सत्ता गठबन्धनमा फुट ल्याउने एमाले रणनीति फिक्का



काठमाडौं । कोशी प्रदेश सरकार गठन प्रक्रियालाई लिएर सत्ता गठबन्धनमा फुट ल्याउने प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को रणनीति तत्कालका लागि असफल भएको छ । कोशीको प्रमुख दल एमालेको मुख्य सहयोगमा मुख्यमन्त्री बनेका कांग्रेस नेता केदार कार्कीलाई गठबन्धन दलका शीर्ष नेताहरूले नै विश्वासको मतका साथ सहयोग गरेर जाने निर्णय लिएसँगै एमालेको रणनीति फिक्का भएको हो ।

गठबन्धनका शीर्ष नेताहरूले कांग्रेसभित्र उद्धव थापाको विकल्पमा माओवादीलाई मुख्यमन्त्री दिने निर्णयसँगै कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला समूहले कोशी प्रदेशमा एमालेसँगको सहकार्य रोजेर कार्कीलाई मुख्यमन्त्री बनाउन सफल भएका थिए । कार्की मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेस नेता डा. शेखर कोइरालाबीच सहमति भएको छ । नेताहरूले सहमति पत्रमा उल्लेख गरेका छन्– ‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं । यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौं ।’

सत्ता गठबन्धनका तीन नेताहरूले कोशीमा मुख्यमन्त्री नियुक्तिको विषयले गठबन्धन कमजोर नहुने स्पष्ट पारेका छन् । एमालेले सत्ता गठबन्धनमा फुटको विजारोपण कोशीबाट गरेको चर्चा चलिरहँदा प्रचण्ड, देउवा र शेखर कोइरालाले गठबन्धनमा प्रतिबद्ध रहने सहमति गरेपछि एमालेको रणनीतिमा फिक्कापन देखिएको कतिपय नेताहरूले बताउने गरेका छन् ।

तीन नेताको सहमतिलगत्तै शनिबार प्रधानमन्त्री ‘प्रचण्ड’ले भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै कोशीका मुख्यमन्त्री गठबन्धनकै मुख्यमन्त्री भएको बताउनुभयो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई गठबन्धनले विश्वासको मत दिने बताउँदै प्रधानमन्त्रीले भन्नुभयो– ‘कोशीको समस्या समाधान गरिएको छ । अन्ततः यसले गठबन्धनलाई बलियो बनाउने छ । अब कार्कीजी मुख्यमन्त्री हुनुभएको छ । उहाँ हामी सबैको साझा मुख्यमन्त्री हो ।’ मुख्यमन्त्री नियुक्ति प्रक्रियाले गठबन्धनमा कुनै असर नपर्ने दाहालले विश्वास व्यक्त गर्नुभयो । केदार कार्कीलाई गठबन्धनकै उम्मेदवारका रूपमा लिइएको उहाँले स्पष्ट पर्नुभयो ।

प्रधानमन्त्रीले दाहालले कोशी प्रदेशमा सर्वपक्षीय सरकार बन्ने सम्भावनासमेत नरहेको जिकिर गर्नुभयो । प्रधानमन्त्री र गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका शीर्ष नेताबीच भएको निर्णयले गठबन्धनमा असर नपर्ने निर्णयले एमालेको रणनीतिलाई फिक्का सावित गरेको नेपाली कांग्रेसका सूचना तथा सञ्चार विभाग प्रमुख मीन विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो– ‘एमालेले गठबन्धनभित्र फुट ल्याउनकै लागि कोशी प्रदेशमा गठबन्धनको निर्णयविरुद्ध गठबन्धनकै सदस्यलाई उठाएको थियो । अन्त्यमा गठबन्धनको शीर्ष नेताहरूले जो मुख्यमन्त्री हुनुभयो उहाँलाई नै सहयोग गरेर जाने निर्णय नै गरिसकेपछि एमालेको रणनीति मुख्यमन्त्री बनाउन सफल भए पनि गठबन्धनमा फुट ल्याउन विफल भएको छ ।’

नेकपा एमालेले भने गठबन्धनले गैरसंवैधानिक ढंंगले व्यक्ति तोकेर मुख्यमन्त्री अघि सारेपछि संविधानको धारा १६८ को (५) अनुसार एमालेको केदार कार्कीलाई मुख्यमन्त्रीमा सहयोग गरेको बताएको छ । एमाले अब विस्तारै प्रदेश हुँदै केन्द्रीय सरकारसम्म यसै गरी जाने नेकपा एमालेका पोलिटब्युरो सदस्य विशाल भट्टराईले बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘हामी कोशी प्रदेशबाट सरकारमा प्रवेश गर्छौं ।

केन्द्रीय सरकारमा समेत कांग्रेससँग सहकार्य गरेर जाने बाटो खुलेको छ । यही सरकार धेरै समय रह्यो भने जनताका पक्षमा केही पनि हुन सक्दैन भन्ने कुरा कांग्रेसका एक समूहका साथीहरूलाई राम्रोसँग थाहा छ । अहिले हामीले सत्यका पक्षमा रहेर उहाँहरूलाई साथ दिएका हौं ।’ यद्यपि, आगामी राजनीतिक उतारचढावका सन्दर्भमा वर्तमान सरकारको आलोचनामा उत्रिएका कांग्रेसकै संस्थापनइतर समूहका नेताहरूको भूमिका कस्तो हुन्छ त्यसले समेत केही फेरबदल ल्याउन सक्ने राजनीतिक विश्लेषकहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्