मेनुकाले रुवाइन् इन्डियन आइडलका निर्णायकलाई



नेपालकी दृष्टिविहीन गायिका मेनुका पौडेलले भारतीय गायन रियालिटी शो इन्डियन आइडल सिजन १४ को अडिसनमा आफ्नो जादुमय स्वरका कारण धेरैको मन जितेकी छिन्।

झापाकी २५ वर्षीया मेनुकाले जादुमयी स्वरबाट गोल्डेन माइकसमेत जितेकी छिन्। मेनुकाको प्रस्तुति देखेर इन्डियन आइडलका निर्णायकहरू श्रेया घोषाल विशाल दतलानी र कुमार सानु भाव विभोर भएका थिए। मेनुकाले शास्त्रीय भजन तुम्हारे बिना हमारे कोनो नही गाउँदै गर्दा श्रेया निकै भावविह्वल भएकी थिइन्। शोमा मेनुकाको प्रस्तुतिपछि एकछिन सन्नाटा छाएको थियो। त्यसपछि सबै निर्णायकले उठेर ताली बजाउँदै उनको गायन कलाप्रति सम्मान भाव दर्शाएका थिए।

मेनुकाको प्रस्तुतिपछि निर्णायक विशाल दतलानीले आफूले पहिलोपटक संगीतलाई आँखा अगाडि देखेको बताएका थिए। ‘हामी संगीतकारहरू जे चिजलाई पुज्छौँ, त्यो आज आँखा अगाडि देखिरहेका छौँ। श्रेया र म रोइरहेका छौँ। यसको मतलब हामीले संगीतलाई मनैदेखि माफी माग्नुपर्छ’ शोमा दतलानीले भनेका थिए। मेनकाले आफूलाई विशालको संगीतमा गीत गाउन मन भएको खुलाएपछि विशालले यदि आफ्नो भाग्य रहेछ भने अवश्य सहकार्य गर्ने बताएका थिए। श्रेयाले मेनकाको स्वरमा ईश्वर रहेको भन्दै प्रशंसा गरेकी थिइन्। ‘तिमी के हौ तिमी आफैलाई थाहा छैन। मलाई इन्डियन आइडलमा कसैले पनि यति राम्रोसँग गाएको छ जस्तो लाग्दैन’ श्रेयाको विश्लेषण थियो। अर्का निर्णायक गायक कुमार सानुले मेनुकाले आफ्नो लागि धेरै काम गरेको भन्दै अबदेखि आफ्नो संगीत फरक हुने र त्यसको कारण मेनुका भएको बताएका थिए।

गाउनुभन्दा अघि मेनुकाले आफ्नोबारे बताउने क्रममा आफू नेपालबाट एक्लै इन्डियन आइडलमा भाग लिन भारत पुगेको बताएकी थिइन्। ‘गायनको अलावा म सबै काम गर्छु, जुन सामान्य मानिसले गर्छन्। किनकि, मैले बाल्यकालदेखि नै जिन्दगीमा आत्मनिर्भर हुनुपर्छ भन्ने सिकेकी छु। मलाई ड्राइभिङ गर्ने सौख छ, तर सक्दिनँ। हुन त साधारण मानिस पनि प्लेन चलाउन सक्दैनन्’ मेनुकाले सुनाएकी थिइन्।

मेनुकाले यसभन्दा अघि १८ वर्षको उमेरमा २०७४ सालमा नेपाल आइडलमा भाग लिएकी थिइन्। जसमा उनी टप ११ बाट बाहिरिएकी थिइन्। त्यस्तै, २०७५ सालमा भारतीय रियालिटी शो सारेगममा समेत भाग लिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्