माया काया जुल



पुस्तौँपुस्ता अनि बाजे–बाबुबाट पनि सानैदेखि सुनिने ‘माया काया जुल’ भन्ने वाक्य मेरो मानसपटलमा अझै ताजै रहेको छ । यो लोकोक्ति, अर्ति, उपदेश, उखान वा टुक्काका रुपमा बेलाबेलामा प्रयोग गर्ने गरिन्छ । नेवारहरुको जनजिब्रोमा गुञ्जिने यस वाणीलाई उपदेशको रुपमा पनि लिने गरिन्छ, जसको अर्थ ‘मायाले गर्दा शरीर नै तहसनहस, धराशायी वा सखाप’ भयो भन्ने पनि बुझिन्छ होला तर नेपालीमा काया भन्नाले शरीर, देह (उदाहरण– मायामा काया फाल्न सकिँदैन) रहेको छ । यसैको सेरोफेरोमा रहँदै कहानीको रुपमा केही सम्भाव्यता पोख्दै छु ।

काठमाडौंमा दानबहादुरको सानो परिवार रहने गर्दथ्यो । दानबहादुर दानी, ज्ञानी, उपकारी एवं मनकारीको रुपमा समाजमा परिचित थिए । उनी सम्पन्न परिवारमै हुर्कनुका साथै उच्चवर्गहरुको सत्सङ्ग र जानपहिचान पनि बाक्लै थियो ।

जसोतसो उनले हाडनाता, नाउँ, गाउँ, ठाउँ आदि पहिचान नखुलेको तीन–चार वर्षको नाबालकलाई काखमा लिन पुगे र त्यस बालकलाई पालनपोषणको अतिरिक्त पठनपाठनसमेत गराई प्रशान्त नामाकरण गरिदिए । प्रशान्त पनि पढ्दै, हुर्कंदै गर्दा कामकाजमा समेत दक्ष हुँदै पढाइमा पनि मध्यमस्तरमा उत्रिए । हुँदाहुँदै पक्वान्न क्षेत्रमा निकै अब्बल साबित हुँदै गए ।

उनले पकाएको खानाको स्वादको तारिफ, स्वाबासी र वाहवाही परिवारबाट बेलाबेलामा पाउन थाले । हुँदाहुँदै एसएलसीसमेत तेस्रो श्रेणीमा उत्तीर्ण भए । अब त उनी १९ वर्ष भैसकेका थिए र स्वभावमा पनि केही परिवर्तनको छनक र आभास देखिए तापनि कामकाजमा भने कुनै गुनासो नै भएन ।

एकदिन दानबहादुरले प्रशान्तलाई एकान्तमा लगेर उनको मनको इच्छा, भावना, धारणा र विचारबारे खोजीनीति गर्दा बल्लतल्ल उनको मुखबाट प्रस्फुटन भयो– अङ्कल ! मलाई यसरी जीवन जिउने रहर छैन । म स्वच्छ आकाशमा पक्षीझैँ उड्न र विचरण गर्न चाहन्छु । म आफ्नै खुट्टामा उभिई समाजमा बाँच्न चाहन्छु ।

यति सुनेपछि दानबहादुरलाई मायामोहको बन्धनले छोप्दै जाँदा भुटानी शरणार्थी भई अमेरिका जाने इच्छाको प्रसङ्ग निकाल्दा प्रशान्त अति हर्षित हुँदै, दानबहादुरलाई ढोग्दै प्रतिपश्न गर्न थाले– अङ्कल ! जाने नि, किन नजाने । मानिसलाई जन्मनासाथ भोकले सताउँछ । भोको मानिसले देश सेवा गर्न सक्दैन । पहिले पेट सेवा अनि पछिमात्र देश सेवाको प्रश्न ।

