राष्ट्रिय सभा चुनाव : मधेशमा उम्मेदवार छान्ने विषयमा कांग्रेसमा किचलो



काठमाडौं ।

नेपाली कांग्रेसले मधेस प्रदेशबाट राष्ट्रिय सभामा पठाउने उम्मेदवारको विषय सबै भन्दा पेचिलो बन्दै गएको छ। पुराना नेतादेखि युवा नेताहरूले समेत राष्ट्रियसभामा इच्छा राखेपछि कसलाई पठाउने भन्ने विषय कांग्रेसमा अन्योल छ।

यद्यपि पार्टी सभापति शेरबहादुर देउवाले पुराना नेता आनन्द ढुङ्गानालाई काखी च्यापेका छन्। पटक पटक सांसद, संसदीय समितिको जिम्मेवारीमा बसिसकेका, प्रत्येक निर्वाचनमा पार्टीको तर्फबाट टिकट नछाडेका वर्तमान केन्द्रीय सदस्य ढुङ्गानालाई सभापति देउवाले ग्रिन सिग्नल दिएपछि मधेस प्रदेशका युवा नेताहरूले त्यसको विरुद्धमा उत्रने चेतावनी दिएका छन्।

मधेस प्रदेशबाट समेत राष्ट्रिय सभामा पहाडी मुलका व्यक्तिलाई टिकट दिएर मधेसी मुलका नेताहरूलाई बाइपास गर्दा सिङ्गो मधेस प्रदेशको अपमान हुने नेपाली कांग्रेस धनुषाका युवा नेता तथा महाधिवेशन प्रतिनिधि अरविन्द महतोले बताए।

आफू पनि राष्ट्रिय सभामा दाबेदार रहेको समेत बताए। महताेले भने ‘पटक पटक जिम्मेवारी पाएर पार्टीमा एकल मनोमानी गर्दै आएका ढुङ्गानाबाट मधेसको कांग्रेस सिद्धिँदै छ। यो अवस्थामा फेरी पनि उनैलाई दिने हो भने कांग्रेस मधेस प्रदेशमा विद्रोह हुन्छ। म पनि दाबेदार छु, कम्तीमा मधेस प्रदेशबाट राष्ट्रियसभामा पठाउने नेता मधेसी मूलकै हुनुपर्छ भन्ने हाम्रो माग हो।’

उम्मेदवारका आकाङ्क्षी धेरै भएपनि पार्टी नेतृत्वले काखिच्यापेका र पटक पटक अवसर लिएकालाई नै दिईरहँदा लामो समय दुख गरेर अवसर नपाएका नेताहरूमाथि अन्याय हुने उनको भनाइ छ।

ढुङ्गानालाई पार्टीको महासमिति सदस्य छनौटमा समेत आफ्नै घर परिवारका व्यक्तिहरूलाई बनाएर अन्य महाधिवेशन प्रतिनिधिहरूलाई थाहै नदिई महासमिति सदस्यहरूको नामावली बुझाएको धनुषका अधिकांश नेताहरूले गुनासो गर्दै आएका छन्।

सभापति देउवाले सकभर ढुङ्गानालाई नै दिने यदि नभएको खण्डमा फर्मुल्लाह मन्सुरलाई राष्ट्रिय सभामा लैजाने मनस्थितिमा रहेका छन्।

मन्सुरका विषयमा विवाद कम भएपनि ढुङ्गानालाई राष्ट्रिय सभामा पठाउने कुरामा तराई मुलका नेताहरूले असहमति जनाउँदै आएका छन्। राष्ट्रिय सभाको प्रतिस्पर्धामा आनन्द ढुङ्गाना, फर्मुलमुल्हा मन्सुर,अरविन्द्र महताे,डा चन्द्र माेहन यादव लगायत दर्जन नेताहरु छन्।

प्रतिक्रिया दिनुहोस्