कलेजो प्रत्यारोपणमा केन्द्र आत्म निर्भर हुँदै



काठमाडाैं ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले यही मिति २०८०/०९/०७ गते प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलन सफलता पूर्वक सम्पन्न गरे लगत्तै एक हप्तामा २ वटा कलेजो र ३ वटा मृर्गौला प्रत्यारोपण गरेको छ ।

मिति २०८०/०९/०८ र ९ गते भएको कलेजो प्रत्यारोपण भक्तपुरका २२ वर्षीय छोरालाई ४७ वर्षीय बुबाले सप्तरीका २५ वर्षीय भाइलाई ३५ वर्षीय दिदीले कलेजो दान दिएकी थिइन । कलेजो दाता र ग्रहण कर्ता दुवैको स्वास्थ्य सामान्य रहेको छ ।


वरिष्ठ प्रत्यारोपण शल्य चिकित्सक डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा केन्द्रले मिति २०७३ मङसिर २२ गते, दक्षिण कोरियाका चिकित्सकहरूको प्राविधिक सहयोगमा देशमै पहिलो पटक कलेजो प्रत्यारोपण गरेकोमा तत्पश्चात भएका कलेजो प्रत्यारोपण सेवामा छिमेकी राष्ट्र भारतको म्याक्स अस्पतालका विशेषज्ञ चिकित्सकहरूको सहयोगमा हुँदै आएको छ । पछिल्लो ५ जनाको प्रत्यारोपण एक जना मात्र भारतीय चिकित्सकको सहयोगमा भएको र केन्द्र कलेजो प्रत्यारोपणमा आत्मनिर्भर बन्दै गएको कुरा केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले बताउनुभयो ।


देशमा सबै भन्दा धेरै प्रत्यारोपण गर्ने यस केन्द्रले शुरुको केही वर्ष वार्षिक १ दुई जनाको मात्र कलेजो प्रत्यारोपण गर्दै आएकोमा यो वर्ष ६ जनाको सफल कलेजो प्रत्यारोपण भई सकेको र केही हप्तामै ४ जनाको कलेजो प्रत्यारोपण गर्ने तयारी गरेको छ । त्यस्तै केन्द्र स्थापनाको ११ वर्ष अवधिमा ११७२ जनाको मृगौला प्रत्यारोपण समेत भई सकेको छ ।केन्द्रले अंग दान गर्न र मस्तिष्क मृत्यू पश्चात प्राप्त हुने अंग प्रत्यारोपण कार्य सुचारु गर्न सबैमा अनुरोध गर्दैै मृर्गौला, कलेजो लगायतका अंग फेल भएका व्यक्तिहरू समय समयमा जाँच गरी केन्द्रको समन्वय इकाईमा सम्पर्क राखी प्रतीक्षाको सूचीमा नाम लेखाउन समेत आग्रह गरेको छ । हालै मात्र सम्माननीय प्रधान मन्त्री श्री पुष्पकमल दाहाल ज्यूले केन्द्रको लागि ५०० शैयाको अत्याधुनिक भवन बनाउने घोषणा गर्नु भएको छ ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर ।

प्रतिक्रिया दिनुहोस्