नेकपा एमालेको संकल्प यात्रा बिहीबार कास्की आइपुग्ने



पोखरा ।

नेकपा एमालेको मध्य पहाडी पुष्पलाल लोकमार्ग ‘झुलाघाट—चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ मा रहेको टोली बिहीबार पोखरा आइपुग्ने भएको छ।

अध्यक्ष केपी शर्मा ओलीसहितको टोली मंसिर १४ गतेदेखि बैतडीबाट मध्यपहाडी लोकमार्गको यात्रामा छ । २१ गते पर्वतको सिमाना नयाँ पुलमा कास्कीको टोलीले स्वागत गर्नेछ । सोही दिन अन्नपूर्णा गाउँपालिका हुँदै हेमजाबाट पोखरा आएर बस्नेछ ।

भोलिपल्ट जिरो किलोमिटरबाट निस्केर अमरसिंहचोकबाट तालचोक हुँदै रूपाबाट लमजुङ छिर्नेछ । पोखरामा जनसभा भने हुने छैन । कुस्मामा हुने सभामा कास्कीबाट टोली सहभागी हुनेछ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा गुरुङले भने, ‘नयाँ पुलमा त्यही दिन दिउँसो ३ बजे स्वागत गरेपछि २२ गते बिहान रुपा गाउँपालिकाबाट लमजुङतर्फ बिदाइ गरिनेछ ।’ ओलीले २१ गते हेम्जामा र तालचोकमा छोटो सम्बोधन गर्नेछन् ।

संकल्प यात्रामा निस्केको टोलीलाई नयाँ पुल, अन्नपूर्ण गाउँपालिका नागडाँडा, मिलनचोक, अमरसिंह, तालबेसी, पिप्लेबजारलगायतमा स्वागत गर्ने तालिका रहेको नेकपा एमाले कास्की जिल्ला इन्चार्ज थममाया थापाले जानकारी दिइन् ।

बिहीबार साँझ अध्यक्ष ओलीसहितको टोली पोखरामै बास बस्नेछ । ओली बस्ने होटेलमा अन्तरसम्वाद हुनेछ । यही समयमा पोखरामा लोकमार्ग निर्माणमा देखिएको विवादबारे छलफल गर्ने एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले बताए ।

‘समस्या कतै छैन, कास्कीमा पोखरा महानगरपालिका वडा नं.१६ मा अलिअलि समस्या हो । यसलाई हामीले नै जटिल बनाएको हो,’ उनले भने, ‘विकासको नाममा राज्यले कसैलाई सुकुम्वासी बनाउँदैन । एलाइमेण्ट भइसकेर टेन्डरमा गइसकेको छ । यस्तोमा नयाँ विकल्प खोज्न मिल्दैन ।’

लोकमार्गलाई सहरसँग जोड्नुपर्ने भएकोले पोखरा झरेको उनले बताए । ओलीले विवादित क्षेत्रका सङ्घर्ष समितिसँग छलफल गर्ने उनले बताए । ‘यो यात्रा स्थानीयका समस्या, गुनासो, कहाँ के भइरहेको छ भन्ने सुन्ने नै हो । अध्यक्षज्यूलाई प्रभावितहरुको गुनासो राख्न हामी सक्दो प्रयास गर्ने नै छौं’, उनले भने, ‘उहाँले सम्वाद गर्नुहुन्छ ।’

अध्यक्ष गुरुङले विकासको नाममा राज्यले कसैलाई पनि सुकुम्बासी नबनाउने दाबी गरे । उनले भने, ‘जनतालाई समस्या नपर्ने गरी कमभन्दा कम क्षतिमा कसरी काम गर्न सकिन्छ, समस्या के छ भनेर जनताको कुरा सुनेर त्यसलाई विधिसम्मत समाधान गर्ने हो ।’

सम्झौता भएर ट्रेण्डरमा गइसकेको विषयलाई राजनीतिक दाउपेचको आधारमा तोडमोड गर्न खोज्न नहुने उनले सुनाए ।

पत्रकार सम्मेलनमा बोल्दै एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले देशमा संविधान विरोधी गतिविधि भैरहँदा सरकारले प्रतिवाद गर्न नसकेकोमा आक्रोश व्यक्त गरे । पाँच वर्षसम्म यो सरकार गए देश अस्तव्यस्त बन्ने उनको भनाई छ ।

एमाले स्थायी कमिटी सदस्य एवं कास्की जिल्ला इन्चार्ज थममाया थापाले विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा जनतासँग जवाफ खोज्न अभियान थालेको बताइन् । पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसरमा आयोजना गरिएकाले एमालेले यो यात्रालाई ‘हिरक जयन्ती’ को कार्यक्रम समेत मानेको छ । पहाडको विकास नभएसम्म सिंगो देशको विकास हुन नसक्ने भएको कारण समेत यात्राले महत्व राख्ने उनको भनाई छ ।

एमाले कास्की अध्यक्ष मनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन एमाले कास्कीका उपसचिव एवं प्रचार विभाग प्रमुख दर्शन लामाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्