एमालेले सरकार छोडेपछि देशमा अस्थिरता र अराजकता बढ्यो : ओली



काठमाडौँ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले सरकार छोडेपछि देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र फैलिएको बताएका छन् । शनिवार महाकाली–मेची अभियानअन्तर्गत अछाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। उनले एमालेले सरकार छोडेपछि भ्रष्टाचार, तस्करी, मौलाएको दाबी गरे ।

उनले भने, ‘म एमालेका नेता कार्यकर्ताहरुलाई भन्न चाहन्छु, अहिले पनि अरु पार्टीमा अलमलिएर रहेका साथीहरूलाई नेकपा एमालेमा आमन्त्रण गर्नुस् । एमालेले सरकार छोडेपछि देशको अवस्था के भयो ? सबैले देख्नुभएको छ । बुझ्नुभएको छ । देश ओरालो लागेको छ, देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र यस्तो फैलिएको छ । भ्रष्टाचार, तस्करी, मौलाएको छ । सरकारले गुण्डागर्दी र अपराधीहरूलाई संरक्षण गरेर त्यसको विकास भइरहेको छ । यस्तो अवस्थामा यस स्थितिबाट परिवर्तन गर्नका लागि हामीले देख्यौँ, नेकपा एमाले बाहेक अरू कुनै पार्टीले यो देशलाई अघि बढाउने कामको नेतृत्व गर्न सक्दैन ।’

अध्यक्ष ओलीले नेकपा एमालेको ध्येय नेपाल र नेपालीलाई समृद्ध बनाउने रहेको बताए। उनले समृद्ध नेपाल बनाउन सिङ्गै देशको विकास हुनुपर्ने उल्लेख गर्दै नेपाल जस्तो प्राकृतिक सुन्दरता, उर्वरता र खनिजहरूले सम्पन्नता भएको देश गरिब रहन सक्ने देश नभएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्