दशैंको मुखमा बाजुरेली भोकै



बाजुरा । सर्वाधिक खाद्य संकट झेलिरहेका बाजुरेलीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंतिहारको मुखमा पनि जनतालाई खाद्यान्न आपूर्ति गर्न सकेको छैन । मागअनुसारको चामल उपलब्ध नगराउँदा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखाले टाँसेको ब्यानर पनि निकालेर कोठामा थन्क्याएको छ ।

सहुलियत छुट मूल्य पसल २०८० नाम दिएको ब्यानर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखाको वालमा टाँसिएको थियो । ‘यही २०८० सालको बडादशैं, तिहार तथा छठ पर्वका लागि असोज २१ गते देखि २०८० मंसिर ३ गतेसम्म सहुलियत मूल्यको पसल सञ्चालन हुन गइरहेकाले सम्पूर्ण उपभोक्तावर्गमा सहर्ष जानकारीका लागि हार्दिक अनुरोध गर्दछौं’ ब्यानरमा लेखिएको थियो । सो ब्यानरमा बिक्री मूल्य प्रति केजी ९२ रुपियाँ, छुट ७ रुपियाँ, सहुलियत बिक्री मूल्य ८५ रुपियाँ उल्लेख थियो । तर सो मूल्य जिरा मसिनो चामलको थियो ।

प्रतिकिलो ५४ रुपियाँमा मोटो चामल खाइरहेका ग्राहकका लागि ९२ रुपियाँ तिर्ने हैसियत त थिएन । माथिबाट पठाएको निर्देशन मान्नै प¥यो । जनता खाद्यान्न किन्न आउँछन् सूचना पढ्छन् फर्किन्छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी मिमिटेडले जनताको मागअनुसारको चामल पु¥याउन नसक्दा सहुलियत दरको सूचना ब्यानर हटाउनुपरेको शाखा प्रमुख मेघराज ओझाले बताउनुभयो ।

–भरी गोदाम, रित्तै हात
–जनताको माग मोटा चामल
–जिरा मसिनो किन्न सकेनन्
–एकाएक हटाइयो ब्यानर

‘जनताको माग मोटो चामल हो । माथि (केन्द्र) बाट मसिनो चामल आयो । हामीले जे पठायो त्यही बिक्री गर्ने हो’ –शाखा प्रमुख ओझाले भन्नुुभयो । वार्षिक न्यून आय भएका बाजुरेली नागरिकले प्रतिकिलो ९२ रुपियाँमा मसिनो चामल किनेर खान सक्ने हैसियत नभएको भन्दै चौतर्फी विरोध भएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी बाजुराले एकाएक ब्यानर हटाएको हो ।

‘केन्द्रको निर्देशनअनुसार बाजुरामा पनि छुट सुविधामा चामल बिक्री गरिने ब्यानर टाँसेका थियौं, गोदाममा भएको ५ सय क्विन्टल जिरा मसिनो चामल उपभोक्ताले किन्न सकेनन्, मोटो चामल हामीसँग छैन त्यो भन्दा त ब्यानर निकालिदियौंं’ –खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखाका एक कर्मचारीले भने ।

‘दिनमा सय रुपियाँ कमाइ छैन । गिट्टी बालुवा चालेर गुजारा चलाउने हामी जस्ताले किलोको ९० रुपियाँ तिरेर मसिनो चामल खाने शक्ति छैन’ –बडिमालिका नगरपालिका–९ की कन्तरी दमार्इंले भन्नुभयो । ‘हुनेखानेका लागि दशैं आयो हामी गरिबका लागि दशा आयो, न खेती छ, न त खाद्यमा चामल छ जहान परिवार कसरी पाल्ने ?’ –कन्तरीको दुःखेसो छ ।

बाजुराको कोल्टी क्षेत्र झन् खाद्यान्न संकट हुने भेग हो । कोल्टी खाद्य डिपोमा चामल सकिएको दुई महिना बित्यो । ‘खाद्यमा चामल नहुँदा बजारबाट महँगो चामल किनेर पेट पाल्न बाध्य छौं त्यो पनि पाइँदैन । खाद्यका चामल गोदाम रित्तियो भन्दै कर्मचारीले सूचना टाँस गरी लुकेका छन्’ –स्थानीय पूर्णलाल विष्टको भनाइ छ ।

जिल्लाकै सर्वाधिक विकट कुवाडी बिक्री केन्द्र र मुक्तीकोट बिक्री केन्द्र पनि गत असारदेखि बन्द छ । मुक्तीकोटबाट स्वीइज्युला बजार पुग्न चार घण्टा पैदल दूरी पर्छ, आउनजान एक दिन लाग्छ । ‘बजारमा पनि चामल पाइँदैन यसपालिको दशैंमा एक छाक भात खान पनि नपाइने भयो’ –मुक्तीकोटकी सानीमाया विकले भन्नुभयो । .

‘आर्थिक वर्ष २०८०÷०८१ मा कोल्टी डिपोका लागि ४ हजार ५ सय क्विन्टल, मार्तडी शाखाका लागि ४ हजार क्विन्टल, कुवाडी बिक्री केन्द्रका लागि २ हजार ५ सय क्विन्टल र मुक्तीकोट डिपोका लागि ५ सय क्विन्टल चामल स्वीकृत भएको छ । तर ठेक्का सम्झौता भएको छैन असोज ३१ गते सम्म ठेक्का सम्झौता हुन्छ । त्यसपछि ढुवानी प्रक्रियामा जान्छ’ –शाखा प्रमुख ओझाले भन्नुभयो ।

बाजुरामा गत आर्थिक वर्ष ०७९÷८० मा मार्तडीमा ९ हजार, कोल्टीमा ८ हजार, कुवाडीमा ३ हजार र मुक्तिकोटमा ५ सय क्विन्टल मोटा चामल बिक्री भएको थियो ।

देशभरका शहरबजारमा सहुलियत मूल्यमा खाद्यान्नलगायत खसीबोका बिक्री भइरहेका बेला बाजुरामा भने खाद्य व्यापार कम्पनीले यहाँका नागरिकले थेग्न नसक्ने उच्च मूल्यको चामल पठाएको छ । ५ सय ६० क्विन्टल जिरा मसिनो चामलमा हालसम्म १५ क्विन्टल चामल मात्र बिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्