लगानीकर्ता मर्कामा

सोनापुर सिमेन्टको सेयर किन्ने कोही भेटिएनन्



काठमाडौं । 

सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडका लगानीकर्ताहरू सेयर बिक्री गर्ने मात्रै देखिएका छन् । आइतबारबाट कारोबार शुरू भएको कम्पनीका लगानीकर्ताहरू सेयर बिक्री गरेर पन्छिने मनस्थितिमा देखिन्छन् ।

हरेक दिन लाखाैं कित्ता बिक्रीमा रहने तर खरिदकर्ता एक जना पनि नहुँदा कम्पनीको सेयर मूल्य निरन्तर ओरालो लागेको छ । जसका कारण धितोपत्रको दोस्रो बजारमा कारोबार शुरू भएदेखि नै लगातार नकारात्मक सर्किट लाग्दै आएको छ । शंकास्पद वित्तीय विवरण देखाएर सर्वसाधारणलाई प्रिमियम भाउमा सेयर बिक्री गरेको कम्पनीप्रति लगानीकर्ता विश्वस्त हुन नसक्दा बिक्री चाप देखिएको सेयर विश्लेषकहरूको भनाइ छ ।

आइतबार ३ सय ५० रुपियाँमा कारोबार खुले पनि बिक्रीचाप बढ्दा १० प्रतिशत घटेर ३ सय १५ रुपियाँमा झरेको थियो । सोमबार पनि बजार खुलेलगत्तै घटेको यस कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर २ सय ८३ रुपियाँमा सीमित भएको छ । पहिलो दिन नै कम्पनीको ४ लाख कित्ताभन्दा बढी बिक्रीमा रहेको थियो । त्यस्तै, सोमबार ३ लाख ९० हजार ७ सय ४८ कित्ता सेयर बिक्रीमा छ । सेयर लगानीकर्ताले १० प्रतिशत घटाएर सेयर बिक्रीमा राख्दा पनि खरिद गर्ने लगानीकर्ता भेटिएका छैनन् ।

सर्वसाधारण लगानीकर्तालाई गुमराहमा राखेर कम्पनीले आईपीओ बिक्री गर्न सफल भए पनि धितोपत्रको दोस्रो बजारमा खरिदकर्ता नभेटिँदा सर्वसाधारण लगानीकर्ता मर्कामा परेका छन् । कम्पनीले शंकास्पद वित्तीय विवरण पेस गरेर नियमक निकायलाई प्रलोभनमा पारेर लगानीकर्तालाई गुमराहमा पारेको विषयमा नेपाल समाचारपत्रले लगातार समाचार प्रकाशित गरेको थियो । तर, नियमक निकाय मौन बस्दा सोनापुर सिमेन्टमा लगानी गरेका लाखौं लगानीकर्ताको करोडौं रुपियाँ जोखिममा परेको छ ।

यसअघि उद्योग प्रभावित क्षेत्रका बासिन्दाका निम्ति निष्कासन गरिएको १५ लाख कित्ता सेयर उनीहरूले बहिष्कार गर्दै ९७ हजार कित्ता मात्रै आवेदन परेको थियो । स्थानीयले बहिष्कार गरेको सेयर पनि सर्वसाधारणलाई थप गरी सय रुपियाँ अंकित मूल्यमा १ सय ३७ रुपियाँ ५८ पैसा प्रिमियम मूल्य थपेर कुल २ सय ३७ रुपियाँ ५८ पैसामा आईपीओ बिक्री भएको थियो । सर्वसाधारणलाई ९७ लाख ३२ हजार ५ सय ४४ कित्ता बिक्री गरेर आएको रकमले कम्पनीले विभिन्न ९ वटा बैंकको ऋण तिर्ने योजना बनाएको थियो ।

आर्थिक वर्ष २०७५-७६ सम्म १४ करोड ८३ लाख ३१ हजार रुपियाँ सञ्चित घाटामा रहेको कम्पनीले साधारण सेयर निस्कासन गर्ने उद्देश्यले आव २०७६-७७ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरेर आर्थिक वर्ष २०७६-७७, आर्थिक वर्ष २०७७-७८ र आर्थिक वर्ष २०७८-७९ को ८० करोड रुपियाँ ब्याजलाई पुँजीकरण गरेर नाफा देखाएको हो । त्यसकै आधारमा नेपाल धितोपत्र बोर्डबाट प्रिमियम भाउमा आईपीओ निष्कासन गर्ने अनुमति पाएको हो । कम्पनीले लाभांश दिन नसक्ने भएकाले महँगो मूल्यमा दोस्रो बजारमा लगानीकर्ता चासो नदेखिएको हो ।

याे पनि 

सोनापुरको १ करोड ११ लाख कित्ता शेयर बिक्री गर्न मुस्किल

घाटाको कम्पनीलाई नाफा देखाएर सोनापुरले सर्वसाधारणबाट रकम उठाउँदै

सोनापुरले आईपीओ म्याद किन थप्यो ?

सोनापुर सिमेन्टको आईपीओ स्थानीयद्वारा बहिष्कार, साढे १५ लाख कित्तामध्ये ७ हजार मात्रै बिक्री

सोनापुर सिमेन्टको आईपीओ स्थानीयद्वारा बहिष्कार, सर्वसाधारणको टाउकोमा थोपरिँदै

सोनापुर सिमेन्टको ‘बहिष्कृत आईपीओ’ अब सर्वसाधारणलाई

प्रतिक्रिया दिनुहोस्