इन्द्रजात्रामा आर्थिक संकट- यसरी कहिलेसम्म जात्रा चलाउने ?



–६५ लाख आवश्यक, १३ लाख ९५ हजारमात्र प्राप्त
–अक्षयकोष अझै सञ्चालन भएन, ९ गते मुख्य जात्रा
–२३ लाख ब्याज बैंकमै, प्रदेश सरकारले रकम नदिँदा अक्षयकोषको ब्याज खर्च भएन
–१८ भगिनी सम्बन्ध भएका नगर, ८ अन्तर्राष्ट्रिय संघसंस्था र ७ वटा स्थानीय निकायसहित ३३ निकायलाई पत्र

काठमाडौं । इन्द्रजात्रा आउनै लाग्दा हरेक वर्ष आर्थिक संकट हुने गरेको छ । रकम नआएपछि जात्रा व्यवस्थापन समिति रकम माग गर्दै विभिन्न निकाय धाउन बाध्य भएका छन् । इन्द्रजात्रा मूल समितिलाई जात्रा व्यवस्थापन गर्नुभन्दा पनि रकम जोहो गर्न सरकार र काठमाडौं महानगरपालिका गुहार्नुपर्ने बाध्यता भएको छ । हुन पनि रकम नभएपछि जात्रा चलाउनै मुस्किल पर्छ । ‘जसरी पनि जात्रा चलाउनै प¥यो, रकम माग्दा हैरान, यसरी कसरी जात्रा व्यवस्थापन गर्न सकिन्छ’ –इन्द्रजात्रा मूल व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यको गुनासो छ । हरेक वर्ष पत्र लिएर कहिले सरकार त कहिले महानगरपालिका चाहार्नुपर्ने अवस्था छ ।

‘गत वर्ष पनि त्यस्तै भएको थियो, यो वर्ष पनि त्यस्तै अवस्था छ । जात्रा आउन एक हप्ता बाँकी रहँदा आर्थिक अभावले जात्रा सम्पन्न हुनै कठिन छ’ –अध्यक्ष शाक्यको भनाइ छ । धाउँदाधाउँदा बल्ल संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले काठमाडौं महानगरपालिकामार्फत् १३ लाख ९३ हजार उपलब्ध गराएको र बाँकी रकम कसरी जोहो गर्ने भन्ने समस्यमा रहेको अध्यक्ष शाक्यले बताउनुभयो । मन्त्रालयले दिएको यो रकम गत वर्षको हो । गत वर्षको ऋण यो वर्ष तिर्दातिर्दै ठिक्क हुन्छ यो वर्ष कसरी मनाउने समस्या छ ।

देशकै ठूलो जात्रा मनाउन तामझाम गर्ने सरकारले रकम दिन सधंै कन्जुस्याइँ गर्ने गरेको छ । ‘समितिले ४ वर्षदेखि कामपाबाट रकम पाउन सकेको छैन । कामपाले १० लाख रुपियाँ दिने निर्णय गरेको थियो, ०७७ सालदेखि पाएका छैनांै’ –अध्यक्ष शाक्यले भन्नुभयो । उहाँले मन्त्रालय र कामपाले दिने रकम छुट्टै भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो– ‘मन्त्रालयले स्थानीय तहमार्फत् दिएको रकम महानगरपालिकाले समितिलाई हस्तान्तरण गरेको हो ।’

कामपका प्रवक्ता नवीन मानन्धरले समितिले रकम माग गरेको कारण उपलब्ध नगराएको हुन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘रकम माग्न आएको छैन होला कसरी दिने ?’ उहाँले कामपाले कहिलेदेखि कति रकम बाँकी छ सो विषयमा जानकारी लिने बताउनुभयो । कामपाले ४० लाख रुपियाँ दिनुपर्ने समितिको दाबी छ ।

समितिका अध्यक्ष शाक्यले विगत वर्षजस्तै यो वर्ष पनि जात्रा व्यवस्थाप गर्न आर्थिक संकट परेको समितिको गुनासो छ । ‘विदेशी पाहुना बोलाएर पर्व मनाउने भनिएको छ, हालसम्म रकम उपलब्ध गराएको छैन’ –अध्यक्ष शाक्यको आरोप थियो । उहाँले जात्रा सम्पन्न गर्न करिब ६५ लाख रुपियाँ खर्च चाहिने र हालसम्म १३ लाख ९३ हजार मात्र प्राप्त भएको बताउनुभयो ।

जात्रा मनाउन महत्वपूर्ण भूमिका खेल्ने २९ वटा गुठीलाई दिन रकम अभाव भएको जनाइएको छ । रकम प्राप्त भएपछि दिन्छौं, भन्दै आश्वासनको भरमा जात्रा सम्पन्न गर्ने गरेको समितिको भनाइ छ ।

बैठकमा महानगरले छुट्ट्याएको ५ करोड रुपियाँको अक्षयकोषको तत्काल कार्यविधि बनाएर सञ्चालन गर्न माग गरिएको थियो । अघिल्ला मेयर विद्यासुन्दर शाक्यको कार्यकालमा स्थानीय राजपत्र प्रकाशित गरी अक्षय कोष स्थापना भएको थियो । अक्षयकोषमा संस्कृति मन्त्रालयको दायित्वमा रहेको २ करोड र कामपाको १ करोड ५० लाख रुपियाँ जम्मा भइसकेको छ । प्रदेश सरकारको दासियत्वभित्र पर्ने १ करोड र गुठी संस्थानको दायित्वमा पर्ने ५० लाख रुपियाँ जम्मा भएको छैन ।

दुई निकायलाई रकम जम्मा गरिदिन आग्रह गर्दै पत्राचार गरेको करिब ६ महिना भयो, हालसम्म जम्मा नभएको कारण समस्या परेको छ । इन्द्रजात्रा संरक्षण कोषको नाममा जम्मा भएको रकमको ब्याज २३ लाख भइसक्यो । ५ करोड जम्मा नभएको कारण ब्याज रकमसमेत निकाल्न नसकेको समितिको भनाइ छ ।

अक्षयकोषमा रहेको रकमको ब्याज निकाल्न पाए जात्रा सञ्चालन गर्न सरकार र अन्य निकायसँग गुहार माग्नु पर्र्दैनथ्यो । चालु आर्थिक वर्षमा प्रदेश सरकार र गुठी संस्थाले कोषमा रकम जम्मा गरेपछि जात्रा मनाउन समस्या नपर्ने समितिको भनाइ छ ।

अध्यक्ष शाक्यले भन्नुभयो– ‘अक्षयकोषमा रकम जम्मा भए जात्रा व्यवस्थापन गर्न मुख्य भूमिका रहेको २९ वटा गुठीको सबै समस्या हल भएर सजिलैसँग जात्रा मनाउन सकिन्थ्यो ।’ उहाँका अनुसार कोषमा रकम जम्मा भएपछि आगामी वर्ष जात्रा मनाउन आर्थिक अभाव हुँदैन ।

कामपाले इन्द्रजात्रा अवलोकनका लागि अन्तर्राष्ट्रिय नगरका प्रमुखहरूलाई निमन्त्रणा गरेको छ । जात्रा अवलोकन गर्न भगिनी सम्बन्ध भएका १८, अन्तर्राष्ट्रिय सम्बन्ध भएका ८, प्रदेशस्तरबाट भगिनी सम्बन्ध भएका ७ स्थानीय तहका सहित ३३ वटा अन्तर्राष्ट्रिय नगर र संघसंस्थाका प्रमुखहरूलाई निम्तो दिएको छ ।

प्रतिक्रिया दिनुहोस्