११ किलो सुन तस्करी प्रकरण : ३ जना धरौटीमा रिहा



काठमाडौं ।

चीनबाट दोलखा हुँदै ११ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका मध्ये तीनजना धरौटीमा रिहाभएका छन्। जिल्ला अदालत दोलखाका न्यायाधीश डिल्लीरत्न श्रेष्ठले शुक्रबार तीन जनालाई धरौटीमा रिहा गर्न आदेश दिएका हुन् । नौ जनालाई भने पुर्पक्षका लागि थुनामा पठाएको छ।

आलुको बोरामा सुन लुकाएर तस्करी गर्दैगर्दा दोलखा प्रहरीले बिगु गाउँपालिका–१ लमाबगरबाट ४ किलो, जामुने भन्ने ठाउँबाट ३ किलो र सुनसँगै पक्राउ परेकाहरुको वयानको आधारमा लामाबगरमा ढुंगा मुनि लुकाएको अवस्थामा थप ४ किलो गरी जम्मा ११ किलो सुन बरामद भएको थियो ।

सोही ११ किलो सुन बरामद प्रकरणमा अनुसन्धान गरी २६ जनाविरुद्ध अभियोगपत्र दायर भएको थियो ।

चिनियाँ नागरिकसँग मिलेर सुन तस्करीमा संलग्न महिमा माझीबाट १ करोड ७९ लाख ४० हजार रुपैयाँ, दीपेन्द्रराज शाक्यबाट ९३ लाख ५० हजार रुपैयाँ र तिलक विकबाट ८८ लाख रुपैयाँ धरौटी लिन अदालतले आदेश दिएको छ । महिमा विरुद्ध ३१ करोड ११ लाख ७० हजार ४४६ रुपैयाँ १५ पैसा विगो तथा दिपेन्द्र शाक्य र तिलक विकविरुद्ध २० करोड ७४ लाख ४६ हजार ९६४ रुपैयाँ १० पैसा विगो कायम गरी मुद्दा दायर भएको थियो ।

सोही समूहका दावा भन्ने आकार लामा, टासी भन्ने गेङ्रु, नुर्बु छिरिङ शेर्पा, पेम्बा तामाङ, च्याङ्बा भन्ने चस्मान तामाङ, सनद प्रधान, लालबहादुर तामाङ, केशर तामाङ र माधव कुमार मगरलाई थुनुवा पुर्जी दिई थुनामा राख्न कारागार कार्यालय पठाइदिन अदालतको आदेश छ । केशर तामाङ र माधव कुमार मगरले ११ किलो सुन बोरामा राखेर ओसार पसार गर्दै लुकाइछिपाई राखेको अवस्थामा बरामद भएको थियो ।

यसैगरी सुनमाला तामाङ र चेतनाथ न्यौपानेलाई भने साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्