निकुञ्ज ऐन खारेज गर्न संरक्षित क्षेत्र पीडितको माग


काठमाडौं ।

राष्ट्रिय निकुञ्जबाट पीडित आदिवासी जनजाति र स्थानीय समुदायले अधिकारमा आधारित संरक्षित क्षेत्र बनाउनुपर्ने माग अघि सारेका छन् । राष्ट्रिय निकुञ्ज, संरक्षित तथा आरक्षित क्षेत्रको नामा वन्यजन्तुको मात्र अधिकार सुनिश्चित भएको र सो क्षेत्र आसपास बसोबास गर्ने आदिवासी जनजाति तथा स्थानीय समुदाय भने मानवअधिकारबाट समेत वञ्चित हुनुपरेकोले अधिकारमा आधारित संरक्षित क्षेत्रको माग गरिएको हो ।

मानवअधिकारको समेत ख्याल राख्ने हो भने अधिकारमा आधारित संरक्षित हुनुपर्ने र त्यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बाधक देखिएको निकुञ्ज तथा संरक्षित क्षेत्रका आदिवासी जनजाति तथा स्थानीय समुदायको निष्कर्ष छ । निकुञ्ज तथा संरक्षित क्षेत्रहरुमा स्थानीयबासी तथा आदिवासी जनजातिको पहुँच वृद्धि गर्दै आर्थिक समृद्धिका लागि विभिन्न मुलुकमा सफल अभ्यास भइरहेको भन्दै आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र (सिप्रेड) का कार्यकारी निर्देशक डा. पासङ डोल्मा शेर्पाले स्थानीय जनतालाई भोगचलनका लागि खुला गर्नुपर्ने औंल्याए ।

अमेरिका, क्यानडा जस्ता विकसित मुलुकहरुले निकुञ्ज क्षेत्र आसपासका बासिन्दाका लागि खुला गरिसकेको छ । तर, नेपालमा भने निकुञ्ज तथा संरक्षित क्षेत्र वरपर बसोबास गर्नेहरु वन्यजन्तुको आक्रमणबाट अनाहकमा ज्यान गुमाउन बाध्य छन् । निकुञ्ज तथा संरक्षित क्षेत्र पीडित आदिवासी जनजाति र स्थानीय समुदायहरुबीच काठमाडौंमा दुई दिने कार्यशाला गोष्ठी आयोजना गरिएको थियो । सो गोष्ठीले निकुञ्ज ऐनले वन्यजन्तुको संरक्षणको सवाल मात्र समेट्ने भएकाले सबैभन्दा पहिले निकुञ्ज ऐन नै खारेज गरी अधिकारमा आधारित ऐन बनाउनुपर्ने अडान राखेका छन् ।

वन्यजन्तुको संरक्षण गर्दैगर्दा निकुञ्ज आसपास बसोबास गर्दै आएका आदिवासी जनजाति र स्थानीय बासिन्दा भने वन्यजन्तुकै शिकार हुनुपरिरहेको भन्दै पीडित समुदायले ऐननै खारेज गरी नयाँ ऐन ल्याउन माग गरेका हुन् । आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र (सिप्रेड)ले काठमाडौंमा गरेको दुई दिने कार्यशाला गोष्ठीमा सहभागी आदिवासी जनजाति तथा स्थानीय समुदायले अधिकारमा आधारित संरक्षित क्षेत्र बनाइनुपर्ने भन्दै त्यसका लागि निकुञ्ज ऐन बाधक रहेको औंल्याएका छन् ।

दुई दिने कार्यशाला गोष्ठीमा सहभागी प्रमुख प्रतिनिधिमुलक दुई संस्थाहरु नेपाल आदिवासी जनजाति महासंघ र सामुदायिक वन उपभोक्ता महासंघका साथै पीडित समुदाय र सरोकारवाला संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । सो गोष्ठीले एक अडानपत्र समेत जारी गरेको छ । गोष्ठीमा गरिएको छलफलबाट निस्किएको निष्कर्षसहितको अडानपत्र वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोलाई बुझाइएको छ । कार्यक्रममै उपस्थित मन्त्रालयका सचिव डा. दीपक खरालमार्फत मन्त्री महतोलाई अडानपत्र बुझाइएको हो ।

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेपा र सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष ठाकुर भण्डारीले संयुक्त रुपमा बाचन गरी बुझाइएको अडानपत्रको मुख्य जोड नै निकुञ्ज ऐन खारेजी हुनुपर्नेमा छ । नेपालले आफ्नो भूभागको ठूलो हिस्सा राज्य नियन्त्रित संरक्षित क्षेत्रका रुपमा घोषणा गरिसकेको छ । संरक्षित क्षेत्र घोषणा गर्दा संरक्षित क्षेत्र र सोको आसपासमा रहेका आदिवासी जनजाति, स्थानीय समुदाय लगायतका समुदायहरूले उक्त क्षेत्रमा रहेका कैयन आदिवासी जनजातिहरू तथा स्थानीय बासिन्दाहरू आफ्नो ऐतिहासिक भूमि तथा बासस्थानबाट विस्थापन भएका छन् ।

