ब्याडमिन्टन क्वार्टरफाइनलमा, फुटबल बराबरीमा



हाङझाउ । जारी १९औं एसियाली खेलकुदमा नेपाली पुरुष टिम ब्याडमिन्टनको क्वार्टरफाइनलमा पुग्दा नेपाली महिला फुटबल टोलीले बंगलादेशसँग बराबरी खेलेको छ ।

बिनजियाङ जिम्नाजियम कोर्टमा बिहीबार भएको अन्तिम १६ को खेलमा नेपाल मंगोलियालाई ३–१ ले हराउँदै क्वार्टरफाइनलमा पुगेको हो । नेपालका प्रिन्स दाहालले मंगोलियाका गेरेलसुख जार्गलसाइ खानलाई तथा सुनिल जोशीले खुबितुगुल्दर ब्यामभाजभलाई समान २–० को सेटमा हराए । प्रिन्सले २१–८, २१–१४ र सुनिल २१–११, २१–७ ले हराउँदै अग्रता बनाए ।

तर, विष्णु कटुवालले एकलमा नै सुमियासुरेन एनखबातसँग २–१ ले पराजित भएपछि मंगोलियाले पुनरागमन गरेको थियो । यद्यपि, प्रिन्स दाहाल र विष्णु कटुवालको जोडीले जोल्जाया मुनखबातार र एनखबात ओलोनबायरको जोडीलाई २–० को सेटमा हराउँदै मंगोलियाको योजना सफल हुन दिएनन् । प्रिन्स र विष्णुको जोडीले मंगोलियाको जोडीलाई २१–८, २१–९ ले हरायो ।

महिला टिम ब्याडमिन्टनमा भने माल्दिभ्ससँग ३–१ ले पराजित भएको छ । महिला एकलमा रसिला महर्जन माल्दिभ्सकी नभाह माथिमाथ रजाकसँग २४–२१, १९–२१ र २१–१३ ले पराजित भएपछि नेपाली महिला टोली सुरुमा नै पछि प¥यो ।

दोस्रो खेलमा नङ्सल तामाङ पनि नाबिहा अमिनाथसँग २१–१६ र २१–१० ले हारेपछि माल्दिभ्स जित नजिक पुग्यो । महिला एकलको अर्को खेलमा अनुमाया राईले अफनान रसिदलाई २१–९ र २१–११ ले हराउँदै पुनरागमनको संकेत गरिन् । तर, महिला डबल्समा अनुमाया र रसिलाको जोडी माल्दिभ्सकी नभाह र नाबिहाको जोडीसँग २१–१६ र २१–१० ले पराजित भएपछि नेपाली महिला टोलीले हार बेहो¥यो ।

त्यसैगरी नेपालले १९औं एसियाडको महिला फुटबलमा बिहीबार बंगलादेशसँग १–१ गोलअन्तरको बराबरी खेल्यो । रेखा पौडेलले खेलको अन्त्यतिर गोल गरेपछि नेपालले बंगलादेशसँग बराबरी गरेको हो । सबिना खातुनले ४४औं मिनेटमा गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफमा पछि परेको नेपालका लागि रेखाले ८२औं मिनेटमा बराबरी गोल गर्दै खेलमा फर्काइन् ।

नेपाल र बंगलादेशले यस अघि नै दुई खेलमा हार बेहोरेकोले यो खेल प्रतिष्ठाको लागि मात्र थियो । दुवै टोली यसअघि जापान र भियतनामसँग पराजित भएका थिए । नेपाली महिला फुटबल टोली पहिलो ेपटक एसियाडमा सहभागी भएको हो ।

त्यसैगरी गल्फमा भने नेपालले सन्तोसजनक प्रदर्शन गरेको छ । व्यक्तिगत स्पर्धामा नेपालले बिहीबार सन्तोसजनक खेल प्रदर्शन गरेको हो । पार ७२ को वेस्ट लेक इन्टरनेसनल गल्फ कोर्समा पहिलो दिन शुक्रबहादुर राईले दुई अन्डर ७० खेले । उनी समग्रमा ३१औं स्थानमा छन् । नेपालले पदकको आशा गरेको सद्भाव आचार्यले एक अन्डर ७१ र सुवास तामाङले इभन पार ७२ मा पहिलो दिनको खेल सकाए । सद्भाव समग्रमा ३८औं र सुवास ४७औं स्थानमा छन् । दुई ओभर ७४ खेलेका युवराज भुजेल ५८औं स्थानमा छन् ।

महिला एकलतर्फ सुस्मा सिग्देल १६ ओभर ८८ स्कोरका साथ समग्रमा ३६औं स्थानमा छिन् । २० ओभर ९२ खेलेकी कस्मिरा शाह समग्रमा ३८औं स्थानमा छिन् ।

त्यस्तै, नेपालका बक्सर रबिन थापा बिहीबार उत्तर कोरियाका सो चोनरियोङसँग पराजित भएका छन् । हान्झाओ जिम्नाजियममा भएको बक्सिङमा पुरुष ४५–५१ केजी तौलसमूहको अन्तिम १६ को खेलमा थापा उत्तर कोरियाका बक्सर चोनरियोङसँग ५–० ले पराजित भएका हुन् । पहिलो खेलमा इन्डोनेसियाका कोइबानु डियोलाई हराएर जारी एसियाडमा बिहीबारसम्म एक फाइट जित्ने उनी पहिलो बक्सर बनेका हुन् । लामो समय विशेष प्रशिक्षण गरेको बक्सिङमा नेपालका १३ खेलाडीको चुनौती तय थियो र अब दुई खेलाडीले खेल्न बाँकी छ ।

त्यसैगरी नेपालको पुरुष स्क्वास भारतीय टोलीसँग पराजित भयो । एचओसी स्क्वास कोर्टमा बिहीबार भएको पुरुष टिम गेममा नेपाली टोली भारतसँग ३–० ले पराजित भएको हो । सिंगल्सको पहिलो खेलमा अमृत थापामगरले भारतका अभय सिंहसँग ११–२, ११–४ र ११–१ ले हार बेहोरे । अर्को खेलमा अराहन्त केशर सिंहले महेश मान्गोनकरसँग ११–२, ११–३ र ११–३ ले पराजित भएपछि भारतले २–० अग्रता लियो । तेस्रो खेलमा पनि अमिर ब्लोनले हरिन्दर पाल सिंहसँग ११–१, ११–२ र ११–६ ले भएपछि भारतले ३–० को सोझो सेटमा नतिजा आफ्नो बनायो ।

त्यस्तै पौडीतर्फ नेपालकी अनुशिया तन्डुकार हिट चरणबाटै बाहिरिइन् । महिला ५० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा उनले २९.५३ सेकेन्डमा निर्धारित दूरी पूरा गरेकी थिइन् । हिट एकमा प्रतिस्पर्धा गरेकी अनुशियाले आप्नो हिटमा तेस्रो स्थानमा रहेपनि अघिल्लो चरणमा पुग्न सकिनन् । उनी समग्रमा २६औं स्थानमा रहे ।

टेबल टेनिसतर्फ नविता श्रेष्ठ र सिक्का सुवाल श्रेष्ठ पराजित भएका छन् । महिला सिंगल्सतर्फ नविता अन्तिम ३२ को खेलमा भारतकी मनिका बात्रासँग ४–० ले पराजित भइन् । यस्तै सिक्का जापानकी मिउ हिरानोसँग ४–० ले नै पराजित भइन् । त्यस्तै, महिला डबल्समा पनि नविता र सिक्काकै जोडी पराजित भयो ।

प्रतिक्रिया दिनुहोस्