काठमाडौँ वरपरका जिल्लाको विकास गर्ने समय आयो : अर्थमन्त्री डा. महत



नुवाकोट।

अर्थमन्त्री डा प्रकाशशरण महतले अब काठमाडौँ वरिपरिका जिल्लाको विकासका लागि समय आएको बताएका छन् ।

आज नुवाकोटको पञ्चकन्या गाउँपालिकास्थित कविलास स्वास्थ्य चौकीको उद्घाटन गर्दै मन्त्री महतले भने, “काठमाडौँ बजार हो, नजिक छ, त्यहाँ खर्च गर्ने ठूलो जनसङ्ख्या पनि छ ।” “राजधानी काठमाडौँसँग जोडिएको नुवाकोट नजिक भएर पनि पछाडि परेको जिल्ला हो, टाढाका जिल्लाले आफूलाई तयार गर्नुपर्छ भनेर शिक्षाको चाँडै विकास भयो”, उनले भने, “त्यहाँका अगुवाले शिक्षामा लगानी गरे । लेखपढलाई प्राथमिकता दिए तर काठमाडौँ वरिपरिको आम्दानीको मूल स्रोत जग्गा जमिन थियो ।”

अर्थमन्त्रीले भने, “काठमाडौँमा राणाहरूका नजिक जो थिए, तिनलाई रिझाएबापत पुरस्कारका रूपमा जमिन माग्थे । उब्जनी सहजै काठमाडौँ पुर्याउन सकिने ठाउँमा उनीहरु जमिन माग्थे । काठमाडौँसँग जोडिएको उब्जाउ जमिन नुवाकोट हो । काठमाडौँ बसेर नुवाकोटको जमिन उपभोग गर्नेहरू धेरै भए ।”

“काभ्रे, धादिङ र नुवाकोटका जनताले प्रशस्त उब्जनी गर्ने र ठूलो हिस्सा काठमाडौँ पुर्याउने काममा केन्द्रित छन् । शिक्षाको विकास विशेषतः ०४६ पछि मात्र गति लिएको हो”, उनले भने, “काठमाडौँको नजिक र शासकको नजरमा परेर हिजो नुवाकोटका जनता रैती बनेका थिए ।” अब काठमाडौँबाट नुवाकोटलाई अझ नजिक बनाउनुपर्छ । काठमाडौँ–छहरे सुरुङमार्गको काम हामीले गरिरहेका छौँ । एक अर्ब बजेट पनि राखेका छौँ, सुरुङमार्ग जटिल काम हो । यसका लागि तयारी सबैभन्दा महत्त्वपूर्ण हुन्छ, तयारी सकिएपछि मात्र काम अघि बढ्छ । तर तयारीको काम देखिँदैन ।”

प्रतिक्रिया दिनुहोस्