विद्रोह गरेका कार्की बने कोशीको मुख्यमन्त्री

दलका नेता थापाको राजीनामा



विराटनगर । नेपाली कांग्रेसको संस्थागत निर्णयलाई अस्वीकार गर्दै विद्रोह गरेर नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सहयोगमा कोशी प्रदेशको छैटौं मुख्यमन्त्रीमा केदार कार्की नियुक्त हुनुभएको छ ।

संविधानको धारा १६८ को ५ ले दिएको सुविधा प्रयोग गर्दै उहाँले मुख्यमन्त्री बन्न अख्तियार गरेको बाटोलाई कांग्रेसकै बहुमत हिस्साले गलत भनेका छन् भने उहाँकै समूहका नेताहरूले पनि अराजनीति र अनैतिक भन्नुभएको थियो । पार्टीको संस्थागत निर्णय मात्र हैन, आफ्नै समूहका गुरुराज घिमिरेहरूको आलोचनालाई बेवास्ता गर्दै ‘जसरी पनि मुख्यमन्त्री बन्ने’ बाटोमा अगाडि बढ्नुभएका कार्कीले त्यसमा सफलता पनि पाउनुभएको छ ।

कोशी प्रदेशमा सरकार निर्माणको सकस पर्दा गठबन्धनमा रहेका अन्य दल र नेताहरूले मुख्यमन्त्रीकै लागि गठबन्धन नतोड्ने अडान लिएका थिए । गठबन्धन जसरी पनि फुटाउने रणनीति लिएको एमालेले नेकपा (एकीकृत समाजवादी)का राजेन्द्र राईलाई पनि गठबन्धन तोडेर आए मुख्यमन्त्री बनाउने आश्वासन दिएको थियो । माओवादी केन्द्रका दुर्गा चापागार्इंलाई पनि एमालेले त्यस्तो आश्वासन दिएको थियो । तर, उनीहरू पार्टीको निर्णय र गठबन्धन भन्दै मुख्यमन्त्री बन्ने बाटोमा गएनन् । तर, कार्की भने पार्टीको संस्थापन पक्षले पेलेको बहानामा डा. शेखर कोइरालाको आड पाएर अगाडि बढ्नुभएको हो ।

कोशीको मुख्यमन्त्री बनेर उद्धव थापा दुईपटक बर्खास्तीमा परेपछि एमालेसहितको सरकार बनाउने कुरा कांग्रेसमा उठेको थियो । तर, कांग्रेस इतरको नेतृत्व अगाडि सार्दा राप्रपाले सहयोग गर्ने देखिएको भन्दै गठबन्धनले माओवादीका इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय लिएको थियो । गठबन्धनको निर्णय अगाडि कार्कीले उद्धब थापा असफल भएकाले तेस्रोपटक बनाउनुहुन्न भन्दै गठबन्धनबाट अर्को विकल्प आए स्वीकार गर्ने बताउनुभएको थियो । ‘आङ्बोजी वा मेरो दाबी गठबन्धनमा छ’, उहाँले भन्नुभएको थियो– ‘गठबन्धनले जसलाई अगाडि सारे पनि बहुमत पुग्छ, हामी स्वीकारेर अगाडि बढ्छौं ।’ तर, उहाँले आफ्नै त्यो प्रतिबद्धता लत्याएर एमालेको साथमा अगाडि बढ्नुभयो । कार्कीको मुख्यमन्त्री बन्ने लालसा र एमालेको जसरी भएपनि गठबन्धन फुटाउने प्रयासबीच मेल खाँदा कोशीमा नयाँ परिस्थिति निर्माण भएको हो । नेपाली कांग्रेसका २९ सांसदमध्ये कार्कीको पक्षमा ८ जना उभिएपछि एमालेले आफ्ना ३९ सांसदको समर्थन दिएर उहाँलाई मुख्यमन्त्री बनाइदियो ।

दलका नेता थापाको राजीनामा

कोशी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिनुभएको छ । विराटनगरस्थित कांग्रेस प्रदेश कार्यालयमा शनिबार दिउँसो पत्रकार सम्मेलन गर्दै उहाँले राजीनामाको घोषणा गर्नुभएको हो ।

उहाँले भन्नुभयो– ‘पछिल्लो समय कोशी प्रदेश सरकार निर्माण प्रक्रियामा भएका विकसित घट्नाक्रमले गर्दा नैतिक रूपमा मैले संसदीय दलको नेताको रूपमा बसिरहन उपयुक्त नभएको महसुस गरे । आजको मितिदेखि लागू हुने गरी मैले कांग्रेस कोशी प्रदेश संसदीय दलको नेताको पदबाट राजीनामा दिइएको जानकारी गराउँदै दलको नीति, सिद्धान्त र आदर्शप्रति प्रतिबद्ध रहँदै आगामी दिनमा क्रियाशील रहिरहने छु ।’ उहाँले नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई बधाई ज्ञापन पनि गर्नुभएको छ । यसअघि कार्की पक्षले दलको नेता फेर्ने तयारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्