सामान्य भनाभन हुँदा छुरा प्रहार गरी छिमेकीको हत्या



काठमाडाैं ।

रौतहटमा एक युवकको हत्या भएको छ। शुक्रबार बेलुका ९ बजे कटहरिया नगरपालिका-५ का २५ वर्षीय सुनिल यादवको छुरा प्रहार गरी हत्या भएको जिल्ला प्रहरीले जानकारी दिएकाे छ ।

सुनिलमाथि उनकै छिमेकी ५० वर्षीय रामबाबु शाहले छुरा प्रहार गरेको प्रहरीले बताएकाे छ । प्रहरीका अनुसार सुनिल र रामबाबु छिमेकी हुन्। उनीहरूबीच शुक्रबार सामान्य विषयमा भनाभन भएको थियो।

बेलुका सुनिलको घरभित्र छिरेर उनीमाथि रामबाबुले छुरा प्रहार गरेका थिए। छुरा प्रहारबाट गम्भीर घाइते भएका सुनिललाई उपचारका लागि गौर पुर्‍याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। छुरा प्रहार गर्ने रामबाबुलाई प्रहरीले गएराति नै पक्राउ गरी इलाका प्रहरी कार्यालय गौरमा राखिएको छ। घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्