आयुर्वेदको विकासका लागि कार्ययोजना बनाएर अगाडि बढ्नु पर्छ : स्वास्थ्यमन्त्री बस्नेत



काठमाडौं। 

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेदको विकासका लागि ठोस कार्ययोजना बनाएर अगाडि बढ्नु पर्ने अवस्था रहेको बताएका छन् । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले मंगलबार कीर्तिपुरमा आयोजना गरेको पञ्चकर्म चिकित्सा सम्बन्धी आधारभूत तालिम एवं कार्यशालको उद्घाटन समारोहमा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले आयुर्वेदको विकास गर्नका लागि गफ भन्दा आफूलाई ठोस कार्ययोजना चाहिएको बताए ।

मन्त्री बस्नेतले भने, ‘आयुर्वेदको विकासका लागि यस्तो गर्न सकिन्छ, उस्तो गर्न सकिन्छ भनेर भएन । ठोस कार्ययोजना लिएर आउनु पर्‍यो । त्यसमा मेरो सहयोग रहन्छ ।’ जति आयुर्वेदको विकास भयो त्यति नै नेपाली जनताका लागि राम्रो हुने बताउँदै मन्त्री बस्नेतले साइड इफेक्ट नहुने आयुर्वेदिक औषधीको पहुँच  बढाउनु पर्नेमा जोड दिए ।

आयुर्वेदिक महत्त्व भएका जडीबुटीलाई खोस्टोको भाउमा विदेशीलाई बेच्ने तर, पछि त्यही जडीबुटी औषधी बनेपछि अमृतको भाउमा किन्नु पर्ने अवस्थाको अन्त गर्नका लागि आयुर्वेदको क्षेत्रका विज्ञहरुले कार्ययोजना बनाएर अगाडि बढ्नु आवश्यक रहेको मन्त्री बस्नेतले बताए । स्वास्थ्य क्षेत्रमा व्याप्त वेथितिको अन्त्य गर्न आफू लागिपरेको बताउँदै मन्त्री बस्नेतले पहुँचको भरमा दशकौंदेखि राजधानी बाहिर जान नचाहेका चिकित्सक र स्वास्थ्यकर्मीलाई आफूले काज फिर्ता गरेर दरवन्दी भएकै ठाउँमा पठाएको दावी गरे । स्वास्थ्य बीमामा  बेतिथि बढेको सबैतिरबाट गुनासो आएपछि स्वास्थ्य मन्त्रालयले कार्यकारी निर्देशकलाई स्पष्टीकरण सोधेको स्मरण गर्दै स्पष्टीकरण सोधेपछि अगाडि मिति राखेर अस्पतालहरुलाई दिनु पर्ने शोधभर्ना दिएको जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा. रामआधार यादवले औषधीविहीन थेरापीको रुपमा पञ्चकर्म चिकित्सालाई लिइने गरेको बताउँदै पञ्चकर्मले दुखाई सम्बन्धी धेरैजसो रोगहरुको उपचार गर्न सकिने दावी गरे । डा. यादवले तालिम केन्द्रले प्रदान गरिरहेको सेवाको विषयमा जानकारी गराउँदै उपचार, अनुसन्धान र तालिम मार्फत केन्द्रले आयुर्वेदको विकासका लागि काम गरिरहेको बताए । तालिममा देशका विभिन्न प्रदेशका आयुर्वेद क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्