संरक्षित क्षेत्रबाट विस्थापन नहुनेहरूले समेत संरक्षित क्षेत्रमा रहेको प्राकृतिक स्रोत साधनहरूमा ऐतिहासिक रूपमा भोगचलन र स्रोतको उपयोग गर्दै आइरहेकोमा त्यस्तो कार्यबाट बञ्चित भई उल्टै संरक्षित क्षेत्रबाट प्रताडित हुन पुगेका छन् । त्यसरी प्रताडित र प्रभावित समुदायको जायज मागलाई समेत राज्यले हालसम्म सम्बोधन गर्न सकेको छैन । त्यसैले पनि अब नयाँ संरक्षित क्षेत्र घोषणा वा विस्तार गर्ने कार्य बन्द गरिनुपर्ने उनीहरुको माग छ ।

त्यस्तै, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा गरिएका व्यवस्थाहरु जैविक विविधता महासन्धी, १९९२ र जैविक विविधतासम्बन्धी विश्व्यापी प्रारुप (२०२०–२०३०) को उद्देश्य तथा मर्म र भावनासँग तालमेल खाने किसिमका छैन । साथै उक्त ऐनका व्यवस्थाहरु आदिवासी जनजातिको अधिकारसम्बन्धी अन्तराष्ट्रिय श्रम संगठनको महासन्धि नं.१६९ र आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र (युएनड्रिप), २००७ तथा नेपालको संविधानमा उल्लेखित प्राकृतिक स्रोत साधन माथिको आदिवासी जनजाति र स्थानीय समुदायको अधिकार सम्बन्धी व्यवस्थाहरू समेतको विपरित छ ।

त्यसैले निकुञ्ज ऐन खारेज गरी नेपाल पक्षराष्ट्र भएका अन्तर्राष्ट्रिय महासन्धिहरू, नेपालले अन्तराष्ट्रिय समुदायसमक्ष जारी गरेका प्रतिबद्धताहरू समेतमा उल्लेखित व्यवस्थाहरूसँग मेल खाने गरी अधिकारमुखी अवधारणामा आधारित भई नयाँ ऐन बनाउनुपर्ने अडानपत्रमा उल्लेख छ । यसरी नयाँ ऐन ल्याउँदा आदिवासी जनजाति, स्थानीय समुदाय र सम्बन्धित सरोकारवालाहरूको उचित परामर्श, सहभागिता र सहमतिका आधारमा गरिनुपर्ने समेत उनीहरुको जोड छ ।

नेपालका संरक्षित क्षेत्रहरुको संरक्षणमा त्यस्तो संरक्षित क्षेत्र घोषणा हुनुभन्दा पूर्व ऐतिहासिक कालदेखि हालसम्म निरन्तररूपमा त्यस्तो संरक्षित क्षेत्र र त्यस्का आसपासका आदिवासी जनजाति र स्थानीय समुदायको अमूल्य योगदान रहेको छ । त्यसैले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ खारेज गरी संरक्षित क्षेत्र व्यवस्थापनसम्बन्धी नयाँ कानून तर्जुमा गर्दा निजी क्षेत्र र नाफामूलक वर्गको स्वार्थसिद्ध र हस्तक्षेपबाट मुक्त राखी लाभको समन्यायिक बाँडफाँड एवं अधिकारमूखी अवधारणामा आधारित भई संरक्षित क्षेत्रमा आदिवासी जनजाति र स्थानीय समुदायको अधिकारको सुनिश्चत गर्न माग गरिएको छ ।

संरक्षित क्षेत्र व्यवस्थापनसम्बन्धी नयाँ कानून तर्जुमा नगर्दासम्मका लागि हाल मस्यौदा गरिएका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०८० र संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि २०८० तर्जुमा गर्ने कार्य तत्काल स्थगित गरिनुपर्ने अडान राखिएको छ ।

वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०८० मस्यौदा तयार पारी सुझाव माग गरिएको छ । सो मस्यौदामा समेत आदिवासी जनजाति र स्थानीय समुदायले गम्भीर आपत्ति जनाएका छन् । नियमावली बनाउँदा आदिवासी जनजाति र स्थानीय समुदायसँग परामर्श नगरिएकोमा आपत्ति जनाएका हुन् । राष्ट्रिय प्राथमकिता प्राप्त आयोजनाका नाममा जुनसुकै व्यावसायिक तथा नाफामूलक वर्गले संरक्षित क्षेत्रको स्रोत दोहन गर्ने अनुमति पाई संरक्षित क्षेत्रभित्र वा सोको आसपासका आदिवासी जनजाति र स्थानीय समुदायको अधिकार र सामाजिक तथा सांस्कृतिक सुरक्षामा गम्भीर असर परेको निष्कर्ष निकालिएको छ ।

संरक्षित क्षेत्रसँग संरक्षित क्षेत्र प्रभावित आदिवासी जनजाति र स्थानीय समुदायको अन्यौन्याश्रित सम्बन्ध र गम्भीर सरोकार रहने भन्दै यथोचित सम्वोधन गर्नुपर्ने अडान राखिएको छ । त्यस्तै, मन्त्रालयले जारी गरेको व्यावसायिक रुपमा वन्यजन्तुको पालन, प्रजनन तथा उपयोगसम्बन्धी मापदण्ड, २०८० र संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० सम्बन्धमा पनि आदिवासी जनजाति तथा स्थानीय समुदायले गम्भीर आपत्ति जनाउँदै सच्याउन सुझाव दिएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।