नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच तिक्तता, मिलेर जान गृहमन्त्रीको आग्रह



काठमाडौं ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी एकआपासमा मिलेर जानुको विकल्प नभएको बताउनुभएको थियो।

उहाँले पछिल्लो समय नेपाल प्रहरी र सशस्त्र प्रहरी संगठनबीच देखिएको तिक्ततालाई इंगित गर्दै गृहमन्त्री श्रेष्ठले दुई संगठनबीच समन्वय हुन सकेमात्रै मुलुकको शान्ति सुरक्षा कायम गर्न सकिने बताउनुभएको थियो।

राजनीतिक दाउपेचको सिकार बन्दै आएको नेपाल प्रहरीलाई सत्तारुढ दलका नेताहरूले आफूअनुकूल प्रयोग गर्न थालेपछि मुलुकमा शान्ति सुरक्षा कायम गर्नुभन्दा पनि आफ्नो शक्ति बढाउने र सत्तासँग नजिक रहेर काम गर्ने प्रवृत्ति नेपाल प्रहरीका उच्च नेतृत्वमा देखिएपछि त्यसको फाइदा उठाउँदै सशस्त्र प्रहरी बलले देशका महत्वपूर्ण संरचनाको सुरक्षा गर्ने जिम्मेवारी लिन सफल भएको छ।

सशस्त्र प्रहरी बलले पछिल्लो समय मुलुकको सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार सुरक्षाको जिम्मेवारी लिएपछि नेपाल प्रहरी थप सशंकित भएको छ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले यो विषयमा आफ्ना निकटका डीआईजी र एआईजीलाई आफ्नो निवासमा बोलाएर सशस्त्र प्रहरी बलले संगठनलाई हेप्दै गएकाले यसका लागि नेतृत्व तहमा नै लबिङ गर्नुपर्ने भएकाले एक भएर लाग्न आग्रह गरेको एक उच्च प्रहरी अधिकृतले नेपाल समाचारपत्रलाई जानकारी दिएका छन्।

संगठनको श्रीवृत्तिका लागि प्रहरी महानिरीक्षक कुँवरले केही गर्न नसकेको भन्दै संगठनभित्र नै आलोचना हुन थालेपछि महानिरीक्षक कुँवरले अहिले सँगै मिलेर अघि बढ्नुपर्ने संगठनबीच नै अविश्वास पैदा गर्ने काम भएको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुँवरलाई मन्त्रालयमा नै बोलाएर हप्काउनुभएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए।

‘नेपाल प्रहरीको पछिल्लो काम कारबाही विवादमा पर्दै आएको छ। संगठनले विगतको आफ्नो विरासतलाई कुल्चँदै गएकाले प्रहरी महानिरीक्षक आलोचित हुँदै आउनुभएको छ’ –ती अधिकारीले भने ।

सीमा सुरक्षादेखि देशका महत्वपूर्ण संरचनाको सुरक्षाको जिम्मेवारी एपीएफले पाएको भन्दै नेपाल प्रहरीले लामो समयदेखि सशस्त्र प्रहरीलाई सीमा सुरक्षाको मात्रै जिम्मेवारी दिनुपर्ने लबिङ गर्दै आएकोमा एकपछि अर्को महत्वपूर्ण जिम्मेवारी सशस्त्र प्रहरी बलले लिएपछि नेपाल प्रहरीको नेतृत्व एपीएफप्रति आक्रोशित हुँदै आएको छ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पछिल्लो समय नेपाल प्रहरीले गर्दै आएको सुरक्षाको कमान्ड खोसेर आफ्नो जिम्मेवारी क्षेत्रमा ल्याएपछि दुई संगठन प्रमुखबीच नै तिक्तता शुरू भएको छ।

नेपाल प्रहरीका प्रवक्ता महरी नायब महानिरीक्षक भीम ढकालले दुई संगठनबीच त्यस प्रकारको मनमुटाव नै आउने काम नभएको बताउनुभयो। उहाँले दुवै संगठनको कामको प्रकृति फरकफरक भएकाले दुवै संगठन मिलेर अघि बढ्नुपर्ने बताउनुभयो।

सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले दुई संगठनबीचको सम्बन्धका बारेमा बाहिर आएका हल्लामा आफू विश्वस्त नरहेको दाबी गर्नुभयो।

दुई संगठनका प्रमुखबीच भेटघाट भइरहेको र एकले अर्कालाई सहयोगीको भावनाले नै हरेको दाबी गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्