अधिकारीको पुनः तीन वर्ष म्याद थप



काठमाडौं । माओवादी लडाकुबाट नेपाली सेनामा समायोजन भएर विशेष पद सिर्जना सहायक रथीमा बढुवा भएका यामबहादुर अधिकारीको ४ वर्षे कार्यकाल पूरा भएपछि पनि सरकारले पुनः तीन वर्ष म्याद थप गरेको छ ।

अघिल्लो हप्ता बसेको मन्त्रिपरिषद्को बैठकले सहायक रथी अधिकारीको म्याद थप गर्ने निर्णय गरे पनि सरकारले सार्वजनिक गरेको मन्त्रिपरिषद्को निर्णयमा अधिकारीको म्याद थप गर्ने निर्णयका बारेमा कुनै कुरा उल्लेख गरिएको थिएन ।

२०७६ सालमा प्रधानमन्त्री केपी शर्मा ओली सरकारले सहायक रथीको विशेष पद सिर्जना गरेर अधिकारीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको थियो । अधिकारीको अवकासपछि उक्त पद स्वतः खारेज हुने उल्लेख गरेको भए पनि प्रचण्ड सरकारले पुनः तीन वर्ष म्याद थप गर्ने निर्णय गरेपछि सेनाभित्र बहस शुरू भएको छ ।

उपसेनानी पदबाट नेपाली सेनामा समायोजन भएका अधिकारी महासेनानीमा बढुवा भएपछि सरकारले विशेष निर्णयमार्फत् ४ वर्षका लागि सहायक रथीमा बढुवा गरेको थियो । सोमबारबाट अवकाशमा जान लागेका अधिकारीको पदावधि थप भएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– ‘रक्षा मन्त्रालयबाट सहायक रथी अधिकारीको पदावधि मन्त्रिपरिषद् बैठकबाट थपिएको जानकारीसहितको पत्र नेपाली सेनालाई प्राप्त भएको छ ।’ धादिङको मार्पाक घर भएका अधिकारी हाल वन तथा पर्यावरण सुरक्षा निर्देशनालयको निर्देशक पदमा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्