निर्माण व्यवसायी विकास परिषदद्वारा भूकम्प प्रभावितलाई ३० लाख सहयोग



काठमाडौँ । 

निर्माण व्यवसायी विकास परिषदले भूकम्प प्रभावितलाई ३० लाख रकम सहयोग गर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको अध्यक्षतामा बसेको बैठकले राहत, पूर्ननिर्माण र शैक्षिक सामग्रीका लागि ३० लाख रकम सहयोग गर्ने निर्णय गरेको मन्त्रालयका सहसचिव रघुराम विष्टले बताएका छन् ।

‘राहत र पूर्ननिर्माणका लागि २५ लाख र विद्यालयमा शैक्षिक सामग्रीका लागि ५ लाख दिने निर्णय भएको छ’ सहसचिव विष्टले भने ‘निर्णय भएको रकम प्रधानमन्त्री दैविक प्रकोप सहायता कोषमा जम्मा हुनेछ ।

भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुम र सल्यान पुगेर फर्केलगतै मन्त्री ज्वालाले परिषदको बैठक बोलाएका हुन्  । चिसो मौसमका कारण भूकम्प प्रभावित क्षेत्रको जनजीवन कष्टकर बन्दै गएपछि मन्त्री ज्वालाले राहत र पुनर्स्थापनामा जोड दिएका छन् । तीन पटकभन्दा बढी भूकम्प प्रभावित क्षेत्रमा पुगिसकेका छन्।

मन्त्री ज्वालाले डेढ महिनाको पारिश्रमिक दिने यसअघि नै घोषणा गरिसकेका छन् भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव र सहसचिवले तीन दिन, उपसचिव र अधिकृतले दुई दिनको तलब लिने निर्णय भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्