कामपाले तीन महिनाभित्र पाँच हजार आठ सय कुकुरको बन्ध्याकरण गर्ने

रेबिजविरुद्ध खोप दिइने



काठमाडौं । काठमाडौं महानगरपालिकाले तीन महिनाभित्र ५ हजार ८ सय भाले र पोथी कुकुरको बन्ध्याकरण गर्ने भएको छ । महानगरभित्र रहेका २२ हजार कुकुरमध्ये बाँकी रहेका ५ हजार ८ सयको बन्ध्याकरण गर्ने योजनाअनुसार हिजो मंगलबारबाट काम शुरू गरेको छ । हालसम्म करिब १७ हजार भाले र पोथी कुकुरको बन्ध्याकरण गरिसकेको कामपाले जनाएको छ ।

बन्ध्याकरणसँगै बन्ध्याकरण भएका र नभएका सबै कुकुरलाई रेबिजविरुद्धको खोप लगाउने कार्यक्रम शुरू गरेको छ । कामपा कृषि तथा पशुपक्षी विभाग प्रमुख डा. अवधेश झाले तीन महिनाभित्र काम सक्ने गरी ९ वटा संस्थाले बन्ध्याकरण र भ्याक्सिन शुरू गरेको जानकारी दिनुभयो । पहिलो चरणमा कामपा वडा नं ४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२ का नौवटा वडाबाट भाले र पोथी कुकुरको बन्ध्याकरण र भ्याक्सिन शुरू गरेको विभाग प्रमुख डा. झाले बताउनुभयो ।

–३ महिनामा ५ हजार ८ सय कुकुरको बन्ध्याकरण गरिने
–१७ हजार कुकुरको बन्ध्याकरण सम्पन्न
–कामपाको कुकुर घटाउने उपाय

उहाँका अनुसार बन्ध्याकरण भइसकेका भाले र पोथी कुकुरलाई भ्याक्सिन र बन्ध्याकरण नभएका कुकुरलाई बन्ध्याकरण गरी रेबिजविरुद्ध खोप दिन शुरू भएको हो । विभागीय प्रमुख झाले भन्नुभयो– ‘महानगरको कार्यपालिकाको बैठकले कुकुर बिरालो भ्याक्सिनेसन तथा अभिलेखीकरण कार्यविधि–२०८० मा राजधानीका सबै कुकुरलाई बन्ध्याकरण र रेबिजविरुद्ध खोप स्वीकृत गरी काम शुरू गरेका हौं ।’

महानगरमा भेट फर योर पेट, मण्डला भेटेरिनरी अस्पताल, स्नेहा केयर, नेसनल जुलोसिस एन्ड फुड हाइजनिक रिसर्च सेन्टर, क्याट नेपाल, अक्सा नेपाल र ऐनिमल नेपाल र पशुुपंक्षीप्रति निर्दयता रोकावट नेपालले बन्ध्याकरण र खोप लगाउन स्वीकृति लिएका छन् ।

ती संस्थालाई आवश्यकताका आधारमा भ्याक्सिन र बन्ध्याकरणको जिम्मा दिइने कामपाले बताएको छ । एउटा वडामा काम सक्नेबित्तिकै सन्तोषजनक भएको प्रमाणित भएमा ती संस्थालाई फेरि काम दिन सक्ने गरी योजना तयार भएको विभागीय प्रमुख झाले बताउनुभयो ।

कामपाले संस्थालाई बन्ध्याकरण र भ्याक्सिनबापत एउटा कुकुरलाई २ हजार ५ सय र भ्याक्सिन मात्र लगाए २ सय रुपियाँ दिने गरी सम्झौता भएको छ । यसअघि २०७३ सालमा मनुमित्र कार्यक्रम शुरू गरेर हालसम्म करिब १७ हजार कुकुरको बन्ध्याकरण गरिसकेको छ । महानगरमा कुकुरको संख्या घटाउन र सम्भावित दुर्घटनाबाट जोगाउन कुकुरको संख्या घटाउन लागेको कामपाको भनाइ छ ।

कामपाले भ्याक्सिन र बन्ध्याकरणसँगै सबै कुकुर र बिरालोको अभिलेखीकरण गर्ने तयारी गरेको छ । उहाँले कामपाका ३२ वटै वडावासीलाई कुकुर व्यवस्थापन, कुकुरलाई गर्ने व्यवहार र समुदायलाई स्वामित्व ग्रहण गराउने योजनाअनुसार कार्यक्रम सुरुवात गरेको जानकारी दिनुभयो । वडावासीको सहभागितामा कुकुर वडा व्यवस्थापन समिति गठन गरेर कुुकुरको अवस्थाबारे जानकारी गर्ने योजना तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्