इजरायलबाट २ सय ५३ नेपाली विद्यार्थी फर्किए



काठमाडौं । इजरायलमा जारी रहेको प्यालेस्टिनी लडाकु समूहको आक्रमणका कारण अलपत्र परेका नेपाली विद्यार्थीहरूमध्ये २ सय ५३ जना स्वदेश फर्केका छन् ।

बिहीबार बिहान ४ बजे इजरायल गएको नेपाल वायु सेवा निगमको जहाज ती विद्यार्थीहरू बोकेर शुक्रबार बिहान १ बजेतिर काठमाडौं अवतरण भएको हो । नेपाली विद्यार्थीहरूलाई स्वदेश फर्काउन परराष्ट्र मन्त्री नारायणप्रसाद (एनपी) साउदले आफैं इजरायल जानुभएको थियो ।

नेपाल वायुसेवा निगमका क्याप्टेन श्रवण रिजालको नेतृत्वमा उद्धार उडान भरेको उक्त जहाजले इजरायलको तेल अभिभस्थित बेन गुरियनन विमानस्थलबाट अलपत्र परेका नेपाली विद्यार्थीलाई काठमाडौंमा अवतरण गराएको हो ।

सरकारले नेपाल फर्कन चाहनेहरूका लागि अनलाइन आवेदन खुलाएपछि ३ सय ५० भन्दा बढीको आवेदन परिसकेको छ । तीमध्ये नेपाल आउन चाहेका २ सय ५३ जना नेपाली विद्यार्थीलाई बिहीबार सरकारले उद्धार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्