प्रधानमन्त्री प्रचण्ड आज अमेरिका जाँदै



काठमाडौं  ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रस‌ंघको ७८औँ महासभामा भाग लिन आज अमेरिका जाँदै छन्। साँझ ६ बजे उनी महासभामा सहभागी हुन न्युयोर्क प्रस्थान गर्न लागेका हुन्।

प्रधानमन्त्री प्रचण्डले बुधबार संयुक्त राष्ट्रस‌ंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। अमेरिकामा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रस‌ंघका महासचिव एन्टोनियो गुटेरेससहित विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।

राष्ट्रसंघको महासभामा सहभागी भएर उनी त्यतैबाट असोज ५ मा चीन जाने कार्यक्रम रहेको छ। उनी चीनमा १९औँ एसियाली खेलकुदको उद्घाटनमा सहभागी हुनेछन्। उनको चीनका राष्ट्रपति सी चिनफिङसँग हाङझाउमा भेट गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ली छियाङसँग असोज ८ मा बेइजिङमा भेट गर्ने कार्यतालिका छ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको थियो। भ्रमणमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव भरतराज पौड्याल, स्वकीय सचिव गंगा दाहाललगायत सहभागी हुने प्रधानमन्त्री प्रचण्डले शुक्रबारको संसद् बैठकमा आफ्नो भ्रमणबारे जानकारी गराएका थिए।

भ्रमणका क्रममा कोभिडको कारण नियमित हुन नसकेका द्विपक्षीय व्यापार नाका र परम्परागत सीमानाकाहरू खोल्ने विषयमा समेत कुराकानी हुने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्