अस्थायी आवासका लागि रकम निकासा



रूकुम पश्चिम।

रूकुम पश्चिममा भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताबापतको रकम निकासा शुरू गर्न लागिएको छ । पहिलो किस्ताबापतको रकम स्थानीय जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको कोषमा पठाउन लागिएको हो।

जिल्ला विपद् व्यवस्थापन समितिले त्रिवेणी गाउँपालिकामा अस्थायी आवास निर्माणका लागि ६४ घरपरिवारका लागि पहिलो किस्ताबापतको रकम पठाउने निर्णय गरेको छ । भूकम्पबाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि–२०८० (दोस्रो संशोधन समेत) परिच्छेद २ को ३ (१) बमोजिम उक्त रकम निकासा गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले जानकारी दिनुभयो । बडुवालका अनुसार पहिलो किस्तामा एक घरपरिवारले पाउनुपर्ने २५ हजार रुपियाँ स्थानीय जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको कोषमा पहिलो किस्तामा १६ लाख रकम पठाइने छ । अस्थायी आवास पूर्ण निर्माण भएपछि बाँकी रकम पठाइने उहाँको भनाइ छ ।

भूकम्पबाट घर क्षति भएकालाई अस्थायी आवास निर्माणका लागि सरकारले ५० हजार रुपियाँ राहत उपलब्ध गराउने निर्णय गरिसकेको छ । त्रिवेणीबाहेक अन्य पालिकाबाट कुन–कुन घर परिवारले रकम पाउने भन्ने विवरण नआइसकेकाले ती पालिकाका लागि रकम निकासा भने हुन सकेको छैन ।

यसैबीच ‘जाजरकोट भूकम्प’ बाट प्रभावित बस्तीहरूमा १ हजार अस्थायी आवास ‘घर–टहरा’ निर्माण अभियानमा योगदान गर्ने नेपाली कांग्रेसको निर्णयअनुसार रूकुम (पश्चिम) को सानो भेरी गाउँपालिका वडा नं. ४ पुरानो गाउँमा गौनी विको घरबाट सुरुवात गरी ३ स्थानमा अस्थायी घर टहरा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अभियानमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय मानबहादुर नेपाली र गुरु बराल, नेपाली कांग्रेस कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर रोकाय, रूकुम (पश्चिम) का सभापति प्रेमप्रकाश ओली, युवा नेता शिव आचार्यलगायतका नेता तथा पार्टी सदस्यहरू संलग्न रहेको विज्ञप्तिमा जनाइएको छ ।

कांग्रेसले दुःखको बेलामा योगदान गर्नेहरूको उच्च प्रशंशा गर्दै अभियानमा थप क्रियाशील भई निरन्तर लागि पर्न अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्