आलमको मुद्दा पेसी चढ्दै थन्किँदै 



रौतहट। 

पूर्वमन्त्री अफताब आलम सहित ११ जना प्रतिवादी रहेको मुद्दा  जिल्ला अदालत गौरमा पेसी  चढ्दै थन्किँदै गरेको छ । लापरबाहीपूर्वक काम गरी ज्यान मारेको, विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धि कसुर मुद्दाको  पेसी  १३औँ  पटक चढे पनि प्रतिवादीको कानुन व्यवसायी र सरकारी वकिलको कार्यालयबाट स्थगित हुने गरेको छ । चार बर्षदेखि पुर्पक्षको लागि आलम कारागारमा रहेका छन् । आलमको मुद्दाको पेसी  बिहीबार रहेपनि जिल्ला सरकारी वकिल कार्यालयले स्थगित गरेको हो ।

०७६ कार्तिक १८ गते जिल्ला अदालत गौरमा आलम सहित ११ जनाविरुद्ध दायर भएको मुद्दाको  १३ औ पटक पेसी  चढे पनि फैसला हुन सकेको छैन । संबिधान सभाको निर्वाचनको अघिल्लो दिन २०६४ साल चैत २७ गते आलमका काका शेष इद्रिसको गोठमा बम विस्फोट हुँदा घाइते तथा मृत्यु भएकालाई ज्युँदै इँटा भट्टामा जलाएर मारेको आरोपमा घटना भएको १२ वर्षपछि प्रहरीले आलम लाई ०७६ असोज २६ गते पक्राउ गरेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयले कात्तिक १८ गते नेता आलमसहित  ११ जनाविरुद्ध जिल्ला अदालत गौरमा अभियोगपत्र दायर गरेपछि भएको बहस र सुनवाइबाट जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासले आलमलार्ई मुद्दा टुङ्गो नलागेसम्मका लागि कात्तिक २९ गते जेल पठाउने निर्णय गरेको हो ।

आलमविरुद्ध ३२ वर्ष कैद सजाय माग दाबीसहित तीन ओटा मुद्दा चलाइएको थियो । जिल्ला सरकारी वकिल कार्यालय गौरका जिल्ला न्यायधिबक्ता बद्री कुमार कार्कीले जाहेरवालाको कानुन व्यवसायी नभएका कारण पेसीबाट मुद्दा  हटाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्