खसीबोका च्याङ्ग्रा बिक्री शुरु- परीक्षण नगरिएको चौपाया नकिन्न आग्रह



काठमाडौं । पशु सेवा विभागले उपत्यकावासीलाई स्वस्थ मासु खुवाउन दशैंको लागि ल्याइएका चौपायाको स्वास्थ्य परीक्षण शुरु गरेको छ । विभागले सबै नागरिकलाई स्वस्थ्य मासु मात्र खान आग्रह गर्दै सोमबारबाट स्वास्थ्य परीक्षणसहित बिक्रि शुरु भएको जनाएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सुचना अधिकारी सर्मिला न्यौपाने सुवेदीका अनुसार खाद्य व्यवस्थाले २ हजार खसीबोका र १ हजारको संख्यामा च्याङग्रा बिक्रि गर्न लागेको छ । यो वर्ष खसीबोका प्रतिकेजी ६ सय ७० रुपियाँ र च्याङग्रा प्रतिकेजी १२ सय ५० रुपियामा बिक्रि गर्ने निर्णय गरेको छ । गत वर्ष खसीबोका प्रतिकेजी ६ सय ८० र च्याङग्रा प्रतिकेजी १ हजार २ सय ६० रुपियामा बिक्रि गरिएको थियो । सुचना अधिकारी न्यौपाने सुवेदीले दाङ, वीरगंज, हेटौडा, धादिङ लगायतका जिल्लाबाट ल्याइएका खसीबोका र तिब्बत हँुदै रसुवाबाट ल्याइएका च्याङ्ग्रा बिक्री गर्न लागिएको जानकारी दिनुभयो ।

खाद्य व्यवस्थाले खसीबोका र च्याङ्ग्रा विक्री शुरु गरेसँगै विभागले कम्पनीको थापाथलीस्थित बिक्रि केन्द्र र उपत्यकाका विभिन्न बिक्रि केन्द्रमा पशु चौपायाको स्वास्थ्य परीक्षण शुरु गरेको हो ।

केन्द्रीय रिफरल पशु चिकित्सालयका पशु चिकित्सक खितबहादुर श्रेष्ठले उपत्यकाको ११ स्थानमा चौपायाको स्वास्थ्य परीक्षण शुरु गरेको जानकारी दिनुभयो । उहाँले नेपाल समाचारपत्रसँग् भन्नुभयो– ‘शुरुमा चौपायाको ज्वरो परीक्षण गर्नेछौ, त्यसपछि आँखा, अनि पखाला लागे वा नलागेको परीक्षण गर्नेछौ ।’ उहाँका अनुसार प्रत्येक टोलीमा २ जना पशुचिकित्सक सहित ५ जना प्राबिधिक र स्थानीय तहको प्रहरी खटिनेछन् ।

टोलीले आँखा रातो भएका, खोरेत लागेका र अन्य जनावरले टोके नटोकेको विषयमा परीक्षण गर्नेछ । चिकित्सकले स्वस्थ रहेको चौपायाको सिङमा हरियो र अस्वस्थको सिङमा रातो रङ लगाउने व्यवस्था गरेको छ । पशु चिकित्सक श्रेष्ठले भन्नुभयो– ‘रातो रङ लगाएको चौपायाको मासु खानै नहुने भन्ने होइन, पशुचिकित्सकको केही दिनको निगरानीपछि स्वस्थ देखिएका ती चौपायामा फेरी हरियो रङ लगाएर बिक्रीको लागि खुला गरिन्छ ।’ बिभागले सोमबारदेखि अष्टमीको दिन अर्थात कार्तिक ५ गते बिहान ७ देखि ११ र दिउँसो ३ देखि साढे ५ बजेसम्म दशैको लागि बिक्रि गर्न ल्याइएका चौपायको स्वास्थ्य परीक्षण गर्ने जनाएको छ ।

चाडपर्वका अवसरमा उपभोक्तामा स्वस्थ्यकर एवं गुणस्तरीय मासु बिक्री वितरण गराउने उद्देश्यले पशुपक्षीको स्वास्थ्य परीक्षणका लागि टोली परिचालन गरिएको विभागको भनाइ छ ।

टोलीले कलंकी खसी बजार, बल्खु, कालिमाटी माछा बजार, चोभार नाका, चाल्नाखेल राँगा बजार, टुकुचा खसी बजार, खाद्य संस्थान, लोकन्थली खसी बजार, सल्लाघारी च्याङग्रा बजार, बालाजु बाइपास नाका, लगनखेल, धापाखेल, आकाशे धारा, थानकोट, दहचोक र मूलपानीमा टोली परिचालित हुने जानकारी दिए ।

गत वर्ष घटस्थापनादेखि नवमीका दिनसम्म मासुका लागि कूल ५४ हजार पशु काठमाडौँ भित्रिएका थिए । यसैगरी स्थानीय तह अर्थात संघ, प्रदेश र स्थानीय तहको संयुक्त टोलीले खसीबोकालगायत चौपाया भित्रने उपत्यकाको नाकामा अनुगमन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्