यु-१९ विश्वकप : नेपाल पाकिस्तानसँग पाँच विकेटले पराजित



काठमाडौं ।

आईसीसी यू–१९ विश्वकपअन्तर्गत बुधबार भएको खेलमा नेपालले पराजय बेहोरेको छ। नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित भएको हो। यो नेपालको दोस्रो हार थियो।

नेपालले यसअघि न्युजिल्यान्डसँग पराजय बेहोरेको थियो। समूह ‘डी’ मा रहेको नेपालले अब अन्तिम खेलमा अफगानिस्तानसँग खेल्न बाँकी छ।

समूहको शीर्ष ३ स्थानमा रहने टोलीले सुपर ६ को यात्रा तय गर्नेछन्। यस हिसाबमा नेपालको लागि अफगानिस्तानविरुद्धको खेल जित्नै पर्छ।

त्यसपछि समूह ‘ए’ का टोलीले समूह ‘डी’ तथा समूह ‘बी’ र समूह ‘सी’ को टोलीले एक अर्कासँग खेल्नेछन्। सुपर सिक्सको दुई समूहको शीर्ष टोलीले भने सेमिफाइनलमा खेल्नेछन्। समूहमा पुछारका टोलीले पनि स्थान निर्धारणका लागि खेल्नेछन्।

नेपालले पाकिस्तानको ४ विकेट १ सय ४ रन भित्रै निकालेको थियो। पहिलो विकेटका लागि शामिल हुसेन र शाहबाज खानले ८० रनको साझेदारी गरेका थिए । यो साझेदारी २२ औं ओभरमा तोडिएको थियो।

आकाश चन्दले यसै ओभरमा दुबै ओपनरलाई आउट गरेर नेपाललाई राहत दिलाए। शामिल र शाहबाजले समान ३७ रन बनाएका थिए।

यसपछि आकाशले नै अराफत मिन्हासको विकेट लिएर नेपाललाई तेस्रो सफलता दिलाए। अराफतले ८ रन जोडेका थिए।

आकाश त्रिपाठीले भने कप्तान साद बेगको विकेट लिएर नेपाललाई ठूलै सफलता दिलाए। ५ बल खेलेका सादले रन पनि बनाउन सकेनन्। यतिबेला ४ विकेटको क्षतिमा १ सय ४ रन थियो र नेपालको जितको केही आशा बनेको पनि थियो।

तर, अजान आवेस र अहमद हसानले यसपछि भने ६४ रनको साझेदारी गरेर नेपालको जितको संभावनालाई कमजोर बनाइदिए। यो साझेदारी दीपेश कँडेलले तोडुन्जेल निकै ढिलो भइसकेको थियो।

दिपेशले अहमदलाई २९ रनमा आउट गरेका थिए। यो विकेट लिएपछि नेपालको लागि जितको लागि अरु ५ विकेट लिनुपर्ने कठिन स्थिति बन्यो। पाकिस्तानका को लागि भने ३० रन जितको लागि आवश्यक थियो।

अजानले हारुन अर्शदको साथ पाएपछि अर्धशतक पनि प्रहार गरे। अजानले ५ चौकाको सहयोगमा अर्धशतक प्रहार गरेका थिए । यो खेलमा यही एक मात्र अर्धशतक पनि हो।

१ सय ४ रनको लागि ४ विकेट गुमेर कमजोर अवस्थामा पुगेको पाकिस्तानलाई उनले क्रिजमा टिकेर जित दिलाएका थिए। उनी ६३ रनमा र हारुन १५ रनमा नटआउट रहे ।

यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले ५० ओभर नै खेल्यो । नेपालको ब्याटिङ १ सय ९८ रनमा समेटिएको थियो। पाकिस्तान जस्तो क्रिकेटको पावरहाउस टोलीसँग नेपाली खेलाडीले राम्रै ब्याटिङ गरेको थियो । नेपालको तर्फबाट ११ चौका र ३ छक्का प्रहार भएको थियो ।

नेपालका लागि ओपनर विपिन रावलले सर्वाधिक ३९ रनको योगदान दिए । उनले ६८ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए।

तल्लोक्रममा दीपक डुम्रेले ५८ बलमा १ छक्कासहित २६ रनको योगदान दिए। सुभाष भण्डारीले २४ बलमा २० रन जोडे। आकाश चन्द ११ बलमा १ चौका र १ छक्कासहित १६ रनमा नटआउट रहे।

अघिल्लो खेल न्युजिल्यान्डविरुद्ध ९० रन बनाएर उत्कृष्ट प्रदर्शन गरेका अर्जुन कुमाल पाँचौ ओभरको दोस्रो बलमा आउट भए। अर्जुनले १२ बलको सामना गर्दै ६ रन जोडेका थिए। आकाश त्रिपाठी १० बलमा ६ रन जोड्दै सातौं ओभरमा क्याच आउट भए।

त्यसपछि कप्तान देव खनाल र विपिन रावलले इनिङ सम्हाल्ने प्रयास गरे पनि देव खराब सट खेल्दै आउट भए । उनले ३७ बलमा ३ चौकासहित २३ रन जोडे। लगत्तै उत्तम मगर पनि ४ रनमा आउट भए । २७ औं ओभरमा विपिन आउट हुँदा नेपाल ९६–५ को स्थितिमा पुगेको थियो।

गुलशन झा ४७ बल खेल्दै विना कुनै बाउन्ड्री १८ रन जोड्दै आउट भए। अराफात मिन्हासबाट बोल्ड हुनुअघि दिपेश कँडेलले १७ बलमा २ चौकासहित १३ रनको योगदान दिए। सुभाष भण्डारी अन्तिम ओभरको पाँचौ बल र दुर्गेश गुप्ता अन्तिम बलमा उबेद शाहको बलमा उनैबाट क्याच आउट भए।

पाकिस्तानका लागि मिन्हासले १० ओभरमा २३ रन खर्चेर ३ विकेट लिए। अर्का स्पिनर अलि अस्फन्दले १० ओभरमा १ विकेट लिँदा १५ रनमात्र खर्चिए। उबेद शाह र अहमद हुसेनले २–२ तथा खुबेब खलिल र मोहमद जिशानले १–१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्