बागलुङ-रुकुम सिमाना पातिहाल्नेमा भारी हिमपात

 संकल्प यात्रा प्रभावित हुँदैन : एमाले



 बागलुङ। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित १ सय ५० भन्दा बढी केन्द्रीय नेता सहितको टोली मङ्सिर २० गते विहान बागलुङ र रुकुमको सिमाना पातिहाल्ने आइपुग्ने कार्यक्रम रहेको छ ।
‘सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय’ भन्ने मुल नाराका साथ बैतडीको झुलाघाटदेखि यात्रासुरु गरेको टोलीलाई स्वागत सहितको व्यवस्थापनको लागि नेकपा एमाले बागलुङले तयारी तीव्र बनाएको छ ।

लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको सिमानामा पर्ने बागलुङको निसीखोला स्थित पातिहाल्नेमा यतिबेला स्वागत गेट बनाउँने काम चलिरहेको छ । तर, सोमबार बिहानदेखि यस क्षेत्रमा हिमपात सुरु भएको छ ।
समुन्द्र सतहदेखी ३ हजार मिटरको उचाइमा रहेको पातिहाल्नेमा हिमपातसँगै बढिरहेको चिसोका कारण यो स्थानमा स्वागत गर्ने कार्यक्रम प्रभावित हुन सक्ने नेकपा एमाले बागलुङका सचिव विष्णु भुषालले बताए ।

मंगलबार विहानसम्म हिमपात रोकिए र मौसम खुलेमा बुधबार पातीहाल्नेमै स्वागत गर्ने, हिमपात नरोकिए जेसिभीको सहायताले बाटो पन्छ्याएर निसीखोलाको झिवाखोलामा स्वागत गर्ने तयारी गरिएको सचिव भुषालले जानकारी दिए ।
वर्षा र हिमपातले कार्यक्रमका स्थान परिवर्तन भएपनि कार्यक्रम प्रभावित नहुने र व्यवस्थापनमा बागलुङ जिल्लाले कुनैपनि कमजोरी नगर्ने पार्टी अध्यक्ष हिरा केसीको भनाई छ ।

अहिलेसम्म मंसिर २० गते विहान रुकुम र बागलुङ जिल्लाको सिमाना पातिहाल्नेमा स्वागत, सोहीदिन निसीखोलाको झिवाखोलामा भेटघाट, बुर्तिवाङमा स्वागत सहित भेटघाट, बडिगाड गाउँपालिकामा स्वागत, वामी टक्सारमा स्वागत गरी सोही साँझ गलकोटमा स्वागत गरी त्यही बस्ने व्यवस्था मिलाईएको जिल्ला अध्यक्ष केसीले बताए । मौसमको प्रतिकुलता रहे पातिहाल्नेको कार्यक्रम बाहेक अन्य कार्यक्रम यथावत रहने उनकोे भनाई छ ।

२१ गते गलकोटबाट बागलुङ बजार प्रस्थान गर्दा घोडाबाधेमा स्वागत, बागलुङ बजारको लोकतान्त्रिक चोकमा सभा, कालिका मन्दिरको दर्शन र मालढुङ्गा बागलुङ जिल्लाबाट बिदाइ गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्