भकारी बुनेरै मनग्य आम्दानी



 नवलपरासी ।

उमेरले सत्तरी टेकेका धनबहादुर गाहाको दैनिकी भकारी बुनेर बित्ने गरेको छ । गाउँका युवा–युवती कामको खोजीमा विदेश भौंतारीरहँदा उहाँ भने घरमै बसेर आम्दानी लिइरहनुभएको छ ।

धनबहादुरले घरमै बसेर दशहाते भकारी २ दिनमा तयार गर्नुहुन्छ । हातको २ सयका दरले एउटै भकारीको २ हजार मूल्य लिने गरेको उहाँको कथन छ । भकारी, कोठो, डोको र डालो बुन्न चाहिने बाँस स्थानीय खोल्साखोल्सी र बारीछेउ सहजै पाइने गरेको छ । पहिला–पहिला खोरिया खन्ने, बाख्रा, गाईबस्तु पाल्ने, अदुवा, पिँडालु, सख्खर रोप्ने र त्यसैबाट आम्दानी लिने गरेको धन बहादुर सुनाउनुहुन्छ ।

कुनै बेला नजिकैको खोरियामा आफ्नै हातले छरेको जुनेलो र मकै भित्र्याउँदाको क्षण उहाँको मानसपटलमा ताजै छ । ‘लौ हेर्नुस् बाबु, ऊ त्यही हो असम फलेको मकै’, नजिकै रहेको घरको बार्दली देखाउँदै धनबहादुरले भन्नुभयो– ‘तादी खोरिया लाउँदा ४ सुली मकै र १८ मुरी जुनेलो यही घर भित्रन्थ्यो के गर्नु अहिले खोरिया फाड्न पाइन्न, पाखा बारीको मकै त भुटेर खाँदै सकिन्छ । ऊ बेला सुलीभरिको मकैले वर्ष छिचोल्थ्यो । त्यसमाथि जुनेलोको खाजा, जुनेलोको जाँड, जुनेलोकै भात जति खाए पनि हुन्थ्यो ।’

धनबहादुरले जुनेलोको विशेषता बताउँदै ओभानो खाजा भुटेको जुनेलो खेतीपाती लाउँदा खाजा दिनुपर्ने एउटै खेतालाले २ पाथीसम्म खाइदिने गरेको बतानुहुन्छ । पूर्वी नवलपरासीको देवचुली–६ बन्दीपुर निवासी धनबहादुर अहिले परापूर्व कालदेखि गरिने जुनेलो खेती मासिँदै गएकोमा चिन्ता व्यक्त गर्नुहुन्छ ।

त्यसो त खोरिया प्रथा हटेसँगै बन्दीपुरबासी वैकल्पिक खेती र पेसातर्फ लागेका छन् । करिव ५० घर मगर बस्ती रहेको बन्दीपुर गाउँमा स्थानीयले धान मकै, कोदो, तोरीलगायत भुइँकटहर तथा अम्रिसो बाली लगाएर आम्दानी लिने गरेका छन् । कुनै बेला पूर्व–पश्चिमको मुख्य राजमार्गबाट नजिकै भएर पनि दुर्गम जस्तै रहेको यो गाउँमा अहिले पक्की सडकसँगै मोटर पुगेको छ ।

बाह्रैमहिना शीतल हावापानी र हरियाली प्राकृतिक वातावरणले कीर्तिपुर, बन्दीपुर र हर्कपुर गाउँमा आन्तरिक पर्यटन मौलाएको छ ।
महाभारत र शिवालिक पहाड बीचको भू–धरतलमा अवस्थित यो क्षेत्रले मुख्य सडकबाट करिव १० किमिको दूरीमै पहाडको अनुभूति दिने हुँदा यहाँ पर्यटकीय गतिविधि बढ्न थालेको हो ।

बाह्रैमास भुइँकटर खेती, अर्गानिक मह, लोकल हाँस–कुखुरा, खान र स्थानीय खोलाको कलकलाउँदो पानीमा खेल्न, नुहाउन मानिसहरू यहाँ आउने गरेको बन्दिपुरका पदम गाहा बताउनुहुन्छ ।

जिल्लाकै उच्च १ हजार ९ सय ३४ मिटर अग्लो देवचुली डाँडाको प्रवेशद्वार कीर्तिपुरमा पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षण हेतु कात्तिक १५ देखि स्थानीय देवचुली जेसिसले साताव्यापी महोत्सवको आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्