६० लाखको घरजग्गा दलालले कुम्ल्यायो, रुवावासी गर्दै न्यायको खोजीमा वृद्ध दम्पति



बुटवल । रुपन्देहीमा एकपछि अर्को ठगीको रहस्य सार्वजनिक भएको छ । घर खरिदका नाममा एक व्यक्तिले स्थानीय वृद्ध दम्पतिसँग ६० लाख रुपियाँ ठगी गरेको रहस्य खुलेको छ् । ५९ वर्षीया मनरुपा रेग्मी कानले त्यति सारो सुन्दिनन् । नजर धमिलिँदै गएको उनको आँखा पनि अहिले ओभानो छैन । साहूलाई तिर्नुपर्ने लाखौं ऋण, अर्कोतर्फ सोही ऋण तिर्न लाखौंमा बिक्री गरेको घरजग्गा कुम्ल्याएर दलालले धोका दिएपछि थपिएको पीर हो ।

७२ वर्षीय श्रीमान् रत्नखर पनि न्यायको खोजी गर्दै भौंतारिँदा थकित बनेका छन् । रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ निवासी रेग्मीको १५ धुरमा बनेको घर कपिलवस्तु ४ नम्बरका खुमवस गिरीले २०७८ मंसिर १५ मा खरिद गरेका थिए । तर खरिद गर्दा विभिन्न मितिको ६३ लाखको चेक दिएपछि सोही चेकको विश्वासका आधारमा घरधनी मनरुपाले १५ धुरमा बनेको घर खुमवस गिरीको नाममा रजिस्ट्रेसन पास गरिदिएकी थिइन् ।

बुटवल–१२ तामनगर निवासी माया सुवेदीले जग्गा खरिद गर्ने गिरीलाई घरधनी मनरुपाका ज्वाइँ राजेश लम्सालसँग सम्पर्क गराएकी थिइन् । घरधनी मनरुपाले आफ्नै ज्वाइँको विश्वासको आधारमा घर पास गरिदिएकी थिइन् । ज्याइँ लम्सालले भने माया सुवेदीको विश्वासको आधारमा घर पास गर्नका लागि आफ्ना ससुरालीलाई सहमत गराएका थिए । ‘म विदेश बसेर आएको मान्छे, जग्गाको कारोबार अहिलेसम्म गरेको छैन, आफ्नै ससुरालीको घर बिक्रीका लागि स्थानीय माया सुवेदीले घर खरिद गर्ने मान्छे ल्याएपछि म पनि विश्वासमा परेर खरिद बिक्रीको काम भएको हो’ –शनिबार आयोजित पत्रकार सम्मेलनमा लम्सालले भन्नुभयो ।

घर खरिद गर्ने क्रममा बैनाबापत १० लाख रुपियाँको चेक २०७८ मंसिर १५ गतेको मितिमा खरिदकर्ताले काटेका थिए । तर सो चेक पनि नसाँटिएको र त्यसबापतको ४ लाख रुपियाँ नगद ल्याएर दिएको घरधनी मनरुपाले बताउनुभयो । त्यस्तै २०७८ माघ १५ गतेको मितिमा २५ लाख रुपियाँको चेक काटिएको छ भने २०७८ चैत ३० गतेको मितिमा २८ लाख रुपियाँको चेक काटिएको छ । ती सबै जोड्दा चेकबापतको रकम ६३ लाख हुन आउँछ । त्यसबाहेक १ लाख रुपियाँ छुट्टै नगद दिएकाले ६४ लाख रुपियाँ घरधनीले पाउने गरी खरिद बिक्री भएको रहस्य खुलेको हो । तर घर खरिद बिक्री गर्दा ७० लाखमा कागज भएको देखिएको छ । बाँकी ६ लाख रुपियाँ कारोबार गरिदिने माया सुवेदीले कमिसन खाने मनसाय राखेको देखिएको छ ।

मनरुपाका श्रीमान् रत्नखर रेग्मीले पैसा प्राप्त नहुँदासम्म आफूले घर पास नगरिदिन आग्रह गरेको तर ज्वाइँले भनेपछि पास गरिदिएको बताउनुहुन्छ । दुवै पक्षबीच मध्यस्थकर्ताको भूमिका खेलेकी माया सुवेदीले घर खरिद गरेर पैसा नतिर्दा आफू समेत तनावमा परेको बताउनुहुन्छ । ‘मैले नै कारोबार गराएकी हुँ, तर खरिद गर्ने खुमवस गिरीले पैसा दिन्छु भनेर बारम्बार झुक्याइरहेका छन्, यसले मलाई समेत तनाव भइरहेको छ’ –सुवेदीले बताउनुभयो । घर बिक्री गरेका मनरुपा र रत्नखर रेग्मीले चेक बाउन्समा उजुरी हाल्ने तयारी गरे पनि खरिदकर्ता गिरीले नगद ल्याएर दिन्छु भन्दै झुलाएर ६ महिना कटाएको र अहिले काठमाडौंमा बस्दै आएको पीडितहरुले बताएका छन् । चेक काटेको मिति ६ महिना नाघेमा चेक बाउन्समा उजुरी नलाग्ने व्यवस्था छ । पीडितले आफूहरुमाथि ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएका छन् ।

तर प्रहरीले यसबारेमा कुनै कारवाही अघि बढाएको पाइएको छैन । अहिले उक्त घर सिर्जना श्रेष्ठको नाममा पास गरेको पाइएको छ । रेग्मी दम्पतिको जग्गा खरिद गर्ने व्यक्ति खुमवसले फोन अफ गरेर सम्पर्कविहीन बनेका छन् । उनले उक्त जग्गा तेस्रो व्यक्ति सिर्जना श्रेष्ठलाई बिक्री गरिसकेको मालपोत कार्यालय भैरहवामा रेकर्डमा देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्