१५ वटा पुल झकिझकाउ पार्दै महानगर



काठमाडौं ।

काठमाडौं महानगरपालिकाले राजधानीका १५ वटा पुललाई सौन्दर्यीकरण गर्ने भएको छ। बालाजुस्थित विष्णुमती पुल सौन्दर्यीकरण गरी सौन्दर्यीकण कार्यक्रम शुरू गरेको कामपाले सोही पुललाई आधार मानेर अन्य पुलको पनि सौन्दर्यीकरण गर्न लागेको हो।

कामपा हरियाली प्रवद्र्धन तथा पार्क आयोजनाका निर्देशक नवराज थापाका अनुसार धोबीखोला, वागमती, विष्णुमती, मनोहरा र इच्छुमती पुलमाथि सौन्दर्यीकरण गर्न लागिएको हो। उहाँले यी सबै पुलको बारेमा अध्ययन गरी ड्रइङ डिजाइन तयार गरिरहेको बताउनुभयो।

आयोजनाले विष्णुमती पुलमा क्यारी निर्माण गरी सोमाथि २ फिट जाली बिच्छ्याएर लहरेफूल रोप्ने कार्य जारी राखेको छ। जाली राख्दा नदीमा फोहोर फ्याँक्न नमिल्ने व्यवस्था गर्न लागेको हो।

यो पुलको सौन्दर्यीकरण सकिएपछि अवस्था हेरेर अन्य पुलको पनि सौन्दर्यीकरण गर्ने जानकारी दिँदै आयोजनाका इन्जिनियर घनश्याम पौडेलले भन्नुभयो– ‘आयोजनाले सो पुल निर्माण गर्न करिब १० लाख रुपियाँ लाग्ने अनुमान गरेको छ।’

कामपाले पुल र पुलको परिसरमा सौन्दर्यीकरण गर्न १ करोड ४० लाख रुपियाँ विनियोजन गरेको छ। आयोजना प्रमुख थापाले पुलको अवस्था हेरेर पार्क, बगंैचा, रूख रोप्नेलगायतका सौन्दर्यीकरण गर्ने तयारी गरेको जानकारी दिनुभयो।

आयोजनाले धोबीखोला करिडोरमा रहेको कालोपुल, रातोपुल, निलोपुल, पहेँलो पुल, बिजुलीबजार, परोपकार, कोटेश्वर र शंखमूल पुलको एकैसाथ सौन्दर्यीकरण गर्ने तयारी गरेको छ।

यसअघि महानगरले बिजुलीबजार र ताहाचलको पुलमा बिजुलीले झिलिमिली बनाएको थियो। शहरी सौन्दर्यीकरण गर्न सबै पुलमा विशेष सजावट गर्ने तयारी थालिएको जानकारी दिँदै आयोजना प्रमुख थापाले भन्नुभयो – ‘सम्बन्धित वडा कार्यालयको सहयोगमा पुलमा कस्तो सौन्दर्यीकरण गर्ने भन्ने विषयमा सुझाव संकलन गरिरहेका छौं।’

यसैबीच कामपाले शहरी सौन्दर्यीकरण योजनाअन्तर्गत सभागृह क्षेत्र, कामपाको मुख्यालय रहेको काठमाडौं प्लाजा, पेप्सीकोलादेखि जडीबुटी नदी करिडोर सौन्दर्यीकरण गर्न टेन्डर आह्वान गरेको छ।

त्यस्तै, भृकुटीमण्डप र शहरका सबै क्षेत्रमा वृक्षरोपण गर्न थप फूलका बिरुवा खरिद गर्न लागेको छ। आयोजनाले चालु आवमा झण्डै १ लाख वृक्षरोपण सम्पन्न गरिसकेको छ।

महानगरले चालु आर्थिक वर्षभित्र महानगरका सबै पुल, आइल्याड र पार्कको सौन्दर्यीकरण र खुला क्षेत्रमा पार्क निर्माण सम्पन्न गरिसक्ने जनाएको छ।

आयोजनाले पार्क र सडक सफाइ गर्न ३ सयजना सफाइ कर्मचारी नियुक्ति गरिसकेको छ भने पार्क सौन्दर्यीकरण गर्न सबै क्षेत्रको रेखांकन र डिजाइन तयार गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्