सुगमले मदिराले मातिएर दर्शकलाई माइक्रोफोन प्रहार गरेपछि गालीको वर्षा (भिडियोसहित)



काठमाडौँ ।

विभिन्न कार्यक्रमका लागि प्रस्तुति दिन पुग्ने क्रममा कतिपय कलाकार उतै लुक्ने र कतिपय कलाकारले उतै मान्छे छोडेर आउने गर्न थालेपछि अस्ट्रेलियाको सरकारले नेपालीलाई भिसा दिन कडाइ गरिरहेकै बेला गायक सुगम पोखरेलले त्यहाँ  आयोजित कन्सर्टमा मदिराले मातिएर काण्ड मच्चाएका छन् ।

गायक पोखरेलले हालै अस्ट्रेलियाको एडलेडमा आयोजित कन्सर्टमा मदिराले मातिएर दर्शकलाई माइक्रोफोन र बोतलले हानेर काण्ड मच्चाएका  हुन्। आफ्नै कन्सर्ट हेर्न आएका दर्शकलाई उनले गरेको दुर्व्यवहारको भिडियो अहिले विभिन्न सामाजिक सञ्जालमा भाइरल भएको छ। मदिरा सेवनका कारण कन्सर्टका क्रममा हल्लिएको शरीर लठ्ठिएको आवाजले बोलिरहेका सुगमले जाजरकोट भूकम्पमा परी ज्यान गएकाको लागि मौन धारणको लागि अनुरोध गरेको तथा दर्शकले खासै चासो नदिएपछि उनले एकजना दर्शकलाई माइकले हानेको भिडियोमा देखिन्छ।

 भिडियोमा देखिएअनुसार सुगमले माइकले हानेर नपुगी ‘माँ कसम’ भन्दै स्टेजबाट दर्शकदीर्घातिर हाम फालेर एक युवातिर जाइलाग्न खोजेका देखिन्छ।
‘मैले भर्खर सुने’ नेपालमा एक सय ३० जना बित्नुभएको छ। ओई ब्रुस लीको भाइ हल्ला नगर्नु न। हाम्रो घरको मान्छे पनि हुन सक्छन्। काठमाडौंमा हरेक घरको मान्छे हुन्छन् आजकल। एकचोटी उहाँहरूको लागि मौन धारण गरौँ“ न’ दर्शकलाई सुगमले यसो भन्दै गर्दा उनी स्वयंचाहिं मदिराले लठ्ठ देखिन्छन्।

सुगम हल्लामा रमाइरहेका दर्शकलाई इंगित गर्दै फेरि भन्छन् ‘साइलेन्स।’ एकै छिनमा उनी गीत गुनगुनाउन थाल्छन् ‘बहिनी कमला, विमला त पोइला गइन् दोकान समाल।’ अनि फेरि भन्छन् ‘एक छिन एक छिन। नेपालमा धेरै जना बित्नुभएको छ। आज मैले पोस्ट गर्दा खेरी मलाई बडो नरमाइलो लागिराको छ। वि बिलंग टु द्याट कन्ट्री।’

उनी एक्कासि आक्रोशित हुन्छन्। पछाडि उभिइरहेका एक दर्शकलाई इंगित गरेर औंला ठड्याउँदै भन्छन् ‘ए भाइ, तिमीलाई माँ  कसम झट्टी हान्छु फेरि। यसलाई बोला त यो भाइलाई। आई निड टु टल्क विद हिम, कम अन। यो यो तालुवाला भाइलाई।’ उनी स्टेजबाट तल झर्छन्। अगाडि रोमा रहेका युवालाई माइक्रोफोनले मुखमा हान्छन्। सुरक्षा गार्ड र आयोजकले रोकेपछि उनले पछाडिका युवालाई दर्शक दीर्घाबाटै माइक्रोफोनले झटारो हान्छन्। सुरक्षा गार्ड र आयोजकले सम्हालेर ब्याकस्टेज तर्फ लान खोजेपछि उनी जर्बजस्ती गर्दै पुनः स्टेजतिर लाग्छन्। स्टेज पुगेपछि पोखरेलले फेरी पानीको बोतलको झटारो हान्छन्। त्यसपछि उनलाई स्टेजको पछाडि लगेको भिडियोमा देखिन्छ।

सुगमको यो हर्कतलाई लिएर उनको चर्को आलोचना भइरहेको छ। कतिपय कलाकारले नै उनको यो व्यवहारको विरोध गरेका छन्। कतिपयले सुगमको यसप्रकारको व्यवहरले आगामी दिनमा अष्ट्रेलियामा कार्यक्रम आयोजना गर्नसमेत समस्या पर्ने औँल्याएका छन्।

सुगमले भने भुल सुधार गर्नुको साटो आफ्नो  बचाउ गर्ने कोसिस गरेका छन्। ‘म नेपाली हुँ । देशलाई दुख्दा मलाई पनि दुख्छ। अहिले भुईँचालोका कारण देश दुखिरहेको छ। हिजोको कार्यक्रममा मौन धारण गह्रौँभन्दा के भयो त्यो तपाईँहरूले भिडियोमा देख्नुभएकै छ। मेरो एक्सनको रियाक्सन त्यसकै कारणले मात्र थियो। कसैको मनलाई चित्त दुखाएँ  भने क्षमा चाहन्छु। तर, जहिले पनि सङ्गीतको सेवा गर्नेछु’ सुगमले टिकटक भिडियोमा भनेका छन्।

प्रतिक्रिया दिनुहोस्