विद्यार्थीको बिचल्ली

त्रिपालमुनि घर, खुला चौरमा विद्यालय



जाजरकोट ।

दशैंतिहारपछि लामो बिदा भएका विद्यालय सञ्चालनमा आए पनि पठनपाठन नियामित हुन सकेको छैन । कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पले विद्यालयका भवन क्षतिग्रस्त भएपछि विद्यार्थी बिचल्लीमा परेका छन् । तीन हप्ताअघि विद्यालय सञ्चालन भए पनि विनाशकारी भूकम्पले घरबासविहीन विद्यार्थी त्रिपालमुनिको घरमा बास र खुला चौरमा पठनपाठन गर्नुपरेको हो ।

भुइँचालोले बालबालिका, सुत्केरी, गर्भवती महिला, ज्येष्ठ नागरिक तथा विद्यार्थीलाई ठूलो असर पारेको छ । घर भत्किएर किताबकापी भग्नावशेषमै पुरिएपछि चिन्तित बनेका उनीहरू कक्षाकोठा पनि बस्न नमिल्ने भएपछि विद्यार्थीको पढाइ प्रभावित भएको छ । बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ म्याग्निच्युटको भुइँचालोले ४ सय २३ विद्यालयमा अध्ययनरत ७५ हजार ८ सय ५५ विद्यार्थी प्रभावित भएका छन् ।

रेकोट गाउँपालिका–२ लिम्सास्थित वीरेन्द्र ऐश्वर्य माध्यमिक विद्यालयका शिक्षक चन्द्रबहादुर खड्काका अनुसार दशैंतिहार अघि १ हजार २ सय विद्यार्थी नियमित विद्यालय उपस्थित हुने गरे पनि भूकम्पपछि १ सय विद्यार्थी विद्यालय आउने गरेको बताउनुभयो । उहाँले बल्लबल्ल पढ्न आएका विद्यार्थी पनि खुला चौरमै बसेर फर्किने गरेको बताउनुभयो । भूकम्पपछि अस्थायी टहरासमेत निर्माण नहुँदा विद्यार्थी बिचल्लीमा परेको खड्का बताउनुहन्छ । अस्थायी टहरा दिने प्रतिबद्धता गरेका दाताले सामग्री नदिएपछि खुला चौरमा पठनपाठन गरिएको छ । ४४ वटा विद्यालयका ३ सय ७१ कक्षाकोठा पूर्ण क्षति भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताउनुभयो । उहाँले सबै विद्यालयले खुला चौरमा पठनपाठन शुरू गरेको बताउनुभयो । १ सय ७३ वटा अस्थायी सिकाइ केन्द्र निर्माण गर्नुपर्ने भए पनि हालसम्म निर्माण गर्न नसकेको उहाँको भनाइ थियो ।

७१ वटा सामुदायिक, ३ वटा संस्थागत गरी ७४ विद्यालयमा भएको नलगाड नगरपालिकामा ५७ वटा विद्यालय क्षतिग्रस्त भएको शिक्षा शाखा प्रमुख बलवीर विकले जानकारी दिनुभयो । चारवटा अस्थायी सिकाइ केन्द्र निर्माण गरिएको छ । नलगाड नगरपालिका–७ दल्लीस्थित त्रिभुवन माध्यमिक विद्यालय, वडानम्बर १ चिउरी र पालिका विद्यालयमा अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन शुरू गरिएको छ भने सूर्योदय माध्यमिक विद्यालय कैनाको सिकाइ केन्द्र निर्माणको तयारीमा रहेको छ । उहाँले अस्थायी सिकाइ केन्द्र नभएका विद्यालयमा टेन्ट र त्रिपालबाट पठनपानठलाई नियामित गरेको बताउनुभयो । नलगाड नगरपालिका १, ३ र ६ का विद्यालय पूर्ण रूपमा क्षति भएका छन् ।

भेरी नगरपालिकाका शिक्षा शाखाका प्रमुख अमृत पुनले ५६ वटा विद्यालयमध्ये १९ वटा विद्यालयका ६३ वटा कक्षाकोठा पूर्ण क्षति भएका छन् । भेरी नगरपालिका १, २, ३ र ४ का विद्यालयमा क्षति पुगेको अन्य वडाका विद्यालय आंशिक क्षति भएको शिक्षा शाखा प्रमुख पुनले बताउनुभयो । विद्यालयले अस्थायी सिकाइ केन्द्र निर्माणको काममा लागेको उहाँ बताउनुहुन्छ । भूकम्पले त्रसित भएका बालबालिकालाई मनोबल, ज्ञान, सीप, क्षमता बढाउने, भूकम्प जाँदैन डराउनु पर्दैन भन्दै उनीहरूसँगै खेल्न घुलमिल हुन आग्रह गरेको पुनले बताउनुभयो ।

भेरी नगरपालिका–३ माथिल्लो थाप्लेस्थित हनुमान प्राथमिक विद्यालयको भवन क्षतिग्रस्त भएपछि पठनपाठन शुरू हुन सकेको छैन । विद्यालय सञ्चालनका लागि अस्थायी सिकाइ केन्द्र निर्माण हुन नसकेपछि पठनपाठन हुन सकेको छैन ।

भेरी नगरपालिका–४ स्थित भेरी प्राथमिक विद्यालयको फिल्डमा नागरिकले टेन्ट तथा त्रिपाल लगाएर बसेपछि विद्यालय सञ्चालन हुन सकेको छैन । विद्यालयको फिल्डबाहेक पीडित बस्ने उपयुक्त खुला चौर नभएपछि विद्यालयमा बस्नुपरेको छ । सरकार तथा दातृ निकायले विद्यालयलाई दिने प्रतिबद्धता गरेका अस्थायी सिकाइ केन्द्र समयमा नदिँदा पठनपाठनमा समस्या परेको छ ।

प्रतिक्रिया दिनुहोस्