मदन भण्डारी लोकमार्ग नै व्यक्तिको नाममा- सडक विभाग र मालपोत कार्यालयको अनदेखा



उदयपुर । जिल्लाको राष्ट्रिय गौरवको आयोजना अर्थात् मदन भण्डारी लोकमार्ग जग्गाधनीको नाममा रहेको रहस्य खुलेको छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–४ को बसाहादेखि कटारी नगरपालिका सिन्धुलीको सीमासम्म करीव ८५ किलोमिटर पूरै सडकको लालपुर्जा सडक विभागको नाममा नभएर जग्गाधनीकै जग्गामा सडक निर्माण गरिएको छ । हालसम्म पनि सोही व्यक्तिको नाममा सडक कायम रहेको रहस्य खुलेको हो ।

उदयपुर खण्डमा पर्ने मदन भण्डारी लोकमार्ग चौदण्डीगढी, त्रियुगा नगरपालिका, उदयपुरगढी गाउँपालिका र कटारी नगरपालिका हुँदै सिन्धुलीको दूधौलीबाट भिमानमा बिपी लोकमार्गमा जोडिन्छ । यस क्षेत्रको सडक निर्माण गर्दा व्यक्तिको जग्गामा सडक निर्माण गरिएको छ ।

पुरानो बाटोलाई नै फराकिलो पारेर मदन भण्डारी लोकमार्ग निर्माण गरिएको छ । तर, जग्गा धनीहरूलाई मुआब्जा दिइएको छैन । र, मालपोत ऐन २०३४ अनुसार जग्गा अधिग्रहण पनि गरिएको छैन ।

मालपोत कार्यालय उदयपुरका प्रमुख मालपोत अधिकृत कुमारबहादुर खड्काका अनुसार मदन भण्डारी लोकमार्गको सडक जग्गा अधिग्रहण नगरेको, जग्गाधनीहरूलाई मुआब्जा पनि नदिएको र सडकका नाममा जग्गा लगत कट्टा नभएकोले पछि जग्गाधनीले विवाद गर्न सक्ने स्थानीयले आकलन गरेका छन् ।

सडक जस्तो महत्वपूर्ण भौतिक यातायात पूर्वाधार निर्माण गर्दा जग्गाधनीबाट सडकका नाममा जग्गा लिएपछि लगतकट्टा गरेर मात्र सडक निर्माण गर्नुपर्नेमा सो कार्य नगरेका कारण सडक, मालपोत, नापी कार्यालयलाईसमेत निकट भविस्यामा समस्या आउन सक्ने र एकैपटकमा हुने काम पुनः गर्नुपर्ने भएकोले खर्चसमेत बढ्न सक्ने मालपोत कार्यालयका प्रमुख खड्का बताँछन् ।

यस विषयमा मदन भण्डारी लोकमार्ग हेर्ने गाईघाट दिक्तेल सडक योजनाका सूचना अधिकारी तथा इञ्जिनियर प्रभात किरण राईले भने– ‘सडक निर्माणको क्रममा सम्बन्धित जग्गाधनीसँग आपसी सहमतीका आधारमा सडक निर्माण गरिएको हो, जग्गाको मुआब्जा दिइएको छैन । सडकमा परेका घर टहरा गोठको भने मुआब्जा दिइएको छ ।’

उनले सडक छुट्याएर व्यक्तिका नामबाट सडक विभागका नाममा ल्याउन लगत कट्टा गर्ने काम बाँकी रहेको जानकारी दिए । मालपोत र नापी कार्यालयसँग समन्वय गरी कर्मचारी खटाएर नाप जाँचगरी व्यक्तिको नामको सडकलाई लगत कट्टा गरी सडक कार्यालयका नाममा तुरुन्तै ल्याइने आश्वासन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्