डोटी र अछाममा एमालेको समृद्धिका लागि संकल्प यात्रालाई भव्य स्वागत 



काठमाडौँ । 

नेकपा एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रालाई यात्रा आरम्भ भएको दिनदेखि नै स्थानीयले भव्य स्वागत गरेका छन् ।
एमालेले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बैतडीको झुलाघाटबाट शुभारम्भ गरेको  यात्रामा व्यापक जनसहभागिता जुटेको छ । एमालेको यात्रालाई स्थानीयले निक्कै चासोका साथ हेरेका छन् ।

यात्राको पहिलो दिन बैतडीमा आयोजित कार्यक्रममा देखिएको जनसहभागिताबाट उत्साहित बनेको एमाले नेतृत्वलाई दोस्रो दिन डडेलधुरा र डोटीमा देखिएको जनसमर्थनले थप उत्साहित बनाएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुक मार्फत नै व्यापक जनसहभागिताले आफूलाई थप उत्साहित बनाएको प्रतिक्रिया दिएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा समेत एमालेको अभियानमा ठुलो जनसहभागिता जुटेको थियो । शुक्रबार बिहान डडेल्धुरामा आयोजित कार्यक्रममा देखिएको जनसहभागिताले उत्साहित बनाएको एमालेको अभियान टोलीलाई डोटीमा पुग्दा देखिएको जनसहभागिताले थप उत्साहित बनाएको अभियानमा संलग्न नेताहरूले बताए ।

शुक्रबार साँझ डोटी बास बसेको अभियानको टोली शनिबार बिहानै त्यहाँबाट अछाम तर्फ अघि बढेको छ । डोटीबाट अछाम तर्फ लाग्ने क्रममा बिहानेदेखि नै देखिएको जनसहभागिताले एमाले नेताहरूलाई थप उत्साहित बनाएको छ ।

डोटीको सिलगढीमा बास बसेको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली आज डोटीका विभिन्न भाग हुँदै   अछाम पुगेको छ । सिलगढीबाट अघि बढेको टोली डोटीको साजघाट पुग्दा स्थानीयले भव्य स्वागत गरेका थिए । स्थानीयवासी सडकमा लाइन लागेर उभिएर एमाले टोलीको स्वागत गरेका थिए ।

त्यस्तै अछामको चौखुट्टेमा पुग्दा पनि एमाले संकल्प यात्राको टोलीलाई स्थानीयले भव्य स्वगत गरेका थिए । आफ्नो सांस्कृतिक पहिरनमा उपस्थित भएका महिलाहरूले समेत टोलीलाई स्वागत गरेका थिए । चौखुट्टेमा आयोजित संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले जनसहभागिताले आफूहरूलाई थप ऊर्जा प्रदान गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्