मलद्वारको ‘सुन’ले प्रदेश मन्त्री संकटमा



काभ्रे । आफ्नै कार्यकर्ताहरु एक केजी अवैध सुन तस्करीमा पक्राउ परेपछि भुक्तानी दिएको आधारमा लगानीकर्ताका रुपमा फेला परेको ‘चेक’, बैंक ब्यालेन्स तथा अन्य थप केही प्रमाणका आधारमा काभ्रे कांग्रेसका सभापति एवं संविधानसभा सदस्य, बागमती प्रदेश खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामा अनुसन्धानमा तानिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले बागमती प्रदेश सभामा बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामाको जवाफ माग गरेको छ । शनिबार बसेको प्रदेशसभा बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले भन्नुभयो– ‘मन्त्रीको नाम उल्लेख गरेर सुन तस्करी भएको सुनिन आएको छ । यस विषयमा सरकारले सदनलाई जानकारी गराउनुपर्दछ । त्यसको पुष्टि नहुँदासम्म पदबाट अलग हुनुपर्छ ।’

प्रदेश सभा बैठक शुरु हुनुअघि एमालेले राजीनामा माग्ने सूचना पाएर मन्त्री लामाले विज्ञप्ति प्रकाशित गरी सुन तस्करी प्रकरणमा संलग्नतालाई अस्वीकार गर्नुभएको थियो । तर विज्ञप्तिमा अनुसन्धानका क्रममा भेटिएका तथ्य, प्रमाण र प्रयोग भएका सवारीसाधनका बारेमा केही उल्लेख गरिएको छैन । मुख्य योजनाकार तीर्थ लामाकै कार्यकर्ता एवं तरुण दलको क्षेत्रीय सदस्यसमेत रहेका प्रदेश र प्रतिनिधिसभा निर्वाचन २०७९ मा समानुपातिकतर्फबाट उम्मेदवार रहेका विकास योञ्जन फरार छन् । प्रहरीले योञ्जनको घरमा दुईपटक छापा मारिसकेको छ तर पनि फेला पार्न सकेको छैन । सुनमा लगानी गरेका तीर्थ लामा र भुम्लु गाउँ समितिका सभापतिसमेत रहेका गाउँपालिकाका उपाध्यक्ष दावा लामाको समेत लगानी खुलेको छ । भरिया पक्राउ परेलगत्तै दावा भनिने जितेन्द्रमान तामाङले अनुसन्धान नै प्रभावित हुने गरी सामाजिक सञ्जालमा धम्कीपूर्ण भाषामा स्टाटस राखेका छन् । केही वर्षअघि इन्काउन्टरमा उनको नाम जोडिएपछि केही समय भारत लुकेर नेपाल फर्किएपछि राजनीतिक दलको संरक्षणमा नेता हुँदै जनप्रतिनिधि बनेका थिए ।

काठमाडौं प्रहरी परिसरको टोलीले विशेष सूचनाका आधारमा अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट मलद्वारमा लुकाई ल्याएको सुन बरामद गरेको थियो । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा विकास योञ्जन, तीर्थ लामा र दावा भनिने जितेन्द्रमान तामाङ व्यावसायिक साझेदार देखिएका छन् । प्रहरीले विकास योञ्जनलाई सुन बरामद हुनु केही दिनअघि सुन खरिद गरी ल्याउन दिएको ६ लाखको चेकसहित अन्य कागजात बरामद भएपछि उक्त तथ्य सार्वजनिक भएको हो । करोडौ रुपियाँ लेनदेन भइरहेको बैंकको स्टेटमेन्टबाट देखिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले सुन तस्करी प्रकरणमा प्रयोग भएको मोबाइल फोनको कल डिटेल्स पनि निकालेको छ भने बरादमी सवारी साधन र पक्राउ परेका भरियाहरुको बयानलाई प्रमुख आधार मानेको छ ।

स्रोतका अनुसार गृहमन्त्री बालकृष्ण खाँड, अर्थमन्त्री प्रकाशरण महतसँगको सिधा सम्पर्क र तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँगको समेत सिधा सम्पर्कमा कांग्रेस काभ्रेका सभापति लामाले विमानस्थलमा सेटिङ मिलाएर दुई वर्षदेखि विकास योञ्जनमार्फत सुन तस्करी गर्दै आएका थिए । दुबईमा अर्का व्यवसायी नवीन दोङ छन् । उनी पनि सोही पार्टीका सक्रिय कार्यकर्ता हुन् । उनले दुबईमा सुन खरिद गरी विकास योञ्जनमार्फत भरिया लगाएर एयरपोर्टबाट हप्ताको दुई केजी सुन नेपाल ल्याउने गरेका थिए ।

प्रारम्भिक अनुसन्धानले मासिक १० केजी सुन ल्याउने गरेको उक्त समूहले दुई वर्षको अवधिमा २ सय केजीभन्दा धेरै सुन ल्याएर बिक्री गरेको देखाएको छ । लामा र योञ्जन तथा पक्राउ परेका तीन जना भरियाको खातामा प्रारम्भिक अनुसन्धानमा वार्षिक ५० करोडभन्दा धेरै कारोबार हुने गरेको देखाएको छ ।

समाचारको खण्डन गरिएको बारे

काभ्रे कांग्रेसका सभापति एवं संविधानसभा सदस्य, बागमती प्रदेश खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामाले  एक केजी अवैध सुन तस्करीमा आफ्नो संलग्नता नरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्