।’

साथै सो बैठकले प्रदेश संसदीय दलमा देखिएको विवाद समाधानका लागि माओवादी केन्द्रको केन्द्रीय कार्यालयलाई आग्रह पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्