काठमाडौं।
नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टी युनान प्रान्तका स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख जेङ यान नेतृत्वको प्रतिनिधिमण्डलले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग शिष्टाचार भेटवार्ता गरेको छ ।
भेटवार्ताका क्रममा मन्त्री शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणका क्रममा शिक्षा, स्वास्थ्य, पूर्वाधार र कनेक्टिभिटीको क्षेत्रमा महत्वपूर्ण निर्णय हुने विश्वास व्यक्त गरिन् । उनले भृकुटी र अरनिकोदेखि सुरु भएको नेपाल–चीन सम्बन्ध असल छिमेकी र विश्वासिला सहयोगी राष्ट्रको रुपमा विकास हुँदै गएको पनि बताइन् ।
राज्यस्तर र जनस्तर दुबै क्षेत्रमा नेपाल र चीनबिचको सम्बन्ध विस्तार हुँदै गएको उल्लेख गर्दै उनले बेलाबेलामा हुने उच्चस्तरीय भ्रमणबाट सम्बन्ध अझै सुदृढ हुने स्पष्ट गरिन् । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणपछि दुई देशबिचको सम्बन्ध थप उचाइँमा उठेको उल्लेख गर्दै मन्त्री शर्माले प्रधानमन्त्रीको चीन भ्रमणपछि आपसी सहयोग आदान प्रदान अझ बढेर जाने विश्वास व्यक्त गरिन् ।
चीनले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा गरेको प्रगतिबाट नेपालले पनि लाभ लिइरहेको उल्लेख गर्दै उनले चिनियाँ कम्पनीहरुले पनि नेपालको सूचना प्रविधिको विकासमा राम्रै भूमिका निर्वाह गरिरहेको बताइन् । सूचना प्रविधिका जनशक्ति उत्पादन, साइबर सुरक्षलगायतका सवालमा दुई देशबिच सहायता आदानप्रदान बढाउनुपर्ने उनले बताइन् । मिडिया र कनेक्टिभिटीको क्षेत्रमा युनान प्रान्तसँग पनि सहयोग आदानप्रदान गर्न सकिने उनले बताए ।
नेपालको मिडिया क्षेत्रको अवस्थाबारे चिनियाँ प्रतिनिधिमण्डलको जिज्ञासामा मन्त्री शर्माले आफूहरुले प्रेस स्वतन्त्रतालाई केन्द्रमा राखेर मिडिया प्रवर्धनको काम गरिरहेको बताए । अहिले केही पुराना कानुनको संशोधन र नयाँ कानुन निर्माणका लागि मस्यौदा गरिरहेको उल्लेख गर्दै उनले त्यसमा प्रेस स्वतन्त्रता, मिडियाको सवलीकरण र पत्रकारको भौतिक तथा पेशागत सुरक्षालाई ध्यान दिइएको बताइन् ।
सिपिसी युनान प्रान्तका स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख जेङ यानले नेपाल र चीनबिचको लामो सम्बन्ध रहेको उल्लेख गर्दै युनान प्रान्त र नेपालबिच भूगोल, वातावरण र बहुजातीय संस्कृतिमा समानता रहेको बताए । आफ्नो प्रान्तमा पर्यटनको राम्रो विकास भएको उल्लेख गर्दै उनले नेपालमा पनि पर्यटन प्रवर्धनको महत्वपूर्ण संभावना रहेको बताए ।
जनस्तरको सम्बन्ध विस्तार गर्दै एक आपसको सूचना आदानप्रदान सहज गराउन सके विकासमा योगदान पग्ने उनले बताए । प्रचार विकासको राम्रो माध्यम भएको औल्याउँदै यानले मिडिया क्षेत्रसँग सम्बन्धित सहयोग आदानप्रदानमा आफूहरु इच्छुक रहेको बताए । युनान चीनको दक्षिण एशियाली केन्द्र भएकाले यही प्रान्तमार्फत विश्वब्यापीरुपमा सांस्कृतिक आदानप्रदान गर्न सकिने पनि उनले बताए । भेटमा दुबै पक्षका अधिकारीहरुको सहभागिता थियो ।
प्रतिक्रिया