अनि कसैलाई मेरो पहिचानबारे खुलस्त छैन भने जुन देशको नागरिक भए पनि के फरक प¥यो र ! पहिचान भएका कति स्वदेशी नागरिकहरु पनि विदेशी नागरिक भएको उदाहरण त नै छ, होइन र ? मेरो लागि विश्व नै एक परिवार अनि म त्यसको एक बेवारिसे अंश । जनीगर अङ्कल । मलाई यसमा सहयोग–साथ दिई भवसागरबाट मुक्त हुने अन्तिम इच्छा पूर्ति गरिदिनुहोस् । म आजीवन तपाईंको ऋणी हुनेछु । जनीगर अङ्कल, जनीगर ।

यसरी प्रशान्तले रोदनमिश्रित भाव व्यक्त गर्दा दानबहादुरले मन थाम्न सकेनन् र ठीक बेठीक सोच्नेतर्फ मुखै फुरेन अनि हेरौँला भन्दै दुवै घरतिर लागे ।

तत्पश्चात् अनेकौँ भनसुन, हारगुहार, चाकरी, भेटभेटी चढाउँदै बल्लबल्ल प्रशान्तलाई भुटानी शरणर्थीको निस्सा दिलाई अमेरिका पठाउन दानबहादुर सफल भए । अहिले त प्रशान्त पुत्रलाभसहित रेस्टुराँको मालिक भै सुखी विवाहित जीवनयापन गर्दै छन् । बेलाबेलामा दानबहादुरको परिवारसँग सुख–दुःख र आत्मीयताको साटफेरसमेत हुने गर्दछ ।

दिन बित्दै जाँदा एकाएक नेपालमा आँधीबेहरीसरह नक्कली भुटानी शरणार्थी प्रकरणको खाता खोलिएछ र बिचरा दानबहादुर पनि यस जालोमा फसेछन् । दिनरात अड्डा–अदालत धाउँदै दिन व्यतीत भए । एक–दुई रात त खोरमा पनि परे भन्ने गाइँगुइँ सुन्नमा आएको छ । अब प्रश्न उठ्छ– मानवता के हो ? के दानबहादुर अपराधी हुन् ? भोक सेवा पहिले कि देश सेवा ? भोक र प्यासपछि मात्र देश, जातभात, धर्म, संस्कृति, भाषा, रीतिरिवाजको सवाल होइन र ! दानबहादुर त मायामोहको बन्धनमा फसेको पात्र मात्र होइन र ! दण्ड–सजायको भागीदार त शरणर्थीको निस्सा दिने अधिकारी होइन र ? यस काण्डमा मुछिएर मृत्युवरण गरिसकेकालाई न्यायको बोली के त ? यस्तै परिबन्धमा अरु पनि फस्न सक्ने प्रशस्त सम्भावनाहरु पनि होलान नि ! यस्तै–यस्तै कैयौँ तर्क–वितर्क मनमा खेल्दै गर्दा सानी नातिनीले स्कुल जान ‘बा बाई’ भन्न आउँदा झल्याँस्स भइयो । अनि नातिनीलाई बाई नानी भन्दै ‘कानुनका बाह्र सिङ हुन्छन्’ भन्ने उखानलाई मनन गरी विषयवस्तुलाई थन्क्याएँ ।

तीर्थ लामाको खण्डन

बाग्मती प्रदेशका खानेपानी ऊर्जा तथा सिंचाइ मन्त्री एवं नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले २०८० साल भाद्र ३१ गते यस दैनिकको पहिलो पृष्ठमा प्रकाशित ‘मलद्वारको सुनले प्रदेशमन्त्री संकटमा’ शीर्षकको समाचारप्रति असहमति जनाउँदै सो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्नुभएको छ ।

लामाले समाचारमा उल्लिखित विकास योञ्जनसँग आफ्नो कुनै पनि व्यक्तिगत र व्यावसायिक सम्बन्ध नरहेको जिकिर गर्नुभएको छ । साथै लामाले विकास योञ्जनसँग आफूले कुनै कारोबार नगरेको र सुन तस्करीको विषय आफ्नो कल्पनाभन्दा बाहिरको भएको दावी गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्